अपारदर्शीरूपमा चिनियाँ कम्पनीलाई ४५ अर्बको ठेक्का दिने तयारीमा नेपाली सेना | Khabarhub Khabarhub

अपारदर्शीरूपमा चिनियाँ कम्पनीलाई ४५ अर्बको ठेक्का दिने तयारीमा नेपाली सेना



काठमाडौँ– नेपाली सेनाले ४५ अर्ब रुपैयाँको ठेक्काको लागि अपारदर्शी रूपमा चिनियाँ कम्पनी छनौट गरेको छ ।

सेनाले निर्माण गरिरहेको काठमाडौँ तराई–मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) को दुई फेजको कामका लागि चिनियाँ ठेकेदार ‘पोली छाङदा इन्जिनियरिङ कम्पनी लिमिटेड’ र ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ लाई छनौट गरेको हो ।

यो छनोट सेनाले बनाएको मापदण्ड विपरीत र अपारदर्शी रहेको उच्च सैनिक स्रोतको भनाइ छ । कतिपयले यसलाई मुलुकमा व्याप्त राजनीतिक संकटमा मौकाको रूपमा पनि हेरेका छन् ।

खबरहबलाई प्राप्त पूर्वयोग्यता छनोटको सूचीअनुसार दुई चरणको कामका लागि नेपाली सेनाले पहिलो चरणमा २१ कम्पनी र दोस्रो चरणमा २२ गरी कुल ४३ कम्पनी छनौट गरेको थियो । यही पुस १० गते सेनाले तीमध्ये उक्त दुई वटा कम्पनीलाई मात्र योग्य ठहर गरी सञ्चारमाध्यममा सूचना प्रकाशित गर्‍यो ।

एकै प्रकृतिको दोस्रो चरणको कामका लागि भने पहिलो चरणमा योग्य ठानिएको चाइना स्टेट बाहिरिएको छ । सेनाले दोस्रो चरणका लागि चिनियाँ कम्पनी पोली छाङदालाई योग्य छनौट गरेको छ ।

उच्च सैनिक स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्धारित मापदण्ड विपरीत ठेकेदार कम्पनी छनोट गरी अन्तर्राष्ट्रिय ठेकेदारको सूचीमा अब्बल नदेखिएको कम्पनी छनौट गरेका हुन् ।

नाम उल्लेख नगर्ने सर्तमा ती सैनिक अधिकारीले खबरहबसँग भने, ‘प्रधानसेनापतिका साला राजन रायमाझी र ठेकेदार लोकेन्द्र कार्कीको योजनामा उनीहरुले लविङ गरिरहेको पोली छाङदा इन्जिनियरिङ कम्पनी लिमिटेडलाई दुबै चरणको कामका लागि योग्य छनौट गरिएको छ । यो छनोट सेना आफैँले तय गरेको मापदण्ड विपरीत छ ।’

विश्वका अब्बल २५० अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीको सूचीमा पोली छाङदा समावेश छैन । सेनाले २०७६ फागुन ३० गते पूर्वयोग्यताका लागि बोलपत्र आह्वान गरेको थियो । यसअनुसार फास्ट ट्र्याकको सचिवालयले गत असोज १४ गते पहिलो चरणका लागि २१ र दोस्रो चरणका लागि २२ वटा कम्पनीलाई पूर्वयोग्यतामा छनौट गरेको थियो ।

यसरी छनौट भएका कम्पनीमध्ये पहिलो चरणको कामका लागि अमेरिकी स्वतन्त्र मूल्यांकनकर्ता इन्जिनियरिङ न्युज रेकर्डले बनाएको सूचीमा रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र सूचीमै नरहेको पोली छाङदा योग्य ठेकेदार छनौट भएका हुन् ।

स्रोत भन्छ : ठेक्का प्रक्रिया पारदर्शी भएन

काठमाडौँ तराई–मधेश द्रुतमार्ग सञ्चालक समितिले पहिलो चरणका लागि कम्तीमा ८ र दोस्रो चरणका लागि ७ योग्य ठेकेदार कम्पनी छनौटको आन्तरिक सल्लाह गरेका थिए । सञ्चारमाध्यमा प्रकाशित सूचनामा दुई कम्पनीमात्रै छनौट भएको जनाइयो ।

समितिका एक सदस्यले भने, ‘छनौट भएका दुईमध्ये पनि चिनियाँ ठेकेदार कम्पनी छाङ्दाको योग्यताका विषयमा समितिभित्र पटकपटक कुरा उठेको थियो । त्यही कम्पनी र अर्को एक कम्पनीमात्र छनौटमा परेको सूचना आउँदा हामी पनि अचम्ममा परेका छौँ ।’

उनले यो प्रक्रिया नै रद्द गरेर निष्पक्षताका साथ योग्यताका आधारमा छनौट हुनुपर्ने बताए ।

स्रोतका अनुसार द्रुत मार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले समितिका सदस्यहरुसँग ठेकेदार छनौटका विषयमा अनभिज्ञता प्रकट गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी सन्तोष वल्लव पौड्यालले सार्वजनिक खरिद ऐन र नियमालीअनुसार प्रक्रिया पुर्‍याएर नै ठेक्का प्रक्रीयामा गएको र सबै काम कानून बमोजिम भएको दाबी गरेका छन् ।

उनले भने, ‘हामी नियमअनुसार नै टेण्डर प्रक्रियामा गएका थियौँ, प्रक्रियामा सामेल भएमध्यबाटै हाम्रो मापदण्डअनुसार ठेकदार कम्पनी छनौट भएको हो । यो प्रक्रियामा कुनै पनि कमजोरी भएको छैन ।’ उनले टेण्डर प्रक्रियामा कुनै पनि समस्या नरहेको दाबी गरे ।

आयोजनाको सञ्चालक समितिमा युुद्धकार्य महानिर्देशक उपरथी प्रेम शाही, अर्थ मन्त्रालयका सहसचिव सुुमन दाहाल, रक्षा मन्त्रालयका सहसचिव शिवराम न्यौपाने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिलादेवी बज्राचार्य र राष्ट्रिय योजना आयोगका सहसचिव डा. वासुदेव शर्मा सदस्य छन् ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुत मार्गको जिम्मेवारी रथी प्रभुराम शर्मालाई दिइएको छ । आयोजना सञ्चालन समितिमा प्रधानसेनापतिले एकजना रथी छनौट गर्न पाउने अधिकारअन्तर्गत शर्माले जिम्मेवारी पाएका हुन् ।

जग्गा विवादमै अलमल

नेपाली सेनाले फास्ट ट्र्याकको ७२.५ किलोमिटरभित्र दुुई लेनको द्रुत बाटो, ७ किलोमिटर टनेल, आकाशे पुलको कामलाई फेज १ र फेज २ मा बाँडेर योग्य ठेकेदार छनौटको प्रक्रिया थालेको थियो ।

सैनिक स्रोतका अनुसार पहिलो फेजको कामका लागि झण्डै २४ अर्ब रुपैयाँ (दुई सय मिलियन अमेरिकी डलर) खर्च हुने अनुमान छ । दोस्रो फेजमा दुुई वटा दुुई लेन टनेल, पाँचवटा पुल र चारलेनको बाटो बनाउन झण्डै २१ अर्ब (१८० मिलियन अमेरिकी डलर) लाग्ने अनुमान छ ।

दुवै फेजको ठेक्का योग्यतामाथि प्रश्न उठेको चाइना पोली ग्रुप कर्पोरेसन लिमिटेड अन्तर्गतको चिनियाँ ठेकेदार पोली छाङदा इन्जिनियरिङ कम्पनी लिमिटेडलाई दिइएपछि सैनिक सङ्गठनभित्र यो विषयले चर्चा पाएको छ ।

सेनाले २०७६ भदौ १ मा आयोजनाको विस्तृत आयोजना विवरण (डीपीआर) स्वीकृत गराएको थियो । योजनाको अनुमानित कुल लागत १७५ अर्ब रुपैयाँ छ । सेनाले २०८१ सालसम्ममा निर्माण पूरा गर्न लक्ष्य लिए पनि जग्गा विवाद नै टुङ्गिएको छैन ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : १५ बजे

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र