यसरी फर्किनेवाला छ मासिएको सप्तपाताल पोखरीको स्वरूप | Khabarhub Khabarhub

यसरी फर्किनेवाला छ मासिएको सप्तपाताल पोखरीको स्वरूप



काठमाडौँ– ललितपुरको लगनखेलबाट सातदोबाटोतर्फ जाँदा करिब ५० मिटर अगाडि बाँयातर्फ अशोक स्तुपसँगै केही जमिन खाली छ । १४ रोपनी क्षेत्रफलको उक्त जमिनमा अहिले आकाशे पानी जमेको छ । जमिन घाँसले ढाकेको छ ।

यो जमिन कुनै समयको सप्तपाताल पोखरी हो जहाँ ललितपुर महानगरका वर्तमान मेयर चिरीबाबु महर्जन र उनका दौँतरीहरू पौडी खेल्थे । उनीहरू स्कुलको विद्यार्थी हुँदा लगनखेलमा भकुन्डो खेल्थे र गर्मीले असिनपसिन भएपछि सप्तपाताल पोखरीमा पौडी खेल्थे ।

अहिले पोखरी छैन । वर्षायाममा छिपछिपे पानी जमे पनि हिउँदमा सुख्खा हुन्छ । स्थानीयवासीहरूका अनुसार ५० वर्षभन्दा बढी भयो सप्तपाताल पोखरी मासिएको । २०२२ सालमा पोखरीको नाममा रहेको जग्गामा ‘नमुना मछिन्द्र’ स्कुल बन्यो । त्यसपछि पोखरीको स्वरूप नै मासियो ।

ललितपुर महानगरले सप्तपाताल पोखरी पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । पोखरी निर्माणका लागि विज्ञ टोलीले छलफल गरिरहेको स्थानीयवासी ७७ वर्षीय पूर्ण स्थापितले बताए । उनका अनुसार पोखरी, भवन निर्माण विभाग, वन मन्त्रालय लगायतका विज्ञहरूसँग छलफल भइरहेको छ ।

यो पोखरी निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । महानगरका प्रवक्ता राजु मर्हजनका अनुसार महानगरले एक साताभित्र रेड बुक प्रकाशन गर्नेछ । त्यसपछि पोखरी निर्माणको काम अघि बढ्ने छ ।

सुरुमा पोखरीको क्षेत्र संरक्षण गरिनेछ । चारैतिर पर्खाल लगाइनेछ र पोखरी पुनर्निर्माणको काम हुनेछ । अदालतको निर्णयअनुसार पोखरीको उत्तरतर्फ पर्खाल लगाउने र सुरक्षित बनाउने महर्जनले बताए । दक्षिण र पश्चिमपट्टि कमल फुल्ने पोखरी पनि पुनर्निर्माण र संरक्षणका लागि नेपाली सेनासँग सम्झौता भएको र बजेट पनि छुट्याएको उनले भने ।

दुई वटा पोखरीको क्षेत्र नेपाली सेनाको गणभित्र परेको छ । ती पोखरी पनि ललितपुर महानगरले संरक्षण गर्ने भएको छ ।

सप्तपाताल र ललितपुरका जात्रा

सप्तपाताल त्यही पोखरी हो जहाँबाट ललितपुरका ढुङ्गेधाराहरूमा पानी पठाइन्थ्यो । टीकाभैरवबाट ल्याइएको राजकुलोबाट पानी जम्मा हुने सप्तपाताल पोखरी भूमिगत जलभण्डारबाट पनि पुनर्भरण हुन्थ्यो ।
सोही प्रणालीले नजिकका ढुङ्गेधाराहरूमा पानी प्रवाह हुन्थ्यो ।

अशोक स्तुपाछेउमै छ यो पोखरी । स्थानीयवासीका अनुसार त्यही ठाउँमा सातवटा अरू पोखरी पनि थिए । लिच्छविकालीन मानिन्छन् यी पोखरी । यसबाट उत्तरी ललितपुरका धेरै ढुङ्गेधारा र इनारमा पानी प्रवाह हुन्थ्यो ।

सप्तपातालसँग अनेक साँस्कृतिक परम्परा जोडिएका छन् । यही पोखरीमा मीननाथको जात्रा हुन्छ । जात्राका लागि पानी चाहिन्छ । यही मिचिएकै ठाउँको एक छेउमा पानी जमाएर जात्रा सम्पन्न गर्छन् स्थानीयवासी तथा गुठीयारहरू ।

दामोदर न्यौपानेद्वारा लिखित ‘सम्पदा लडाइँ’ पुस्तकमा उल्लेख भएअनुसार मीननाथको जात्रामा एक जोर भँगेरा उडाइन्छ र पानीमा एकजोर माछा छाडिन्छ । त्यही माछा छाड्न सानो खाल्डोमा पानी जमाउँछन् गुठियारहरू ।

रातो मछेन्द्रनाथको रथ लगनखेल आएपछि पनि पुजारीले पोखरीमा माछा छाड्ने र भँगेरा उडाउने गर्छन् ।

सप्तपाताल जोगाउन १६ वर्ष मुद्दा

ललितपुर महानगरपालिका वडा नम्बर ५ मा कित्ता नम्बर १२६ मा २ सय रोपनी ५ आना सार्वजनिक जग्गा थियो ।
२०२२ सालमा ‘नमुना मछेन्द्र’ स्कुल बन्यो । २०३४ सालमा पोखरीको केही भाग स्कुलका नाममा दर्ता भयो । शिक्षण संस्था समिति ललितपुरले कित्ता नम्बर १२६ बाट कित्ताकाट गरेर १४ रोपनी १० आना २ दाम जग्गा स्कुललाई दर्ता गरिदियो ।

फेरि २०६० सालमा त्यही जग्गामा व्यापारिक भवन बनाउन तत्कालीन ललितपुर उपमहानगरपालिकाबाट नक्सा पास भयो । २०६१ सालमा विद्यालयले व्यापारिक भवन शिलान्यास गर्‍यो ।

सोही वर्ष शुरू भयो स्थानीयवासी पूर्ण स्थापितको सप्तपाताल संरक्षणको लडाइँ । शुरूमा उनले पुरातत्व विभागमा उजुरी दिए । पोखरी बचाउन सम्पदा प्रेमीहरू र लगनखेल वातावरण सुधार संस्था पुरातत्व विभाग हुँदै सर्वोच्च अदालत पुगे ।

पूर्ण स्थापितले पोखरीको जग्गा पोखरीकै नाममा गराउन १६ वर्ष मुद्दा लडे । पटक पटक बहस रोकियो तर उनका पाइला रोकिएनन् । हार्छु कि भन्ने सोच कहिल्यै आएन । मुद्दा जितेर पोखरी बनाएरै छोड्ने अडानमा लागि परे ।

उनी लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष हुन् ।

प्रश्न गर्नेहरू धेरै थिए । यहाँ पोखरी थियो र ? अलिकति पानी जम्मा हुँदैमा पोखरी हुन्छ ? यस्ता प्रश्न गर्नेहरूलाई सप्तपाताल पोखरी बनाएर देखाउने उनको प्रण छ ।

खबरहबसँग आत्मविश्वासका साथ पूर्णले भने, ‘धेरैले प्रश्न गर्छन् यहाँ पोखरी थियो र ? पोखरीको महत्व हामीले बुझेका छौँ, निरन्तर १६ वर्षसम्म मुद्दा लडेको हुँ, पोखरी बनाएरै मर्छु ।’

२०६१ मा ‘सप्तपाताल पोखरीको जग्गा पोखरीकै नाममा हुनुपर्छ’ भन्ने जिकिरसहित उनले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यसको १६ वर्षपछि २०७६ साल असारमा माग अनुसारकै फैसला भयो ।

न्यायधीशद्वय दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले विद्यालय भवन र टहरासहितका संरचना हटाएर पोखरी पुरानै अवस्थामा फर्काउन आदेश दियो । यससँगै संरचना भत्काउन महानगरले स्कुललाई पत्रचार पनि गरेको छ ।

यस्तो हुनेछ सप्तपाताल पोखरी

सप्तपाताल पोखरी र अन्य दुइटा पोखरी पुनर्निर्माण गर्न ललितपुर महानगरले नगरसभाबाट ५ करोड रूपैयाँ छुट्याएको छ ।

‘पोखरी निर्माणको काम चाँडै शुरू हुन्छ,’ महानगरका मेयर चिरीबाबु महर्जनले खबरहबसँग भने, ‘ऐतिहासिक र धार्मिक महत्वको सप्तपाताल पोखरी पुरानै स्वरूपमा झल्किनेछ, जनताले हेर्न पाउनेछन् ।’ अब बन्ने सप्तपाताल पोखरीमा चारैतिर फुटपाथ हुनेछ ।

पानी भर्ने कामका लागि सुनाकोठीबाट लगनखेलसम्म राजकुलो ल्याउन यही वर्ष डीपीआर हुनेछ । काम पूरा भएपछि पोखरीमा बाह्रै महिना पानी हुनेछ, केही ढुङ्गेधाराहरूमा पनि पानी जानेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ३३ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदन (पूर्णपाठ )

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ