प्रतिबन्धको दुई वर्षपछि सरकार–विप्लव वार्ताको तयारी « Khabarhub

प्रतिबन्धको दुई वर्षपछि सरकार–विप्लव वार्ताको तयारी

बहुलवादमा आधारित इमानदार वार्ता गर्न कांग्रेसको आग्रह


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्ततः सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता हुने भएको छ ।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि वार्ताको सम्भावना बलियो भएको हो । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गरेको छ ।

उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य ‘दीपक’ सदस्य रहेको टोली गठन गरेको छ ।

सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक भएलगत्तै मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ता टोली गठन गरेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

टोलीको नेतृत्वमा रहेका ‘प्रकाण्ड’ पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा हुन् । उनी चन्दा उठाएको लगायत अन्य केही अभियोगमा पटकपटक पक्राउ पर्दै अदालतको आदेशले मुक्त भएका नेता हुन् । ‘दीपक’ भनिएका उदय चलाउने पार्टीका केन्द्रीय सदस्य हुन् ।

हालै सरकारका तर्फबाट विप्लव नेतृत्वको पार्टीसँग वार्ताको पहल भइरहेको कुरा बाहिर आएको थियो । प्रधानमन्त्री ओलीले पनि हालै आफ्नो एक भाषणमा विप्लवसँग वार्ता हुन लागेको र चाँडै सकारात्मक परिणाम बाहिर आउने बताएका थिए ।

विप्लवको पार्टीले संविधानसभाबाट जारी भएको वर्तमान संविधान र राज्य व्यवस्था नै अस्वीकार गरेको छ । अहिलेको संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने उक्त पार्टीको निष्कर्ष छ ।

सरकारले दुई वर्षअघि, २०७५ फागनु २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसपछि उक्त पार्टीका नेताहरू सार्वजनिक रूपमा देखिएका छैनन् ।

एक महिनाअघि, माघ २० गते, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लवको पार्टीका एकजना नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए । उक्त भेटलाई वार्ताको वातावरण बनाउने सरकारको प्रयास मानिएको थियो ।

चन्दको पार्टीले सरकारसँग वार्ताका लागि जेलमा रहेका आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा गर्नुपर्ने शर्त राखेको छ ।

पार्टीका उच्च नेताहरू हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, ओमप्रकाश पुन, माइला लामा लगायत १२५ जनाभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।

विप्लवको पार्टी कुन शर्तमा वार्तामा बस्न तयार भयो भन्ने जानकारी दिइएको छैन । सरकारले विप्लवको पार्टीका सदस्यहरूलाई पक्राउ गर्न पनि छाडेको छैन । यही फागुन १० गते धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको भए पनि प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो । हिंसात्मक गतिविधि गरेको ठहर गर्दै दुई वर्षअघि गतिविधिमा लगाएको प्रतिबन्ध पनि फुकुवा भएको छैन ।

पहिलो संविधानसभा भङ्ग भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी पार्टी विभाजित भएको थियो । मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्फा भुसाल, ‘विप्लव’ लगायत नेताहरू बाहिरिएर संविधानसभाबाट संविधान नबनाउने निष्कर्षसहित उनीहरूले अर्को पार्टी गठन गरेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचन भई संविधान जारी भएपछि ‘बादल’, गुरुङ, भुसाल लगायतका नेताहरू प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका थिए । यसपछि विप्लव र वैद्य—गुजरेल पनि छुट्टिए । वैद्य—गुजरेल खुला अवस्थामै छन् । विप्लव र उनको पाटर्तीका नेताहरूले भने आफूलाई भूमिगत राखेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ताको रणनीति बनाएको अनुमान गरिएको छ ।

वर्तमान संविधान र राज्य व्यवस्था नै अस्वीकार गरेको विप्लवको पार्टीसँग हुने वार्ताको परिणाम कस्तो होला भन्ने चासो बढेको छ ।

दुवै पक्षबाट वार्ता टोली गठनबाहेक वार्ताको स्वरूपबारे हालसम्म केही पनि बताइएको छैन ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसले दुवैतर्फबाट वार्ता टोली गठन भएकोलाई सकारात्मक भनेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गगलबार नै एक विज्ञप्ति जारी गरी बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणालीको परिधिभित्र रहेर समाधान खोज्ने विश्वास प्रकट गरेका छन् ।

कांग्रेसले दुवै पक्षलाई इमानदार वार्ताका लागि आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ५४ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा