धरहरामा दैनिक ३ सय कामदार, रानीपोखरी सिँगारिँदै | Khabarhub Khabarhub

धरहरामा दैनिक ३ सय कामदार, रानीपोखरी सिँगारिँदै



काठमाडौं – भूकम्पले भत्काएका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको काम चार वर्षयता चलिरहेको छ ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण गत ११ गते देशमा लकडाउन भएपछि बन्द भएका निर्माणका काम संक्रमण रोकथामका मापदण्डहरू पालना गरेर चालु छन् । कामको गति भने घटेको छ, जसको असर भूकम्पपछिको पुनर्निर्माणमा पनि परेको छ ।

देशभरका सम्पदाहरूको पुनर्निर्माणमा कोभिड–१९ को असरले पूर्वनिर्धारित योजनाअनुसार सम्पन्न नहुने अवस्था उत्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालका अनुसार कोभिडको प्रभावबाट जोगिँदै काठमाडौँ उपत्यका र बाहिरको हकमा केही सम्पदाहरूको पुनर्निर्माणको काम भइरहेको छ ।

‘सम्पदा क्षेत्रमा  कतै पुनर्निर्माणका लागि डीपीआरको काम भइरहेको छ भने कतै पुनर्निर्माण पनि भइरहेको छ’ अर्यालले भने, ‘तर सबै काम पहिले झैँ हुन सकेको छैन ।’

काठमाडौं उपत्यकाभित्रका केही सम्पदाहरूमा भने धमाधम काम भइरहेको छ ।

धरहरा समयमै सम्पन्न गर्ने प्रयास

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गरेपछि पुनर्निर्माण प्राधिकरणको कार्यावधि भित्रै निर्माण सम्पन्न गर्ने भनिएको थियो । सोहीअनुसार कामको गति अघि बढे पनि कोभिड–१९ का कारण केही समय काम रोकियो ।

प्राधिकरणको ५ वर्षे कार्यावधि आगामी पुस दोस्रो साता सकिँदैछ ।

‘लकडाउनको सुरुवातमा करिब १० दिन धरहरा पुनर्निर्माणमा असर पर्‍यो,’ प्राधिकरणका सम्पदा विज्ञ राजुमान महर्जनले भने, ‘कामदारहरू तितरबितर भए, केही दिनमा २२–२५ जनामा आइपुगे ।’

महर्जनका अनुसार अहिले कामदाहरू सबै जुटेका छन् । पूर्ववतरूपमा निरन्तर काम भइरहेको छ । ‘केही दिन रोकिएपछि निरन्तरता दिनका लागि बर्दिया, सप्तरी, उदयपुर लगायतका जिल्लाबाट थप कामदार ल्यायौँ’ उनले भने, ‘अहिले ३ सयभन्दा बढी कामदारहरूमार्फत धराहरा पुनर्निर्माण भइरहेको छ ।’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना संक्रमणको जोखिमका कारण पुनर्निर्माणको काममा असर परेकोले धरहराको काम पनि निर्धारित समयमा पूरा गर्न कठिन हुने बताएका थिए ।

धरहरा पुनर्निर्माणको काम अबको ५ महिनामा सम्पन्न होला त ?  प्राधिकरणका सम्पदा विज्ञ महर्जन भन्छन्, ‘काम सम्पन्न गर्न प्रयत्न गरिरहेका छौँ, कोभिड–१९ को प्रभावकै बेला पनि कामदार जुटाएका छौँ, काम भइरहेको छ ।’

आगामी पुसभित्र धरहरा निर्माणको काम सक्ने लक्ष्य प्राधिकरणको छ । २०७२ सालमा भूकम्पले धरहरा भत्काएपछि ठुटो मात्रै बाँकी थियो । धरहरा बनाउने काम सुरु भएको एक वर्ष भएको छ ।

‘४० प्रतिशत भौतिक प्रगति भएको छ, ३१ प्रतिशत आर्थिक प्रगति भएको छ,’ महर्जनले खबरहबसँग भने, ‘तेह्रौँ तलाको काम भइरहेको छ ।’

उनका अनुसार तीन अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरी गत असोजमा काम सुरु भएदेखि अहिलेसम्म धरहराको झण्डै ५० प्रतिशत काम भइसकेको छ ।

सिँगारिँदै रानीपोखरी

रानीपोखरी पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले पोखरीमा पानी जमाउने काम सुरु भएको छ ।

देश लकडाउन भएसँगै रानीपोखरी पुनर्निर्माणको काम पनि रोकिएको थियो । फेरि वातावरण मिलाएर कामलाई निरन्तरता दिएको प्राधिकरणको भनाइ छ । पोखरी ५ फिट २ इन्च गहिरो छ । पानीको व्यवस्थापन गर्न ५ वटा तरिकाबाट अपनाइने महर्जनले बताए ।

उनका अनुसार २६० मिटर गहिरा २ वटा बोरिङ खनिएका छन् । वीर अस्पताल अगाडि टुँडिखेलभित्र इनारबाट पानी तान्ने तयारी छ । मेलम्ची खानेपानीको डेडिकेटिड लाइन लिने कुरा भएको छ । दरबार हाइस्कूलबाट पानी प्राप्त गर्ने दुई वटा लाइन छन्, यो पनि खोल्ने प्रयास भएको छ ।

उनका अनुसार अहिले रानीपोखरीलाई सौन्दर्यीकरण गर्ने काम भइरहेको छ । पोखरीको पहिलो चरणको काम सम्पन्न भइसकेको छ । दोस्रो चरणमा उत्तरतर्फ २५ प्रतिशत ढुङ्गा बिछ्याउने काम बाँकी रहेको छ । एकसातामा ढुङ्गाको काम सकिने र पानी भर्न थाल्ने महर्जनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १२ : ११ बजे

प्रचण्डले माधव र विप्लवलाई एकताको कार्ड फ्याँकेलगत्तै समाजवादी मोर्चाको बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

गण्डकी– पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु

एमालेभित्रका माओवादीको कन्तबिजोक !

काठमाडौँ – नेपालका दुई प्रमुख कम्युनिष्ट दलहरू नेकपा (एमाले) र

काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा