घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन | Khabarhub Khabarhub

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- घरबास (होमस्टे) सञ्चालन भएपछि बागलुङका महिलाहरूको जीवनस्तरमा परिवर्तन आएको छ ।

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् ।

घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन् ।

बागलुङमा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेका छन् ।

शुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरु आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन् ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले जानकारी दिइन् ।

‘दुई वर्ष अघिबाट घरबास सञ्चालनमा ल्याए पनि एक वर्ष अघिबाट मात्रै पाहुना आउन थालेका छन्’, श्रीसले भनिन्, ‘शुरुमा निकै अन्योलपूर्ण अवस्था थियो, अहिले हामीमा समेत परिवर्तन ल्याउन थालेको छ, घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुङ्गाको प्रचार प्रसार भएको छ ।’

बेलढुङ्गामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाहरुको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताए ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन् । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन् ।

यहाँका महिलाहरुले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासका सञ्चालक अप्सरा थापाले बताइन् ।

विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो ।

त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाहरुको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन् ।

‘गाउँमा घरबास सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरुको दैनिकी परिवर्तन भएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र लवाइखवाइसमेत सुधारिएको छ’, गलकोट नगरपालिका–२ स्थित तोरीखोला सामुदायिक घरबासका सञ्चालक सीता पुनले भनिन्, ‘तीन वर्ष अघिदेखि सञ्चालनमा आएको घरबासमा कोरोनापछि पुनः पाहुना आउन थालेका छन्, बिस्तारै व्यावसायिकरूपमा लाग्दैछौँ, धेरै पाहुना आउँदा सबै गाउँका महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकताको भावनासमेत जाग्दै आएको छ ।’

पुनका अनुसार शुरुमा बोल्नसमेत हिचकिचाउने बागलुङका महिलाहरुमा घरबास चलाउन थालेपछि आमूल परिवर्तन आउन थालेको छ ।

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन् ।

शुरुमा बोल्नसमेत लजाउने धम्जाका महिलाहरु अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन थालिसकेका छन् ।

दुई वर्षअघिदेखि सञ्चालनमा आएको बेलढुङ्गा सामुदायिक घरबास १२ घरमा सञ्चालित छ । एकै रातमा ५० भन्दा बढी पाहुना राख्ने क्षमता घरबाससँग रहेको छ ।

घरबासमा आलुका विभिन्न परिकार, कोदोको सेल, कोदोको ढिँडो, लोकल खसी बोका, लोकल कुखुरा, सिन्की, भट्ट, मकैलगायतका घरबासमा मुख्य परिकार रहेको घरबास व्यवस्थापन समितिका सचिव गोपाल श्रीसले बताए ।

घरबास सञ्चालकहरुले पाहुनालाई सालैजो, यानीमाया, ठाडो भाकालगायतका विभिन्न गीत तथा नाचले स्वागतसमेत गर्दै आएका छन् ।

घरबास नजिकै म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै घरबासमा आउने गरेका छन् । – रासस ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०२ बजे

आजका समाचार : पक्रेर देखाउन सरकारलाई रविको चुनौती, दुर्गालाई छाडेन सर्वोच्चले, लेबनानमा इजरायलको भयंकर आक्रमण

युवाबिना मुलुकले रुपान्तरण गर्न सक्दैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा

‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा

रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सांसद सूर्यबहादुर

धरानका जनप्रतिनिधि काठमाडौंमा, सडक, खानेपानीलगायत विषयमा ध्यानाकर्षण 

काठमाडौं– धरानसंग सम्बन्धित भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र

कुलोमा डुबेर एक बालिकाको मृत्यु

मलङ्गवा– सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर