झापाका २७ जना कोरोना संक्रमित रातभर अस्पताल बाहिरै « Khabarhub

झापाका २७ जना कोरोना संक्रमित रातभर अस्पताल बाहिरै

१२ घण्टापछि मात्र आइसोलेसनमा भर्ना


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तथा प्रदेश सरकार र अस्पतालबीचको समन्वय अभावका कारण झापाका २७ जना कोरोना संक्रमितले बाहिरै रात कटाउनुपरेको छ । उनीहरु रातभर बसमा बसेर बिताएका थिए। उनीहरुलाई झण्डै १२ घण्टापछिमात्रै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका २७ जनालाई झापाको स्थानीय तहले राति नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर वीपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई राख्ने आइसोलेसन वेड तयार नभएको भन्दै भर्ना लिएन । भर्ना नपाएका उनीहरु रातबस बसमै बसेका थिए ।

झापाका प्रमूख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार स्वास्थ्य मन्त्रालयले झापामा मात्र २७ जना कोरोना संक्रमित भएको पुष्टि गर्‍यो ।

जिल्लामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशसान कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक विकास मन्त्रालयसँग संक्रमितलाई आइसोलेट गर्ने विषयमा छलफल भयो ।

झापामा आइसोलेसनसहितको अस्पताल नभएकाले यसअघि पनि झापाका कोरोना संक्रमितलाई कोशी अस्पताल वा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरिएको थियो ।

प्रदेश सरकारको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले २७ जना कोरोना संक्रमितलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसालेनमा पठाउने निर्णय भयो ।

प्रजिअ रानामगरका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसोलेसन वेड व्यवस्थापनमा समय लाग्ने भएकाले राति मात्र बिरामी पठाउनु भनेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले २७ जना कोरोना संक्रमितलाई साँझ ६ बजे झापाबाट धरान पठायो । कोरोना संक्रमितहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ९ बजे पुगेको झापाका प्रजिअ रानामगरको दावी छ ।

‘हामीले प्रदेश सरकारसँग समन्वय गरेर कोशी वा वीपी कहाँको आइसोलेसनमा पठाउने भनेर छलफल गरेर नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितहरु पठाएका थियौं,’ प्रजिअ रानामगरले खबरहसँग भने, ‘हाम्रो जिल्लाका कोरोना संक्रमितहरु राति ९ बजे त्यहा पुगिसकेका थिए । उहाँहरुले आइसोलेसन वेड व्यवस्थापन गर्न समय लाग्ने भनेको भएरै हामीले उहाँहरुलाई राति अवेर पठाएका हौं ।’

कोरोना संक्रमितहरु राति ९ बजे नै अस्पताल पुगेपछि आज (शनिवार) बिहान ९ बजेसम्म अस्पतालले भर्ना नलिएको प्रजिअ रानामगरले बताए ।

प्रजिअ रानामगरले भने, ‘हाम्रा बिरामीहरु हिजो राति ९ बजे त्यहा पुगेका थिए, तर आज बिहान ९ बजेसम्म पनि उनीहरुले बिरामीको भर्ना लिएका थिएनन् ।’
२७ जना कोरोना संक्रमित रातभर अस्पताल बाहिर बसभित्रै अलपत्र परेपछि प्रदेश सरकार, स्थानीय निकाय र अस्पतालबीच छलफल भएपछि आज बिहान मात्र संक्रमितहरुलाई आइसोलेसनमा भर्ना गरिएको झापाका रानामगरले बताए ।

‘हामीले आज बिहान हाम्रा बिरामीहरु रातभर बाहिरनै भए भनेर धेरै ठाउँमा अनुरोध गरेपछि उहाँहरुले आज बिहान ९ बजे भर्ना लिनुभएको छ ।’

प्रदेश र स्थानीय सरकारले अस्पतालसँग समन्वय नै नगरी बिरामी पठाउँदा बिरामीलाई राति नै भर्ना लिन नसकिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश शापकोटाले बताए ।

‘झापाबाट संक्रमित पठाउँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समन्वय गरेर पठाउनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘तर उहाँहरुले बिरामी आइपुग्न लागेपछि मात्र बिरामी आउँदैछन् भन्नुभयो । मध्यरातमा बिरामी पठाएपछि व्यवस्थापन गर्न समय लाग्यो ।’

प्रतिष्ठानका प्रवक्ता डा सापकोटाका अनुसार ७० वेड क्षमताको आइसोलेन भएको प्रतिष्ठानमा यसअघि नै ६७ जना कोरोना संक्रमित उपचारत थिए ।

एकैपटक २७ जना कोरोना संक्रमित थपिएपछि तत्काल व्यवस्थापन गर्न नसक्दा बिरामीहरुले बसमै रात कटाएको प्रतिष्ठानका प्रवक्ता डा सापकोटाले बताए ।

‘कोरोना संक्रमितलाई अन्य रोगको बिरामीलाई राखेजस्तो हुँदैन । यहाँ डिस्ट्यान्स मेन्टेन गर्ने, मापदण्ड अनुसार आइसोलेसन वेड तयार गर्नुपर्ने हुन्छ,’ डा सापकोटाले भने, ‘झापाबाट समन्वय गरेर बिरामी पठाएको भए त समस्या हुने थिएन होला तर समन्वय भएन । तत्काल बिरामी आउँदा राख्ने ठाउँ भएन । त्यसैले संक्रमितहरु रातभी जुन गाडीमा ल्याइएको थियो त्यही गाडीमा बस्नुपर्ने अवस्था आयो ।’

डा सापकोटाले रातभर लगाएर संक्रमितलाई वेड व्यवस्थापन गरेर आज बिहान भर्ना गरिएको बताए ।

‘हामीले संक्रमित आइसकेपछि रातभर लगाएर आइसोलेसन व्यवस्थापन गरेर झापाका २७ जनालाई नै आज बिहान आइसोलेसनमा भर्ना गरेका छौं,’ प्रवक्ता डा सापकोटाले भने, ‘अहिले हाम्रो आइसोलेनमा ९४ जना संक्रमितहरु हुनुहुन्छ, उहाँहरु सबैजना लक्षण विहिन हुनुहुन्छ ।’

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १ : ४६ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत