मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन | Khabarhub Khabarhub

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ ।

आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ/छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उहाँले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’

इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारी पन्तले बताए । कम्पनीले यसअघि दिएको प्रतिवेदनमा साना–तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या नभएको जनाएको थियो । साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उहाँको भनाइ छ । उनले भने, ‘अरु सबै किसिमको तयारी भइसकेकाले यही महिनामा नै परीक्षण गर्न सकिनेछ ।’

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो । पहिले परीक्षण हुँदा पनि इटालियनविज्ञ प्रतिनिधि ल्याइएकामा पुनः परीक्षण पहिले पनि परीक्षणका लागि पनि पुनः अर्को टोली आएको छ ।

सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ । द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रिट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए । सुरुङ परीक्षणका लागि पानी भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए/नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायीरूपमा पानी पठाइन्छ । उनले भने, ‘दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।’

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुनेछ । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ ।

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दबाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घटनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतिश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी द्वार निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक गत असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले समय धकेलिएको छ ।रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : २० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय