होम क्वारेन्टाइनमा के गर्दैछन् सेलिब्रेटी ? | Khabarhub Khabarhub

होम क्वारेन्टाइनमा के गर्दैछन् सेलिब्रेटी ?



काठमाडौं– अभिनेता विपिन कार्की घरको गेटबाट बाहिर ननिस्केको एक हप्ता भयो । सरकारले देशैभर ‘लकडाउन’ गरेपछि विपिनले आफ्नो समय परिवारलाई दिएका छन् । परिवारमा पनि अझ छोरीसँग धेरै समय बिताइरहेका छन् ।

‘दिनभरि छोरीसँग खेल्दा समय कटिरहेको छ,’ खबरहबसँगको कुराकानीमा विपिनले भने ।

यस अतिरिक्त विपिन जे. कृष्णमूर्तिको ‘संस्कृतिका प्रश्न’ र कालीदासका नाटकहरू पढिरहेका छन् ।

‘घरमा बसेपछि किताब पढ्ने त भइहाल्छ, दैनिकीमा खासै परिवर्तन आएको छैन, बाहिर हिँडिन्थ्यो, हिँडिएको छैन,’ विपिन भन्छन्, ‘घरमा यताउता गरेरै समय बितेको छ ।’

सरकारले गत सोमबारदेखि नेपालभर ‘लकडाउन’ घोषणा गरेपछि यतिबेला फिल्मकर्मी फुर्सदमा छन् ।

आआफ्नो दैनिकीमा व्यस्त रहने सेलिब्रेटीहरू यतिबेला घरमै सेल्फ क्वारेन्टाइनमा छन्, महानायक राजेश हमालदेखि पछिल्लो पुस्ताका अभिनेता प्रदीप खड्कासम्म ।

सेल्फ क्वारेन्टाइनमा रहेका अभिनेता राजेश हमाल भन्छन्, ‘यो बेला आत्मबल बढाउने हो, कमजोर हुने होइन ।’

राजेशले सबैलाई सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन घरबाट बाहिर ननिस्कन उनको आग्रह छ ।

राजेश घरमै योगा गर्ने, गीत गुन्गुगाउने र आफूलाई शान्त बनाउने गर्छन् । त्यसो त राजेश आफूलाई ‘फिट’ राख्न निरन्तर व्यायाम गर्ने गर्छन् ।

राजेश अहिले विश्वभर देखिएको यो परिस्थितिलाई असामान्य परिस्थितिका रूपमा चित्रण गर्छन् । विश्वमा यस्ता खालका प्रकोप यसअघि देखिए पनि एकैपटक यति धेरै देशलाई प्रत्यक्ष प्रभाव पार्न नसकेको उनको बुझाइ छ ।

‘साँच्चै यो परिस्थिति असामान्य छ, विश्व इतिहासमा मानव समाजले यस्तो किसिमको प्रकोपले प्रत्यक्ष सबै राष्ट्रलाई यसरी प्रभाव पारेको थिएन,’ राजेश भन्छन्, ‘पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा पनि यतिका राष्ट्रहरू एकैपटक प्रभावित भएका थिएनन् ।’

अहिलेको चुनौती सबैले मिलेर सामना गर्नुपर्ने राजेशको धारणा छ । उनी सबैलाई सतर्क रहन र सकभर घरबाहिर ननिस्कन आग्रह गर्छन् ।

‘वर्षेनी यस्तो भाइरलले असर गरे पनि कोरोना भाइरसको त्रास निकै बढी छ, यसको भ्याक्निस अझै पत्ता लाग्न सकेको छ, हामीले सतर्कता अपनाउने बाहेक अर्को विकल्प छैन,’ राजेश भन्छन् ।

नेपाली कलाकारको साझा विशेषता के छ भने, कुनै कलाकारलाई समस्या प¥यो भने अर्को कलाकारले आवाज उठाउँदैन । आफ्नो फिल्ममात्र राम्रो भन्ने र अरूका फिल्मका बारेमा बोल्दै नबोल्ने फिल्मकर्मीको बानी छ ।

यतिबेला कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले आह्वान गरिरहेका छन् । फिल्मकर्मीको एउटै आवाज छ, ‘सचेत रहौँ, आफ्नो ख्याल गरौँ ।’

नायिका नम्रता श्रेष्ठ भन्छिन्, ‘यो त्रासका बेलामा म पनि घरमा बसिरहेकी छु, अहिलेका लागि हामीसँग यो भन्दा अर्को विकल्प छैन, घरमै बस्नुस् आफ्नो ख्याल गर्नुस् ।’

नम्रता पनि एक हप्तादेखि सेल्फ क्वारेन्टाइनमा छिन् । घरमै बसेर फिल्म हेर्दै फुर्सदको समय बिताइरहेकी छिन् ।

अभिनेता हरिवंश आचार्य लकडाउनको समयमा पुस्तक पढिरहेको र फिल्म हेरिरहेको बताउँछन् । भन्छन्, ‘म घरमै बसेर मनपरेका फिल्म हेरिरहेको छु, किताब पढिरहेको छु ।’

नायिका केकी अधिकारी पनि क्वारेन्टाइनमा पुस्तक पढिरहेकी छन्, फिल्म पनि हेरिरहेकी छन् । यतिबेला अभिनयसम्बन्धी पुस्तक ‘एक्टिङ प्रिपिरेसन’ पढिरहेको पनि उनी बताउँछिन् ।

धेरैजसो कलाकाको दैनिकी पुस्तक पढ्ने र फिल्म हेर्नेमा सीमित भएको छ ।

निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘लकडाउनमा म त घरमै बसिरहेको छु, घरमा बस्दा परिवारलाई समय दिन पाउँदा पनि रमाइलो नै हुने रहेछ ।’

प्रदीप ‘लकडाउन’ को समय फिल्म हेर्ने बढी समय परिवारलाई दिएको बताउँछन् । उनी घरायसी काम पनि सघाउँछन् ।

‘परिवार किन रिसाउँछन् भन्ने त बल्ल थाहा पाउँदैछु, घरमा ससाना र धेरै काम हुने रहेछन्, काममा नसघाएर पो रिसाउने रहेछन्,’ ठट्यौली पारामा प्रदीप भन्छन्, ‘यो लकडाउनमा त मेरो काम भाँडा माझ्ने र श्रीमतीको काम खाना पकाउने भएको छ, छोरालाई पनि समय दिन पाएको छु ।’

सेलिब्रेटीहरू शूटिङ या अन्य कारणले धेरैजसो घरबाहिर हुँदा कलाकारलाई कहिलेकाहीँ आफ्ना लागि पनि समय होस् भन्ने हुन्थ्यो ।

‘लकडाउन’ ले त्यो सुविधा जुराइदिएको छ । सरकारले ‘लकडाउन’ गर्नुपूर्व नै कतिपय कलाकार सेल्फ क्वारेन्टाइनमा थिए ।

अभिनेता विपिन भन्छन्, ‘राम्रो भए पनि, नराम्रो भए पनि कोरोनाले धेरैलाई आफ्ना लागि समय छुट्याउने मौका दिएको झैँ लाग्छ ।’

रंगकर्मी तथा निर्देशक अनुप बराल भन्छन्, ‘क्वारेन्टाइन आफ्नो समय घरमै बिताइरहेको छु, मन पर्ने फिल्म हेरिरहेको छु ।’

अनुप आफू सुरक्षित भए पनि दिनभरि काम गरेर दुई छाक जोहो गर्ने वर्गको भने चिन्ता लाग्न थालेको बताउँछन् । ‘हामीलाई त बरु ठीकै छ, दिनभरि काम गरेर जीवन गुजार्नेहरूको चाहिँ चिन्ता लाग्न थालेको छ, यो लकडाउन लम्बियो भने उनीहरूको त बिजोग हुन्छ,’ अनुप चिन्ता प्रकट गर्छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ०० बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको