काठमाडौँ– के तपाईले घरमा विभिन्न सामान किनेर जम्मा भएको प्लाष्टिकको झोला जलाउने गर्नुभएको छ ? वा फोहर फाल्ने ठाउँमा फाल्ने गर्नुभएको छ ? यदि यसो गर्ने गर्नुभएको छ भने अब प्लाटिककै बोतलमा प्लाष्टिक कोचोर थुपार्नुहोस् पौसा पाइन्छ ।
प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ । बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गरेका हुन् । खरिद गरिएको बोतल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैँचा र स्तम्भ निर्माणमा प्रयोग गरिने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी एवं सदस्यले प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । टोललाई शून्य फोहरमा झार्न ३० घर यो अभियानमा संलग्न भएका महिलाले प्राप्त हुने रकम भने समाजसेवामा प्रयोग गर्ने भएका छन् ।
समितिले नै तीन महिनाअघि आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा पुडासैनीले प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण दिँदै प्लाष्टिकका झोला बोतलमा राखेर बगैँचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने भनी समुदायलाई प्रेरित गरेका थिए । घरको फोहर बाहिर फाल्नु पाखण्डताको पराकाष्ठा भएकाले महिला समितिलाई आफैँ व्यवस्थापन गर्न प्रेरित गरिएको थियो ।
विसं २०७० फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएका उनले वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउँदै आएका छन् । ‘मुहानदेखि नै वाग्मती सफा गरौँ’ भन्ने नाराका साथ गुह्येश्वरीमाथिको वाग्मती सफाइ भइरहेको छ । घरघरबाट निस्कने प्लाष्टिक अन्तिममा वाग्मतीमै गएर फोहर हुने भएकाले टोलमै व्यवस्थापनका लागि यस्तो अभियान चलाइएको अभियानकर्मी पुडासैनीले जनाए ।
समितिका सदस्यले तीन महिनामा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाँदेर बिक्री गरेका थिए । एउटैको करिब साढे आठ रुपैयाँमा बिक्री भएको छ । कुहिने फोहरलाई भने घरमै कम्पोष्ट मल बनाउन थालेका छन् । यसरी तयार पारिएको मल कौसी खेतीमा उपयोग हुँदै आएको छ ।
सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई सङ्कलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने छ ।
नारायणटार मार्ग भनिने मडगालका महिलाले यो अभियानलाई निरन्तरता दिने भएका छन् । प्लाष्टिक कोचिएका बोतल निःशुल्क दिन चाहे पनि अभियानकर्मी पुडासैनीले मिहिनेतको फल दिएकाले त्यसमा थप गरेर गोठाटारस्थित गाई बाच्छा संरक्षण अभियानलाई हस्तान्तरण गरिने समितिका अध्यक्ष वसन्ती लामाले बताइन् । अभियानलाई हस्तान्तरण गरिसकेपछि आजै अर्को एक धोक्रो बोतलमा भरिएका प्लाष्टिक समितिलाई प्राप्त भएको जनाइएको छ ।
मञ्चको नेतृत्वमा यस क्षेत्रको सफाइ अभियानको ४०७औँ हप्ताको कार्यक्रम शनिबार गोठाटार पुलमा सम्पन्न गरिएको छ । सफाइमा पनि नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो । यस क्षेत्रमा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ । नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिन थालेको छ ।
वाग्मती सफाइ महाअभियान ४३८ औँ हप्तामा
वाग्मती सफाइ महाअभियानको ४३८औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित करिब २०० अभियानकर्मीको सफाइमा सहभागिता थियो ।
सफाइका क्रममा विगत हप्तामाभन्दा नदी किनारबाट अलि बढी फोहर उठेकोे समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् । विगत हप्ताभन्दा बढी फोहर उठेको देखिएपनि उठाउन बाँकी फोहर पनि छिटो व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकालाई अनुरोध गरिएको उनले टिप्पणी गरिन् ।
विसं २०७० जेठ ५देखि शुरु भएको महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपको जोखिमका बेलासमेत महाअभियान निरन्तररुपमा हुँदै आएकोे छ । यसबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा सहायक नदी र चक्रपथका विभिन्न भागमा पनि सफाइ भइरहेको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदी, शहर र सांस्कृतिक सम्पदा पनि वाग्मती सफाइ महाअभियानकै प्रेरणाबाट सफाइ भइरहेको हो । हाल उपत्यका बाहिर करिब १०८ भन्दाबढी स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।
यसैगरी शनिबारै काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपकथको उत्तरी र पश्चिमी भेग, मनोहरा, भक्तपुरको हनुमन्ते र ललितपुरको गोदावरी खोला पनि सफाइ गर्नाका साथै फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो । रासस
प्रतिक्रिया