दिनदिनै जान्छ बिजुली | Khabarhub Khabarhub

दिनदिनै जान्छ बिजुली

पूर्वप्रमुख घिसिङ भन्छन् : अहिले लोडसेडिङ हुनुपर्ने कारण छैन



काठमाडौँ– दैनिक १८ घण्टासम्म बिजुली कटौती हुने गरेकोमा करिब चार वर्षयता समस्या समाधान भएको थियो ।

खासगरी विद्युत प्राधिकरणमा कुलमान घिसिङ प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेपछि लोडसेडिङ अन्त्य भएको थियो ।

केही दिनयता दैनिक कुनै न कुनै समयमा बिजुली बन्द हुन थालेको छ । यसले फेरि लोडसेडिङ हुन थालेको आशंका बढाएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बिजुली आपूर्तिमा कटौती हुने जानकारी गराउन थालेपछि त्यस्तो शंका भएको हो ।

खासगरी काठमाडौँ उपत्यकामा कुनै न कुनै क्षेत्रमा दैनिक केही घण्टा बिजुली बन्द हुने गरेको छ । कतिपयले कुलमान घिसिङको बहिर्गमनलाई बिजुली कटौतिसँग जोडेर हेर्न थालेका छन् ।

आशंका र आलोचना बढ्न थालेपछि विद्युत प्राधिकरणले सूचना जारी गरेर लोड सेडिङ गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्ने प्रयास गरेको छ । विद्युत आपूर्तिमा हुने अनियमितता भने उस्तै छ ।

लोडसेडिङ अन्त्य गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङले भने अहिले लोडसेडिङ हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । आपूर्तिमा पर्ने लोडको उचित व्यवस्थापन गर्न सके कटौती नहुने उनको भनाइ छ ।

अहिले देखिएको बिजुली कटौतिका विषयमा उनले भने, ‘तलसम्म चेन अफ कमाण्ड व्यवस्थापन पनि गर्नुपर्छ । लोडको व्यवस्थापन पनि गर्नुपर्छ । पावर सप्लाइले मात्रै लोडसेडिङ नहुने भन्ने होइन ।’

घिसिङका अनुसार लोडसेडिङ नहुन ट्रान्समिसनको पनि उचित प्रबन्ध हुनुपर्छ । उनले भने, ‘वितरणका क्रममा सबस्टेसनहरूमा लोड छ भने हेर्नुपर्‍यो । आज बेलुका ८ बजे बत्ति गयो भने भोलि बनाउँछु भन्दा त रातभरि गयो नि ! अहिलेको समस्या यही हो ।’

विद्युत प्राधिकरणले पनि अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिना भन्छन्, ‘हामीले विज्ञप्ति पनि जारी गरेका छौँ, लोडसेडिङ भएको होइन । कुनै स्थानमा मर्मतका लागि केही समय बिजुली काट्नुपरेको हो । अहिले डिमान्ड र सप्लाई बराबर छ ।’

हाल पिक आवरमा दैनिक १ हजार ४७० मेगावाट बिजुली माग रहेको तिम्सिनाले बताए । मागअनुसार आपूर्ति भइरहेको उनको भनाइ छ । स्वदेशी उत्पादन र भारतबाट भएको आयातले लोड व्यवस्थापन भइरहेको छ ।

तिम्सिनाले भने, ‘माग १४७० मेगावाट पुगेको थियो । भारतबाट समेत ल्याएर आपूर्ति गरेका छौँ । कुलेखानी पूर्ण क्षमतामा चलाएर भए पनि माग पूरा गरेका छौँ । अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।’

घिसिङ व्यवस्थापकीय कमजोरीका कारण बिजुली आपूर्तिमा समस्या देखिएको बताउँछन् । उनका अनुसार बिजुली काटिएका विषयमा आम सर्वसाधारणको गुनासो तुरुन्तै सम्बोधन हुने विश्वास बढाउनु पर्छ ।

उनले भने, ‘पब्लिकको गुनासो तत्कालै सम्बोधन हुनुपर्छ । कर्मचारीहरूलाई उत्प्रेरणा पनि हुनुपर्‍यो । राइट म्यान इन राइट प्लेस हुनुपर्‍यो । भताभुङ्ग तरिकाले कर्मचारीको सरुवा गर्दा कहाँ कुन ठाउँ भन्ने पनि कर्मचारीलाई थाहा नहुन सक्छ ।’

घिसिङका अनुसार प्राधिकरणको उच्च नेतृत्वमा बस्नेलाई देशका सबै आयोजनाको जानकारी हुनुपर्छ । सप्लाई साइटमा कुनै पावर प्लान्टहरू बिग्रन थालेको छ भने पहिला नै थाहा हुनुपर्छ । बिजुली चोरी पनि नियन्त्रण हुनुपर्छ ।

उनले भने, ‘अहिले धेरै चोरी हुने समय हो । चोरी भएको बिजुली सित्तैमा पाएपछि एकै ठाउँमा धेरै पनि चलाउँछन् । यस्तो लोड बढी हुँदा भार थेग्न नसकेर लाइन काटिने सम्भावना हुन्छ ।’

अहिलेको लोड सेडिङ देखिनुमा चुहावट पनि कारण हुनसक्ने घिसिङको अनुमान छ । व्यवस्थापन पनि चुस्त हुनुपर्ने उनी बताउँछन् । उनले भने, ‘व्यवस्थापन राम्रो भएन भने पनि लोडसेडिङ बढ्छ । भौतिक पूर्वाधार सुधार नगर्दा र सप्लाई राम्रो गर्न नसक्दा लोडसेडिङ बढ्छ ।’

लोड व्यवस्थापनका लागि प्राधिकरणको नेतृत्वले पहल लिनुपर्ने घिसिङको भनाइ छ । उनी भन्छन्, ‘टप म्यानेजमेन्टले जुनसुकै ठाउँको पनि तत्काल रेस्पोन्स हुनुपर्छ । कुनै ठाउँमा बत्ति गयो भन्ने कुरा सम्बन्धित ठाउँमा पुग्न दुईतीन घण्टा लाग्यो भने त काम भएन । समस्या समाधान गर्ने नै टप म्यानेजमेन्टले हो ।’

बिजुलीको खपत घटाउन पनि व्यवस्थापन राम्रो हुनुपर्छ । लोडसेडिङ हुने भयो भन्ने परेपछि सबैले पावर व्याकअपको व्यवस्था गर्न थाल्छन् । यसले लोड थपिन्छ । घिसिङका अनुसार लोड सेडिङ हुँदैन भनेर उपभोक्तालाई विश्वास दिलाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ३२ बजे

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने