विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो « Khabarhub

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकी छिन् ।

पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन् । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए ।

उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताए । बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस काठमाडौँ आइपुग्ने जानकारी गराए । चरणबद्धरूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन् । उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन् । उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन् ।

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका लागि सरकारकोतर्फबाट सहयोग हुने बताउँदै आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताए । त्यसैगरी सञ्चालक समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसको खरिद प्रक्रिया र लागतबारे जानकारी गराए ।

उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड पाँच लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस रु एक करोड ५२ लाख पर्नेछ । यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा रु ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ ।

साझाले आह्वान गरेको बोलपत्रमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन(नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो । तुलाधरका अनुसार अबको चार महिनामा तीन वटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एकपटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझामा रु तीन अर्ब बराबरको शेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : ०१ बजे

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर– कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन