जयवागेश्वरी पुनर्निर्माण : साँखु र लुभुको माटो | Khabarhub Khabarhub

जयवागेश्वरी पुनर्निर्माण : साँखु र लुभुको माटो


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनर्निर्माण गर्न साँखु र लुभुको माटो ल्याइने भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद्लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो ।

माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने भएपछि पशुपति क्षेत्र विकास कोषले उपयुक्त माटो छनोट गर्ने क्रममा साँखु र लुभुको माटो परीक्षण गर्दा उपयुक्त भेटिएको निर्देशक भरत मरासिनीले जानकारी दिए । जोडाइका लागि माटोको टुङ्गो लागे पनि मन्दिरको तल नयाँ काठ हाल्न खोजी भइरहेकाले पुनर्निर्माण केही ढिलाइ भएको छ । तल बढी भार पर्ने भएकाले नयाँ काठ राख्न लागिएको हो ।

सडकमा रहेको मन्दिर पुनर्निर्माणका लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ साल माघमा तुलसी निर्माण कम्पनीसँग दुई वर्षमा पुनर्निर्माण सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएपछि पुरातत्वविद्सहितको समूहले पुनः अध्ययन गरेको हो ।

पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पुरानै स्वरुपमा पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थाअनुसार कोषलाई सुझाव दिएको जानकारी दिए । माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उनले जानकारी दिए । माटोको जोडाइबाट पुनर्निर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञहरुको भनाइ छ । पुनर्निर्माणमा विज्ञ समितिले आवश्यक सल्लाह सुझाव दिइरहने जनाइएको छ ।

विज्ञ समितिको प्रतिवेदनअनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरी साँखु र लुभुको माटो उपयुक्त ठहर्‍याएको हो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इँट्टाको बीचमा राखिएको माटोको परीक्षण भएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए । इँटा जोड्न उपयुक्त गुणस्तरीय माटोको खोजी गर्ने क्रममा साँखु र लुभुको माटो सही प्रमाणित भएको कोषले जनाएको छ ।

रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनर्निर्माण भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनर्निर्माणको काम हुनेछ । यसका लागि विभागबाट एकजना पुरातत्व अधिकृत जयवागेश्वरी खटाइएको छ ।

भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ साल जेठ ४ गते एड्भेन्चर टुर एन्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनर्निर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनर्निर्माणको काम सुरू गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति कोषले सम्झौता रद्द गरेको हो ।  दाता शर्मा सुरूमा पुरातत्वले नक्सा र ढाँचा स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनर्निर्माण सुरू गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनर्निर्माणबाट पछि हट्न बाध्य भएको बताउँछन् ।

जयवागेश्वरी माटोको जोडाइबाट बनाउँदा लागतमा कुनै फरक नपर्ने कोषले जनाएको छ ।

भत्काउने क्रममा नयाँ रहस्य फेला परेपछि अध्ययन गर्न विज्ञ समूह बनाउँदा जयवागेश्वरी पुनर्निर्माण ढिलाइ भएको बताइएको छ । सती प्रथा रहुन्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ ।  चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्रका सम्पदाका बारेमा शोध गरेका कोषका पूर्वसदस्यसचिव एवं संस्कृतिविद् डा गोविन्द टन्डन बताउँछन् ।

पशुपतिका ४७ सम्पदा पुनर्निर्माण

पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९० वटामा भूकम्पले क्षति पुर्‍याएको थियो । हालसम्म १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा  सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ । विश्वरुप मन्दिर, गौरीघाटलगायत सातवटा सम्पदा खरीद प्रक्रियामा रहेका छन् ।

२५ वटा सम्पदाको काम सुरू गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिए ।  साढे पाँच वर्षअघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यसमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाको पुनर्निर्माण जारी छ ।

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि

जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरू भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।

मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ । कलेबर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताए ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ ।

मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरू भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ०५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द