काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघेको छ । अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन ।
यद्यपी चिकित्सकहरु रातदिन औषधिको खोजी गर्न खटिरहेका छनन् । अहिलेसम्म १५० भन्दा बढी औषधिबारे विभिन्न अनुसन्धान भइरहेको बीबीसीले उल्लेख गरेको छ । भाइरसविरुद्ध परीक्षण भइरहेका अधिकांश औषधिहरू अहिले चलनचल्तीमै भएका अर्थात अन्य बिरामका लागि प्रयोग भएका औषधि हुन्।
विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा प्रभावकारी उपचारको मूल्याङ्कनका लागि बहुदेशीय ‘सलिड्यारटी ट्रायल’को घोषणा गरेको छ । संयुक्त अधिराज्यले आफ्नो उपचारसम्बन्धी परीक्षणमा ५ हजार बढी मानिसले सहभागिता जनाइसकेको जनाएको छ ।
कैयौँ अनुसन्धान केन्द्रहरूले निको भएका व्यक्तिहरूको रगतलाई उपचारमा प्रयोग गर्न खोजिरहेका छन् । चीन भ्रमण गरेका विश्व स्वास्थ्य सङ्गठनका डा. ब्रूस एल्वर्डका अनुसार अहिलेसम्म प्रभावकारी हुने सङ्केत देखाएको एउटै औषधि ‘रेम्डेसिभिर’ हो।
यो भाइरसविरुद्धको औषधि सुरुमा इबोलाको उपचारका लागि विकास गरिएको थियो तर अरू विकल्पभन्दा यो बढी प्रभावकारी देखिएको छ।
जनावरहरूमा गरिएको अध्ययनमा अरू खतरनाक कोरोना भाइरसहरू – जस्तै मार्स भनिने मिडल ईस्ट रेस्पिरटरी सिन्ड्रोम र सार्स भनिने सभीअर अक्यूट रेस्पिरटरी सिन्ड्रोम – विरुद्ध यो औषधि प्रभावकारी देखिएको थियो। त्यसैले कोभिड-१९ नियन्त्रणका लागि पनि यसबाट बढी आशा राखिएको छ।
यूनिभर्सिटी अफ शिकागोमार्फत् गरिएको परीक्षणबारे चुहिएर बाहिरिएको सूचनाले पनि उक्त औषधि प्रभावकारी रहेको देखाएको छ। डब्ल्यूएचओको सलिड्यारटी ट्रायलमा रहेको चार औषधिमध्ये यो पनि छ।
धेरै चर्चा भए पनि एचआईभीको उपचारमा प्रयोग हुने लोपिनिभिर र राइटोनिभिर कोरोनाभाइरसको उपचारमा पनि उपयुक्त हुने भन्ने विषयमा खासै प्रमाण फेला परेका छैनन्।
केही प्रमाणहरूमा प्रयोगशालामा उनीहरूले राम्रो नतिजा दिएको देखिन्छ तर मानिसमा गरिएका अध्ययनमा निराशाजनक परिणाम देखिएका छन्।
यी औषधिहरूको संयुक्त प्रयोगले निको हुने वा मृतकको सङ्ख्या घट्ने वा गम्भीर प्रकारका कोभिड-१९ भएका बिरामीमा सङ्क्रमणको तह घटाएको नपाइएको भनिएको छ।
एकदमै गम्भीर रूपमा बिरामी भएका व्यक्तिमा परीक्षण गरिएका हुनाले सङ्क्रमणको तह बढिसकेका हुनाले ती औषधिहरूले काम नगरेका हुन सक्छन्। परीक्षणमा सहभागीमध्ये एकचौथाइको ज्यान गएको थियो।
औलोको औषधिलाई सलिड्यारटी र रिकभरी ट्रायल दुवै विधिमा परीक्षण गरिँदैछ। क्लोरोक्वाईन र त्यससँग सम्बन्धित हाइड्रोक्सीक्लोरोक्वाईनसँग भाइरस नियन्त्रण र प्रतिरोधी दुवै क्षमता हुन सक्छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको सम्भावित औषधिका रूपमा प्रस्तुत गरेपछि चर्चामा भएपनि यी प्रभावकारी हुन सक्ने पर्याप्त प्रमाण छैन।
हाइड्रोक्सीक्लोरक्वाईन हाडजोर्नी सुनिने रोग आर्थ्राईटिसको उपचारमा पनि प्रयोग गरिन्छ। यो औषधिले शरीरको प्रतिरोधी क्षमतालाई नियमन गर्न सक्छ।
प्रयोगशाला परीक्षणले यसले कोरोनाभाइरसलाई विस्तार हुनबाट रोक्न सक्ने देखाएको छ र केही चिकित्सकहरूबाट ‘भनिएका सुनिएका’ प्रमाणले यसले बिरामीलाई सहयोग गरेको जस्तो देखिएको पाइएको छ। डब्ल्यूएचओले यसको प्रभावकारिताबारे ठोस प्रमाण नरहेको जनाएको छ।
प्रतिरोधी औषधिबारे के भइरहेको छ?
यदि प्रतिरोधी प्रणालीले भाइरसका कारण चाहिनेभन्दा बढी प्रतिक्रिया जनाए सङ्क्रमण शरीरभरि फैलिन्छ। सङ्क्रमणविरुद्ध प्रतिरोधी प्रणाली एक ठाउँमा उभिए पनि धेरै प्रतिक्रिया जनाउँदा त्यसको परिणाम घातक पनि हुन सक्छ।
सलिड्यारटी ट्रायलअन्तर्गत मस्तिष्क र मेरुदण्डसँग सम्बन्धित मल्टिपल स्क्लरोसिसको उपचारमा प्रयोग हुने ‘इन्टर्फीरन बीटा’ नामक औषधिको परीक्षण भइरहेको छ।
मानिसको शरीरमा भाइरस प्रवेश गरेपछि प्रतिरोध प्रणालीले बनाउने जैविक रसायनको समूह इन्टर्फीरन हो।
यूकेको रिकभरी ट्रायलमा डेक्सामिथासोन नामक औषधिको परीक्षण गरिँदैछ जुन शरीरमा देखिने सुनिने समस्या कम गर्न प्रयोग गरिन्छ।
निको भएका व्यक्तिको रगतबाट उपचार सम्भव ?
सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतमा एन्टीबडीहरू हुन्छन् जसले भाइरससँग सङ्घर्ष गर्न सक्छन्। यो उपचारविधिमा त्यस्ता एन्टीबडीयुक्त प्लाज्मा बिरामीको रक्तप्रवाहमा पठाइन्छ।
अमेरिकाले ५ सय जनाजति बिरामीलाई ‘कन्भलेसन्ट प्लाज्मा’ भनिने यो विधिबाट उपचार गरिसकेको छ। अरू देशले पनि यो विधि प्रयोग गर्न थालेका छन्।
उपचार पत्ता लाग्ला ?
अहिले नै कोरोनाभाइरस निको हुने औषधि कहिले पत्ता लाग्ला भन्न सकिने अवस्था छैन। तर आगामी केही महिनामा परीक्षणको परिणाम देखिन थाल्नेछ। खोपको प्रभावकारिता थाहा पाउनुभन्दा धेरै अगाडि नै औषधिबारे जानकारी पाउने अपेक्षा गरिएको छ।
किनभने चिकित्सकहरूले पहिला नै विकासित भइसकेका र प्रयोग गर्न सुरक्षित ठानिएका औषधिको परीक्षण गरिरहेका छन्। तर खोपका अनुसन्धानकर्ताहरूले शून्यबाट आफ्नो काम अघि बढाइरहेका छन्।
कतिपय पूर्ण रूपमा नयाँ कोरोनाभाइरसका औषधिहरूको पनि प्रयोगशालामा परीक्षण भइरहेको छ। तर ती मानवमा परीक्षणका लागि तयार भइसकेका छैनन्।
प्रतिक्रिया