माननीय सदस्य ! एकबारको जुनीमा अन्तिम मौका यही हो ? | Khabarhub Khabarhub

माननीय सदस्य ! एकबारको जुनीमा अन्तिम मौका यही हो ?



धेरै पटक सुनिएको कथन हो– जोगी हुन राजनीति गरेको होइन ।

यसमा अनेक अर्थ लगाएर व्याख्या विश्लेषण गर्न सकिएला । यो आलेखको उद्देश्य त्यतातिर होइन । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गरेको साढे एक महिना पूरा भयो, मन्त्रिपरिषद्‌मा पाँच जना छन् ।

प्रधानमन्त्री एक्लैसँग सत्र वटा मन्त्रालय छन्, उनको एउटा मन्त्रालयमा राज्यमन्त्री छन् । चार वटा मन्त्रालयले मात्रै मन्त्री पाएका छन् ।

प्रधानमन्त्री देउवा हालसम्म सबैभन्दा बढी आलोचित भएको मन्त्रीहरू नियुक्ति गर्न नसकेकैमा हो । नेकपा एमालेको र जसपाको विवादका कारणले अप्ठ्यारो परेको हो भनेर शंकाको सुविधा दिने हो भने पनि विभाजनबाट बनेका दलले दर्ता प्रमाणपत्र पाएको पनि दश दिन भएको छ । प्रधानमन्त्री र सत्ताघटकका नेताहरू भेटवार्ता गरेका गर्‍यै छन् तर मन्त्री नियुक्त भएका छैनन् ।

एकछिन निकट विगततिर फर्कूं ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफ्नो व्यवस्थापकीय अक्षमताको फलस्वरूप प्रतिनिधिसभालाई प्रतिशोधको तारो बनाए । पाँच महिनामा दुई पटक प्रतिनिधिसभा विघटन गरे । दुवै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मतरूपमा पुनर्स्थापित गरिदियो ।

शक्तिशाली प्रथम अध्यक्ष रहेका ओलीले पार्टीको विवाद समाधान गर्न सकेनन् । सरकारलाई काम गर्न नदिएको बहाना बनाएर प्रतिनिधिसभा विघटन गरिदिए । प्रतिनिधिसभा पुनर्स्थापित भयो । ओलीको कदमको परिणास्वरूप सत्तारूढ दल नेकपा (नेकपा) विभाजित भयो । दुई तिहाई नजिकको बहुमत गुमेको मात्रै होइन, साधारण बहुमत पनि गुम्यो । प्रधानमन्त्रीका रूपमा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पनि हासिल गर्न सकेनन् ।

फेरि पनि ओलीले प्रतिनिधिसभा विघटन गरिदिए । फेरि पुनर्स्थापित भयो । दोस्रो पटक पुनर्स्थापित त्यही प्रतिनिधिसभाबाट कांग्रेस सभापति देउवा सरकारको नेतृत्वमा पुगेका हुन् ।

जबसम्म संविधान र कानूनलाई आधार मानेर गरिने शासन एउटा असल संस्कृति बन्दैन तबसम्म विकृति र विसङ्गति अन्त्य हुँदैन, दोहोरिइरन्छ । यस्तो अवस्थामा सुशासन एउटा कोरा कल्पनामात्रै हुनेछ । देश अहिले यस्तै अवस्थाबाट गुज्रिँदैछ । हाम्रो राजनीतिले गर्न नसकेको काम नै सुसंस्कृतिको थालनी हो ।

ओलीले संविधानको प्रावधानअनुसार अर्को सरकार बन्न सक्ने मार्ग खुला गरेनन् बरु संविधान विपरीत दुई पटक प्रतिनिधिसभा विघटन गरिदिए । संवैधानिक मूल्यमान्यताहरू ध्वस्त पारे । अध्यादेशबाट शासन चलाए । राजनीतिक रूपमा चरम अनैतिक भए । समग्रमा ओली निरङ्कुश र सर्वसत्तावादी बन्दै गए ।

ओलीमाथि उनको पार्टीभित्र र बाहिरबाट लागेका मूल आरोपहरू यिनै हुन् । यहाँ यिनलाई एकएक विस्तार गर्नु आवश्यक छैन ।

पहिलोपटक विघटन गर्दा ओलीले सरकार एकातिर र प्रतिनिधिसभाको बहुमत अर्कोतिर रहेको तर्क गरेका थिए । प्रतिनिधिसभा कामै गर्न नसक्ने भएकोले नयाँ जनादेश आवश्यक रहेको जिकिर गरेका थिए । सर्वोच्च अदालतले पुनर्स्थापन त गरिदियो तर परिस्थिति ओलीको तर्क र जिकिरसँग ठ्याक्कै मेल खायो । पुनर्स्थापित प्रतिनिधिसभाले ओलीलाई विस्थापित गरेर अर्को सरकार दिन सकेन । कुनै पनि विधेयकमा छलफल हुन सकेन । कतिसम्म भने अध्यादेशसमेत पेश हुन सकेन ।

विश्वासको मत लिन असफल भएका ओली फेरि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भए तर विश्वासको मत लिन कुनै प्रयास गरेनन् । आफूलाई विश्वास प्राप्त नहुने जानकारी गराएर अर्को सरकार गठनका लागि राष्ट्रपतिमा निवेदन दिए । राष्ट्रपतिको आह्वानपछि ओलीले गरेको बेइमानी सर्वोच्च अदालतसम्म पुग्यो र फेरि प्रतिनिधिसभा पुनर्स्थापित भयो । ओली अदालतबाटै बेइमान ठहरिए ।

अदालतको परमादेशले अर्को सरकार त बन्यो तर प्रतिनिधिसभाबारे ओलीले गरेको तर्क गलत प्रमाणित भएको छैन । फेरि पनि प्रतिनिधिसभाले कुनै विधेयक अघि बढाएन । सरकारले न त अध्यादेशहरूमा प्रतिस्थापन विधेयक पेश गर्‍यो न प्रतिनिधिसभाले अस्वीकार गर्‍यो । महिना दिनमा बीस घण्टा बैठक गरेपछि सरकारले अधिवेशन अत्य गरायो र लगत्तै दल विभाजन गर्न अध्यादेश जारी गरायो ।

ओलीमाथि लागेका आरोपहरू सत्य हुन् भने वर्तमान सत्ता गठबन्धन र सरकारको पहिलो काम प्रतिनिधिसभाबारे ओलीको तर्क र जिकिर असत्य सावित गर्नु हो । यसमा सरकार एक बिन्दुमा चुकिसकेको छ । संसद अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश जारी गर्नुलाई कुनै पनि आवश्यकताको लेपनले सक्कली ठहर्‍याउन सक्दैन । राजनीतिक दलसम्बन्धी अध्यादेश राजनीतिक नैतिकताको कसीमा बेहद बेइमानी हो । यस्तो कदमले हाम्रो संविधान र कानूनको मर्ममै प्रहार गरेको छ ।

वर्तमान सत्ता गठबन्धनले ओली सत्ताको साढे तीन वर्षका विकृति र विसङ्गतिहरू सच्याउन सक्नुपर्छ । सच्याउन नसकेका ठाउँमा कम्तीमा उनकै शैली पुनरावृत्ति गर्नु हुँदैन ।

देउवा सरकारसँग ठूलो अपेक्षा छैन । दैनिक प्रशासन र सेवामा कुशासन नहोस्, सरकार र प्रतिनिधिसभाले आफ्नो अवधि पूरा गरून्, नेता र सत्तारूढ दलका सांसदहरू देश र जनताप्रति समर्पित देखियून्, निजी स्वार्थ र पदलोलुपताबाट अलग रहून् । कम्तीमा प्रतिनिधिसभाको निर्वाचनसम्म ।

मूल अपेक्षा यही हो ।

समय निकै संवेदनशील छ । संविधानका र कानूनका कतिपय प्रावधानमा व्यावहारिक कठिनाइहरू देखिएका छन् । यसैको एउटा दृष्टान्त हो राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत दुई पटकको संशोधन ।

साढे एक महिनासम्म मन्त्रिपरिषद विस्तार हुन नसक्नु, सरकार टिकाउन दल विभाजनका लागि चालु अधिवेशन अत्य गरेर अध्यादेश ल्याउन अनिवार्य हुनु र फेरि सरकार टिकाउन त्यही अध्यादेश निष्क्रिय पार्नुपर्ने आवश्यकता बोध हुनु सामान्य परिस्थिति होइन ।

देशका सर्वोच्च निकायका सर्वोच्च पदाधिकारीहरू रहने संवैधानिक परिषद कामै गर्न नसक्ने अवस्थासम्म निष्क्रिय हुन हुनपुग्यो । त्यसैको परिणाम थियो छ जनाको परिषदमा तीन जनाले निर्णय गर्नसक्ने अध्यादेश जसले अनिवार्य भनिएको संसदीय सुनुवाइ नै नगराई पदाधिकारीहरू नियुक्त गरायो ।

संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीश चाहिन्छ भन्छ । आज यही विषयमा अदालतमा प्रधानन्यायाधीशमाथि मुद्दा छ । दुई तिहाई नजिकको बहुमतयुक्त सरकार साढे तीन वर्ष पनि पूरा नगरी साधारण बहुमत गुमाएर ढल्यो । सभामुखले प्रधानमन्त्रीमाथि मुद्दा हाल्नु परेको छ ।

संविधान र कानून तिनमा लेखिएका शब्द र वाक्यहरूको सङ्ग्रहमात्रै होइन । हरेक लिखतमा शब्द र वाक्यको अर्थमात्रै होइन, त्यसको समग्र भावार्थ पनि हुन्छ । संविधान र कानून कार्यान्वयन शब्द र वाक्यको अर्थसँगै भावार्थसँग पनि सङ्गतियुक्त हुनुपर्छ । भावार्थको उचित व्याख्या र प्रयोगमा उन्नत विवेक चाहिन्छ । यसमा प्रतिशोध, निजी स्वार्थ र उग्र महत्वाकाङ्क्षा बर्जित छ ।

यस्तो सङ्गति देखिन राज्य सञ्चालकहरू व्यक्तिगत स्वार्थबाट मुक्त, विवेकशील र दूरदर्शी हुनुपर्छ । संविधान र कानून कार्यान्वयन भनेको शासनमात्रै होइन, संस्कृति पनि हो । अझ गहिरिएर भन्ने हो भने शासनभन्दा बढी संस्कृति नै हो ।

जबसम्म संविधान र कानूनलाई आधार मानेर गरिने शासन एउटा असल संस्कृति बन्दैन तबसम्म विकृति र विसङ्गति अन्त्य हुँदैन, दोहोरिइरन्छ । यस्तो अवस्थामा सुशासन एउटा कोरा कल्पनामात्रै हुनेछ । देश अहिले यस्तै अवस्थाबाट गुज्रिँदैछ । हाम्रो राजनीतिले गर्न नसकेको काम नै सुसंस्कृतिको थालनी हो ।

यति भन्न संविधान र कानूनको ज्ञाता भइरहनुपर्दैन ।

वर्तमान सत्ता गठबन्धन र सरकार संविधानको स्वाभाविक गतिबाट बनेको होइन । ठूलो छलछाम, जालझेल र षड्यन्त्र चिरेर बनेको हो । यसरी बनेको गठबन्धन र सरकारले आफ्नो उदयको औचित्य प्रमाणित गर्न सक्नुपर्छ । होइन भने उही छलछाम, जालझेल र षड्यन्त्रका लागि सत्ताको पालो फेरिएको मात्रै देखिनेछ । यसबाट पालो त पूरा होला तर देशको हित हुँदैन, आमनागरिकको जीवनको गुणस्तरमा सुधार आउँदैन ।

प्रधानमन्त्रीले आफ्नो अधिकारसँगै विवेक शिरोपर गरून् । सत्ता घटकका सांसदहरूले दलका नेतालाई उनको विवेकले मन्त्री पठाउन दिऊन्, यसो गर्न सामूहिक आग्रह नै गरून् । नेताले विवेक शिरोपर गरून् । कम्तीमा प्रतिनिधिसभाको निर्वाचनसम्म । र, एउटा असल संस्कृतिको थालनि होओस् ।

साढे एक महिनासम्म मन्त्रिपरिषद विस्तार हुन नसक्नु, सरकार टिकाउन दल विभाजनका लागि चालु अधिवेशन अत्य गरेर अध्यादेश ल्याउन अनिवार्य हुनु र फेरि सरकार टिकाउन त्यही अध्यादेश निष्क्रिय पार्नुपर्ने आवश्यकता बोध हुनु सामान्य परिस्थिति होइन ।

दलहरू विभाजन हुनु, एकीकृत हुनु, एउटा सरकारले बहुमत गुमाउनु र अर्को सरकार बन्नु स्वाभाविक घटना हुन् । संविधान र कानूनको विवेकहीन प्रयोग वा दुरुपयोग भएपछि स्वाभाविक भनिएका यस्ता घटनाहरू पनि अस्वाभाविक ठहरिँदा रहेछन् ।

हामीले भोगेको यही अस्वाभाविकता हो । यसले देशको बदलिँदो शासन व्यवस्थामा पनि विकृति र विसङ्गतिको विजारोपण गरेको छ ।

यही परिवेशमा आज सत्तारूढ दलका भए जति सबै सांसदलाई मन्त्री हुनुपरेको छ । मानौँ एकबारको जुनीमा यही नै अन्तिम मौका हो, जीवनको अन्तिम लक्ष्य नै मन्त्री हुन हो र त्यसको अन्तिम अवसर अहिले उपलब्ध छ, यो उम्कियो भने फेरि असम्भव छ । माननीय सदस्य ! यही हो त अन्तिम मौका ?

यसो होइन भने सत्ता गठबन्धनका नेता र सांसदहरूले ‘कुरा त्यसो होइन, हामीमथि झुठो आरोप हो’ भनेर पुष्टि गरून् ।

नेताहरूले सबैभन्दा बढी जप्ने गरेका नाम ‘देश र जनता’ हुन् । देश र जनताको हित नै राजनीतिको मूल उद्देश्य र आदर्श हो भने त्यो प्रमाणित गर्ने बेला आएको छ ।

अहिलेको गठबन्धनका दल र नेताहरू साँच्चै देश र जनताका लागि हुन् भने प्रधानमन्त्रीलाई उनको विवेकले मन्त्रालय बाँडफाँड गर्न दिऊन् ।

प्रधानमन्त्रीले आफ्नो अधिकारसँगै विवेक शिरोपर गरून् । सत्ता घटकका सांसदहरूले दलका नेतालाई उनको विवेकले मन्त्री पठाउन दिऊन्, यसो गर्न सामूहिक आग्रह नै गरून् । नेताले विवेक शिरोपर गरून् । कम्तीमा प्रतिनिधिसभाको निर्वाचनसम्म । र, एउटा असल संस्कृतिको थालनि होओस् ।

यो आग्रहलाई कोरा कल्पना नठानून् । होइन भने जोगी हुन राजनीति गरेको होइन, भोगी हुनका लागि हो भन्ने कथन जबर्जस्त ढङ्गले पुष्टि हुनेछ । जोगी हुन राजनीति गरेको होइन भनेर कसैलाई सम्झाउनु पर्ने होइन ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ३७ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास