काठमाडौँ- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिएर अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची तय गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेको असहमतिका बीच कोरोना संक्रमणको महामारी भएकाले एकै दिनमा अविश्वासको प्रस्ताव टुंगो लगाउन सहमत भएका हुन् ।
गत वैशाख ६ मा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन् । तर चार जनालाई ह्विप उल्लंघन गरेको भन्दै जसपाले कारबाही गरेर सांसद पद गएको छ ।
यद्यपि जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरले बाबुराम भट्टराई र उपेन्द्र यादब पक्षले गरेको कारबाहीको आधिकारिकतामाथि प्रश्न उठाएको छ । कारबाही गरिएका चार सांसद कानूनी लडाइँमा छन् ।
८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन् ।
फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने छन् ।
प्रतिक्रिया