झन् जटिल बन्दै अपहरणका घटना | Khabarhub Khabarhub

झन् जटिल बन्दै अपहरणका घटना

साढे ३ वर्षमा ३८९ वटा मुद्दा दर्ता



काठमाडौँ- यही फागुन १० गते मध्यराति आफ्नै घरबाट बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५, सोहडवाका दम्पतीको स्थिति अझै पत्तो लागेको छैन । ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी हराएको सूचना पाएलगत्तै अपहरणमा परेको आशंका गरी प्रहरीले खोजी जारी राखेको छ ।

घटनाको अनुसन्धानमा जिल्लाका प्रहरी प्रमुख (एसपी) देखि प्रदेश–२ का प्रहरी प्रमुख (डीआईजी) सम्म खटिएका छन् । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंह सूक्ष्मरूपमा घटनाको अनुसन्धान भइरहेको बताउँछन् ।

खबरहबसँग कुरा गर्दै डीआईजी सिंहले भने, ‘हामीले यो घटनालाई गम्भीरताका साथ लिएका छौँ, केही व्यक्तिलाई हिरासतमा लिएका छौँ, थुपै्र व्यक्तिसँग सोधपुछ पनि गरिरहेका छौँ ।’

प्रहरीले दम्पतीको अपहरण नै भएको शंका गरेको छ ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । उनी लोहारपट्टी नगरपालिकाको एउटा मोही जग्गामा साक्षी बसेका थिए । साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आशंका गरिए पनि अहिलेसम्म वास्तविकता बाहिरिएको छैन ।

यसअघि यही फागुन ८ गते दिउँसो १ बजे चकलेट किन्न पसल गएका धनुषाको नगराइन–६, लगमाका ६ वर्षीय बालक चन्दन दास अपहरणमा परे । सोही साँझ ५ बजे अपहरणकारीले चन्दनकी आमाको मोबाइलमा फोन गरेर १ करोड रुपैयाँ फिरौती मागेपछि अपहरणको घटना बाहिर आयो ।

घटनाको खबर पाएलगत्तै प्रदेश–२ प्रहरी कार्यालय जनकपुरको विशेष टोली तीन घण्टामा बालकको सकुशल उद्धार गर्न सफल भयो । प्रहरीले अपरहणको आरोपमा बालककै मामा २० वर्षीय रामरतन भनिने लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गर्‍यो ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआइजी सिंहका अनुसार लक्ष्मेश्वरले नाबालक भान्जा चन्दनलाई पसलबाटै बाइकमा घुमाइदिन्छु भन्दै फकाएर कब्जामा राखी फिरौती रकम मागेको प्रहरीले पत्ता लगायो ।

गत पुस १९ गते काठमाडौँको गौशलास्थित एक होटलमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि झियाङजिङ चिनियाँ नागरिकबाटै अपहरणमा परे । प्रहरीले ५ दिनपछि सिन्धुपाल्चोकबाट उनीहरूलाई सकुशल उद्धार गर्‍यो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा २ चिनियाँ र २ नेपाली नागरिक गरी ४ जनालाई पक्राउ गर्‍यो ।

महोत्तरी, धनुषा र काठमाडौँमा भएका पछिल्ला यी तीन घटना प्रतिनिधिमूलक हुन् । नेपालमा अपहरणका घटना पटकपटक भइरहेका छन् । प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मा प्रहरीले देशभरबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा ५६ वटा मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार उल्लिखित मुद्दा दर्ताका घटनामा प्रहरीले ६ जना महिलासहित ६६ जनालाई पक्राउ गरेको छ ।

साढे ३ वर्षका घटनाको अभिलेख

स्रोत : प्रहरी प्रधान कार्यालय

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ यता साढे ३ वर्षमा प्रहरीले अपहरण र शरीर बन्धकमा देशभरमा ३८९ वटा मुद्दा चलाएको छ । यी घटनामा ५९९ जनालाई पक्राउ गरेको छ ।

मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरको दफा २१३ बमोजिम अपहरणकारीलाई ७ वर्ष देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ ।

समस्या जटिल
प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार कुनै व्यक्तिलाई अपहरण गर्ने र फिरौती माग्ने, फिरौती नदिए वा दिन ढिला गरे अपहृतको हत्या गर्ने प्रवृत्ति सबैभन्दा जटिल समस्या हो ।

प्रहरीका प्रवक्ता कुँवर भन्छन्, ‘केही वर्षअघि भन्दा अपहरणका घटनामा कमी आए पनि पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन । अहिले अपहरणकारीले अपहरणमा फरक फरक प्रवृत्ति अपनाउन थालेका छन् । व्यक्ति अपरहण गर्ने र मोटो रकम माग्ने काम भइरहेको छ ।’

अपहरणका घटनामा प्रहरी गम्भीर रहेको र सक्रियता बढाएकाले यस्ता घटनामा कम हुँदै गएको एसएसपी कुँवरको भनाइ छ ।

विज्ञहरूका अनुसार अपहरणका भइरहनु घटना चिन्ताको विषय हो । पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘अपहरणमा ठूला आपराधिक गिरोहदेखि टोले गुण्डाहरू र पीडितकै आफन्तको समेत संलग्नता देखिन थालेको छ । पैसा कमाउने महत्त्वाकांक्षा पूरा गर्न आपराधिक गिरोहले अपहरणलाई माध्यम बनाएका छन् । यो ठूलो चुनैती हो ।’

उनका अनुसार अपहरणको समस्या भारतसँगको सीमावर्ती क्षेत्रमा मात्र होइन, अन्यत्र पनि देखिएको छ । नियन्त्रणका लागि प्रहरी सक्रियता बढाउनुका साथै नागरिक पनि सचेत बन्नुपर्ने अधिकारीको भनाइ छ ।

अपहरणको घटना प्रहरीमा नपुर्‍याई मिलाउनु अर्को समस्या हो । अपराधशास्त्री माधव आचार्यका अनुसार कसैले फिरौतीका लागि व्यक्ति अपरहण गर्‍यो भने पीडितले प्रहरीलाई जानकारी नगराई व्यक्तिलाई फिरौती दिएर उद्धार गर्ने गरेको पाइन्छ ।

उनी भन्छन्, ‘अपहरणको उजुरी गर्दा आफ्नो मान्छेलाई अपहरणकारीले हत्या गरिदिने त्रासले पीडितहरू प्रहरीसमक्ष जान डराउने गरेका छन् । यसले पनि समस्या थपेको छ ।’

यसबाहेक भारतसँगको खुला सीमानाका कारणले अपहरणकारीहलाई सहज हुने गरेको छ । अपहरणकारी सीमापारि गएर बस्दा प्रहरीलाई पनि समस्या गर्ने परेको छ । आचार्य भन्छन्, ‘त्यसैले अपहरणका धेरै घटना नेपाल–भारत सीमा क्षेत्रमै हुने गरेको देखिन्छ ।’

अपहरणका घटना नियन्त्रणका लागि प्रहरीमा समयमै सूचना पुर्‍याउनु महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ४५ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल