धन्वन्तरीको सन्देश | Khabarhub Khabarhub

धन्वन्तरीको सन्देश



कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदशास्त्रका प्रणेता धन्वन्तरीको जयन्तीका रूपमा मान्ने गरिएको छ । यस वर्ष आज धन्वन्तरी जयन्ती परेको छ ।

वनजङ्गल र जडीबुटीबिना आयुर्वेदको कल्पना सम्भव छैन । कोभिड–१९ सँगै मानिसमा प्रकृतिमोह बढेको छ । आयुर्वेदको स्रोतभूमि नेपालमा परम्परागत वेद भने बत्ति नै बालेर खोज्नुपर्ने अवस्था भएको छ ।

कस्तुरी मृग आफ्नै शरीरमा भएको विनाको बास्ना खोज्न भौँतारिन्छ तर बास्ना आफैँसँग भएको पत्तो पाउँदैन । जडीबुटीबारे हामी नेपालीको अवस्था कस्तुरीको जस्तै छ ।

विज्ञानको आधुनिक विकाससँगै एलोपेथी औषधि सुरु धेरै भएको छैन । प्राचीनकालदेखिको आयुर्वेदिक उपचारलाई विश्व स्वास्थ्य सङ्गठनले वैकल्पिक चिकित्सा पद्धतिका रूपमा मान्यता दिएको छ ।

जल, जमिन, जङ्गल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । यसक्षेत्रको अपार सम्भावनाले नै देश समृद्ध हुन सक्छ । देशको कुल भूभागको ४० प्रतिशत वन र करिब साढे ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र छ ।

सबैभन्दा बढी वनक्षेत्र पहाडमा छ । तराईमा वनक्षेत्र क्रमशः घट्दै गएको छ । कुल वनक्षेत्रको सबैभन्दा बढी कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश–२ मा छ । प्रदेशगत हिसाबमा सुदूर पश्चिम क्षेत्रमा वनक्षेत्र धेरै छ ।

आयुर्वेदिक गुणकारी औषधिको माग विश्व बजारमा बढ्दै छ । विश्वबजारमा नेपालको उपस्थिति भने केवल ०.००२ प्रतिशत मात्र रहेको छ ।

हाम्रो देशका सबै क्षेत्रमा जडीबुटीको प्रचुर सम्भावना छ । प्रदेशगत सम्भावना हेर्दा सुदूर पश्चिममा तेजपात, कुरिलो, रिठ्ठा, डालेचक धेरै पाइन्छ । कर्णाली प्रदेशमा कुड्की, अतीस, जटामसी, काउलो, टिमुर धेरै पाइन्छ ।

लुम्बिनी प्रदेशमा काउलो, तेजपात, टिमुर, सुगन्धकोकिल धेरै पाइन्छ । बागमती प्रदेशमा चिराइतो, लोठसल्ला, सतुवा, धसिँगरे धेरै पाइन्छ ।

प्रदेश–२ हर्रो, बर्रो, कुरिलो, अमला, लेमनग्रासले प्रख्यात छ । प्रदेश–१ मा लोठसल्ला, चिराइतो, तेजपात र धसिँगरेको सम्भावना धेरै छ ।

जडीबुटीको अधिक सम्भावना भए पनि यसक्षेत्रमा राज्यको ध्यान जान सकेको छैन । सरकारी नीति नै स्पष्ट छैन । एलोपेथी आउनुअघिदेखि मानव स्वास्थ्यमा योगदान गरिरहेको जडीबुटी ओझेलमा परेको छ । देशमा यससम्बन्धी सरकारी निकाय धेरै छन् तर न सर्वसाधारणको चासो छ न राज्यको दूरदृष्टि ।

सरकारको वार्षिक बजेटमा समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरी जडीबुटीमा आधारित उद्योगको विकास गर्ने कुरा उल्लेख हुने गरेको छ । जडीबुटीको व्यावसायिक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्रान्डिङ गरी निर्यात गर्ने उल्लेख गरिएको हुन्छ ।

कर्णाली लगायतका हिमालीक्षेत्र र सुदूर पश्चिम प्रदेशमा जडीबुटी विकास कार्यक्रम सञ्चालन गर्ने, जडीबुटी उत्पादन तथा कम्पनीको क्षमता अभिवृद्धि गर्दै नवीन प्रविधि प्रयोग गरी गुणस्तरीय उच्च मूल्यका जडीबुटीजन्य वस्तु उत्पादन गर्ने भन्ने बुँदाहरू बजेट किताबमा हुन्छन् ।

जडीबुटीको दायरा ठूलो छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हो । आयु बढाउने हुनाले यसलाई आयुर्वेद भनिएको हो ।

पौराणिक प्रसङ्गअनुसार समुद्र मन्थनसँगै आयुर्वेद लिएर भगवान विष्णु धन्वन्तरीको रूप लिई पृथ्वीमा प्रकट भए ।
आधुनिकता विकास हुँदै जाँदा सृष्टिको उषाकालदेखि आरम्भ भएको आयुर्वेद र जडीबुटीप्रति आमचासो कम हुँदै गयो ।

साइड इफेक्ट नगरी शरीरमा एन्टीबडी निर्माण गर्दै रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने बहुगुणी औषधिको प्रयोग विस्तार हुन सकेन ।

हिजोआजको खानपान र जीवनशैलीका कारण मानिसको पूर्णायु हुन सकेको छैन । विदेशी मुद्रा आर्जनको नाममा हामीले जडीबुटी कच्चा पदार्थका रूपमा मात्र निर्यात गर्ने प्रयत्न गरेका छौँ । आफैँले प्रशोधन गरेर आफ्नै स्रोत र प्रविधिले यसको मूल्य अभिवृद्धि गर्न सकिएन ।

देशभित्र प्रयोग बढाउन सके अर्बौं रकमको एलोपेथी औषधि आयात प्रतिस्थापन गर्न सकिने थियो ।

यसको उत्पादनको क्षेत्र पनि व्यापक छ । खासगरी ६ वटा क्षेत्रमा विभाजन गर्न सकिने जडीबुटीलाई स्वाद, सुगन्ध, मसला, औषधि, पेय पदार्थ र सौन्दर्य प्रशाधन उत्पादनका रूपमा लिन सकिन्छ ।

हामी हिमालको काखमा छौँ । अपार जलबाट ऊर्जाको व्यापक सम्भावना भएभैँ हिमाली, उच्चपहाडी क्षेत्रमा आफैँ उब्जनी हुन्छ । थप व्यावसायिक खेती वृद्धि गर्न सके हामी कसैको भिक्षार्थी हुन पर्नेछैन ।

जबसम्म राजनीतिक पद र प्रतिष्ठा अवैतनिक हुँदैन तबसम्म देश कङ्गाल हुने अवस्था आजभन्दा भोलि बढ्दै जानेछ । हिजो धानचामल निर्यात गर्ने देश आज आलु, प्याज, चामल, मासु, पाउडर दूध, तरकारी, फलपूmल, मरमसला, चिनी, मकै, पिठो, दाल, गेडागुडी सबै आयात गर्ने अवस्थामा पुगेको छ ।

वनस्पति विभागका अनुसार देशमा ८१९ प्रजातिका वनस्पतिहरू औषधीय गुणयुक्त छन् । यीमध्ये ३११ प्रजाति नेपालका रैथाने हुन् । झण्डै दुई सय प्रजाति सुगन्धित छन् । झण्डै तीन सय प्रजाति व्यापारमा छन् । अझै २५० प्रजाति व्यापारमै थप्न सकिन्छ ।

देशमा गरिबी छ । कोभिड–१९ ले धेरैको रोजीरोटी गुमेको छ, वैदेशिक रोजगारी भरपर्दो र दिगो छैन । देशमा भएका सम्भावित यस्ता क्षेत्रको पहिचान गर्नसके आयआर्जन, रोजगारी सिर्जना, गरिबी निवारण, निकासी व्यापारको वृद्धि भई देशलाई उच्च व्यापार घाटाबाट जोगाउन सकिन्छ ।

यहाँ भएका औषधीय गुणका वनस्पतिमध्ये झण्डै ९० प्रतिशत वनक्षेत्रमै पाइन्छन् । बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन, तयारी र फ्रिजका पानी, फास्टफूड, जङ्कफूड र बजारका विषाक्तखानाले हाम्रो शरीर दिन परदिन गल्दो छ, सामान्य रुघाखोकीमा एन्टीबायटिक चाहिने भएको छ ।

अस्पताल र औषधि पसल भरमार खुलेका छन् तर पनि महामारी भनिएका बेला राम्रो उपचार हुन सकेन ।

रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपयोगिताबारे भने स्वास्थ्य मन्त्रालय मौन छ । यहाँ जडीबुटी पहिचानको क्षमता नै भएन, त्यस्तो ज्ञानको अभाव भयो । प्रविधि भएन, लगानी गर्ने वातावरण पनि भएन ।

व्यक्ति वा कुनै समूहमात्र खटेर यसको विकासको सम्भावना देखिँदैन, राज्य नै लाग्नु पर्छ । यसमा सिप र धैर्यको खाँचो छ, उच्च मनोबल र साहस चाहिन्छ ।

आजको भोलि नै नामी र दामी हुन खोज्नेलाई आयुर्वेदको क्षेत्र निरस हुन सक्ला । राज्यको प्रोत्साहनको कमी हुनाले यसको उपयोगिता पहिचान हुन सकेन । खेती विस्तार भएन । वनस्पतिजन्य औषधिको गुण पहिचान हुन सकेन ।

परम्परागत प्रविधि हस्तान्तरण भएन । उद्योगको रूपमा आउनै सकेन र उद्योग विस्तार नहुँदा बजारीकरणको अवधारणा विकास भएन ।

विदेशी गुरुका ब्राडिङ, गहुँत, पिठो, सातु र हर्वल क्याप्सुल भनेपछि हुरुक्कै हुने तर आफ्नोमा मन नजाने अचम्मको प्रवृत्ति विकास हुँदैछ ।

आयुर्वेदिक औषधि पसलमा विदेशीका फोटा राखे सामान बिक्री हुन्छ । हाम्रो चाहिँ राजनीतिक उद्योगमात्र चल्छ ।

नेपालीले नै जडीबुटी खेती गर्नुपर्छ । गैरकाष्ठका वन पैदावारको खेती गर्नुपर्छ । तिनको भण्डारण र प्रशोधन गर्नुपर्छ । यसका लागि पकेट, ब्लक, जोन, सुपर जोन इत्यादि बनाउन सकिन्छ ।

गुणस्तर प्रमाणीकरण गर्ने प्रयोगशाला भएन । प्राविधिक जनशक्ति छैन । राज्यको प्रोत्साहन नहुँदा विदेशी लगानी अकर्षित छैन । भन्सार सहजीकरण छैन ।

पकेट क्षेत्रलाई जडीबुटी खेतीमा र ब्लक क्षेत्रलाई यसको संकलन क्षेत्रको रूपमा प्रयोग गर्न सकिन्छ । जोनलाई प्रशोधन केन्द्रको रूपमा स्थापना गर्न र सुपर जोनमा उद्योगहरू राख्न सकिन्छ ।

प्रविधिमैत्री, बालीबीमा, सहज ऋण, प्रजातिको पहिचान र प्रवद्र्धन अघि बढाउन सके देशमा समृद्धि आउँछ ।
धेरै नेपालीहरू राजनीतिमा व्यस्त छन् । पर्याप्त स्रोत भएका क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउनेतिर ध्यान छैन ।

हाम्रो दर्शनले स्वस्थकर रहनसहन, इमानदारी, सत्य, योग, ध्यान र असल आनीबानीले शरीर स्वस्थ हुन्छ भनेको छ । अध्यात्मज्ञान नभई विज्ञानको सदुपयोग हुन्न । प्रकृति अध्यात्म हो, ज्ञान र विज्ञानको स्रोत प्रकृति नै हो ।

जबसम्म राजनीतिक पद र प्रतिष्ठा अवैतनिक हुँदैन तबसम्म देश कङ्गाल हुने अवस्था आजभन्दा भोलि बढ्दै जानेछ । हिजो धानचामल निर्यात गर्ने देश आज आलु, प्याज, चामल, मासु, पाउडर दूध, तरकारी, फलपूmल, मरमसला, चिनी, मकै, पिठो, दाल, गेडागुडी सबै आयात गर्ने अवस्थामा पुगेको छ ।

राजनीतिक नेताहरू अदूरदृष्टि भएकाले र भागबण्डाका कारण यस्तो भएको हो । परिणामस्वरूप देश आन्तरिक र वाह्य ऋणमा डुब्दै गएको छ ।

कोभिड–१९ को सन्देश हो– जीवनशैली बदलौँ ।

मानिस प्रकृतिमैत्री नबनी सुखै छैन । तत्काल लाभ होला त प्रकृतिलाई बिर्सेर मानिसको हित हुँदैन । प्रतिस्पर्धा र होडबाजी स्थायी हुँदैन । हिंसा, क्रोध, ईष्र्या र वैमनष्यको लहर शमन गर्न आवश्यक छ । यसको ज्ञान पूर्वीय दर्शनले दिएको छ ।

हाम्रो दर्शनले स्वस्थकर रहनसहन, इमानदारी, सत्य, योग, ध्यान र असल आनीबानीले शरीर स्वस्थ हुन्छ भनेको छ । अध्यात्मज्ञान नभई विज्ञानको सदुपयोग हुन्न । प्रकृति अध्यात्म हो, ज्ञान र विज्ञानको स्रोत प्रकृति नै हो ।

यस्तो अध्यात्मज्ञानको परिचय धन्वन्तरीले दिएका हुन् । उनको सन्देश प्राकृतिक वस्तु जडीबुटीले रोगसँग लड्ने क्षमता बढाउँछ, प्रकृतिप्रदत्त जडीबुटीको सेवनमा यो क्षमता छ भन्ने नै हो ।

यो अध्यात्मज्ञानको महिमा बुझौँ, धन्वन्तरीको सन्देश बुझौँ र जडीबुटीको सम्यक उपयोगबाट स्वस्थ रहेर बाँचौँ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ४० बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि