आयल निगमको घाटा बढ्यो | Khabarhub Khabarhub

आयल निगमको घाटा बढ्यो


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु एक हजार ४५० तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७।०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
बढ्दै नोक्सानी

प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक रु ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।

सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा रु एक अर्ब पाँच करोड नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर रु एक अर्ब ५० करोड नाघेको छ ।

निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउँछन् । “अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ”, प्रवक्ता उपाध्यायले भने, “यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरुपमा धरासायी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ ।” रासस

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : २९ बजे

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ

कोरियाबाट फर्केर व्यावसायिक खुर्सानी खेतीमा

भोजपुर– कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं–  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

इजरायली दूतावास अगाडी मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनी (तस्बिरहरू) 

काडमाडौं– मानवअधिकार तथा शान्ति समाजले आज इजरायली दूतावास अगाडी शान्तिपूर्ण