यसरी बढ्दैछ झापामा कोरोनाको जोखिम | Khabarhub Khabarhub

यसरी बढ्दैछ झापामा कोरोनाको जोखिम



झापा— झापाको कन्काई नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको गत साता मृत्यु भयो । ३९ वर्षीया ती महिला केही दिनअघि भारतमा रहेका आफन्तकोमा गएर आएकी थिइन् ।

कोरोनाको पहिलो लहर कम भएपछि झापामा संक्रमितको यो पहिलो मृत्यु हो ।

यसलगत्तै झापामै विर्तामोडकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि केही दिनअघि भारत पुगेर आएकी थिइन् । भारतसँग सीमाना जोडिएको पूर्वी जिल्ला झापामा यसरी फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

भारतका विभिन्न राज्यमा कोरोना भाइरसको दोस्रो लहर शुरू भएको छ । यसको प्रभाव पूर्वी नाकामा पनि देखिन थालेको छ । भारतको विहार र पश्चिम बङ्गालसँग जोडिएको झापामा खुला सीमाना भएका कारण पनि आउजाउ नियन्त्रण र व्यवस्थापन सजिलो छैन । काँकडभिट्टा नाकाबाट मात्रै होइन, अन्य थुप्रै ठाउँबाट खुला आवतजावत हुन्छ ।

नाकामा कडाइ

जिल्लामा संक्रमितहरू भेटिन थालेपछि मुख्य नाका काँकडभिट्टाबाट आउजाउमा कडाइ गर्न शुरू गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार हाल नाकाबाट नेपाल आउने र भारत जानेको अभिलेख राख्न थालिएको छ । परिचयपत्र देखाएरमात्र आउजाउको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए ।

यस्तै, कोरोना संक्रमण रोकिएपछि नाकामा बन्द भएको हेल्थ डेस्क फेरि सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाको ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति’ ले हेल्थ डेस्क प्रभावकारीरूपमा सञ्चालन गर्ने र विगतमा रहेका आइसोलेसन तथा क्वारेन्टिनहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

हाल नाकामा सुरक्षाकर्मीसहितको समन्वयमा आउजाउ गर्नेको स्वास्थ्य परीक्षण शुरू गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई ७२ घण्टाभित्रको नेगेटिभ नतिजाको पीसीआर रिपोर्ट पनि अनिवार्य गरिएको छ ।

घर फर्कने बढे

रोजगारीका लागि भारतका विभिन्न ठाउँ पुगेका नेपालीहरू भारतका विभिन्न राज्यमा कोरोना संक्रमण फैलिन थालेसँगै घर फर्कन थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबारमात्र झन्डै दुई हजार नेपालीहरू प्रवेश गरेका छन् ।

नाकामा अभिलेखीकरण भएका मात्र दैनिक २ हजार जनाको हाराहारीमा नेपाल आउने गरेका छन् । अन्य अनौपचारिक मार्गबाट आउनेहरूको संख्या पनि कम छैन । उनीहरूको कुनै अभिलेख रहँदैन ।

यस्तै, झापामा भारतको बिहार र पश्चिम बङ्गालबाट उपचारका लागि नेपाल आउने भारतीयको संख्या पनि उच्च रहने गरेको छ । खासगरी बिहार र बङ्गालका असम, सिक्किम लगायतका ठाउँबाट झापाका आँखा अस्पतालहरूमा भारतीय नागरिकहरू बढी आउने गरेका छन् ।

सभासमारोहमा कडाइ

झापाको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । सीमावर्ती क्षेत्रका नेपालीहरू दैनिक उपभोगका वस्तु खरिद र उपचारका लगायतका कामका लागि दैनिक निकै ठूलो संख्यामा भारत जाने गरेका छन् ।

यस्तै, भारतका सीमावर्ती बस्तीबाट भारतीयहरू पनि नेपाल आउने गरेका छन् । नेपाल र भारत बीच आउजाउ खुला रहेका कारण सीमावर्ती बस्तीमा संक्रमण फैलिने जोखिम बढेको छ ।

जोखिम कम गर्न विर्तामोड नगरपालिकाले ठूला सभा–समारोह र भिडभाड नगर्न आग्रह गरेको छ । यस्तै अन्य स्थानीय तहहरूमा पनि क्वारेन्टिन र आइसोलेसन केन्द्रहरू तयारी अवस्थामा राख्ने क्रम शुरू भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।