बलेवामा असारदेखि जहाज चलाउने तयारी « Khabarhub

बलेवामा असारदेखि जहाज चलाउने तयारी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण द्रूत गतिमा भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम द्रूत गतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए ।

आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताए ।

‘चिसो समय भएकाले कालोपत्रका लागि फागुन–चैत कुर्नुपर्ने भएको छ’, उनले भने, ‘सम्याउने, ग्राभेल गर्नेजस्ता काम एक महिनामा सकिन्छ ।’

ठेकेदार कम्पनीले बलेवा र पर्वतको मोदीखोलामा पनि क्रसर मेसिन राखेर गिटी, ग्राभेल बनाइरहेको उनले बताए ।

विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा एक हजार ५०० मिटर लामो घेराबार लगाउने, एउटा मुख्य ढोका र अर्को आपत्कालीन ढोका बनाउने काम अहिले भइरहेको छ ।

दमकल र एम्बुलेन्स सेवाका लागि आपतकालीन ढोका प्रयोग हुनेछ । विमानस्थलका सबै पूर्वाधार बनाउन पहिलेको लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको व्यवस्थापक खड्काले बताए । उनले भने- ‘काम थपिए पनि समय थप्दैनौँ ।’ जेठ मसान्त नै अन्तिम हुने र सो समयमा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।

मैदान सम्याउने क्रममा टावर र पाकिङस्थलमा झण्डै ६० मिटर लम्बाइ र २४ मिटर चौडाइमा छ मिटर अग्लो पर्खाल, भर्‍याङ र र्‍याम्प बनाउनुपर्ने भएको उनले बताए ।

त्यसका लागि समयमै माग पठाएकाले प्राधिकरणले पनि छिट्टै संशोधन गरेर पठाउने तयारी गरेको इञ्जिनीयर मीनराज ओझाले जानकारी दिए ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए ।

विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि यो विस्तारै बन्द हुँदै गएको थियो ।

बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा–बागलुङ सडक खुलेपछि रोकिएको प्रतिनिधिसभाका निवर्तमान सांसद सूर्य पाठकले बताए ।

अब असारदेखि नियमित जहाज चलाउने गरी पहल भइरहेको पाठकको भनाइ छ ।

विसं २०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि जहाज चल्न सकेको थिएन ।

दुई वर्षअघि बागलुङ नगरपालिकाले अपुग यात्रुको भाडा खर्च व्यहोर्ने सहमतिमा झण्डै हिउँदका छ महिना जहाज चलेको थियो ।

कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षात्मा उडान गर्न जोखिम भएपछि जहाज आउन मानेका थिएनन् भने हिउँदमा पनि मुसाले प्वाल पार्दा धावनमार्ग बिग्रेपछि कालोपत्र गर्न लागिएको हो ।

मैदानको सबै भाग एक किलोमिटर लामो छ । हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्र गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ ।

यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनःनिर्माण भएको छ । आपत्कालीन अवतरण गर्नुपरेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने कार्यक्रम व्यवस्थापक खड्काले जानकारी दिए ।

विमानस्थल नियमित सञ्चालनपछि साविक धवलागिरिका पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् भने यस क्षेत्रका आर्थिक तथा पर्यटन व्यवसायसमेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : १५ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा