खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’ « Khabarhub

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै उनी परीक्षामा सहभागी भएका हुन् ।

बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा साधारण विद्यार्थी सरह नै याम भूइँमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन् । एउटै कक्षा कोठाको अगाडि एक छेउमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका यस्ता विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था गरिएको शिक्षक विष्णु थापा बताउँछन् ।

उनका अनुसार यामसँगै यस विद्यालयबाट १८ विद्यार्थी परीक्षामा सम्मिलित छन् । शिक्षक थापा भन्छन्, “प्रश्न अस्पष्ट भए मात्रै इसाराले शिक्षकलाई बोलाउने, खुट्टैले सङ्केत गरेर प्रश्न देखाउने र अलि ढिलो लेखेपनि निर्धारित समयमै सबै प्रश्नको उत्तर उनी लेख्न भ्याउँछन् ।”

यही साउन २० गतदेखि शुरु भएको कक्षा ११ को परीक्षामा निर्धक्कका साथ परीक्षामा सामेल भएका यामले खुट्टाकै लेखाइले नै माध्यमिक शिक्षा (एसइई) परीक्षा उत्र्तीण गरी अहिले शिक्षा शास्त्र सङ्कायमा नेपाली विषय लिएर कक्षा ११ को परीक्षा दिइरहेका हुन् ।

शारीरिक रुपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्छन् । २४ वर्ष लागेका यामको दुबै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । फरक क्षमता भए पनि पढ्ने क्षमता भने अरु विद्यार्थीभन्दा बढी भएकैले खुट्टाले लेखेरै ठूलो मान्छे बन्ने सपना उसमा छ ।

कक्षाकोठामा शिक्षकले पढाउँदा एकै याम पटकमा सहजै बुझ्ने गर्छन्, नबुझेका केही कुरामा शिक्षकलाई इसारा गरेर बोलाउने वा खुट्टाले कापीमा लेखेर देखाउने गर्छन् भने बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको बालज्योति प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउँछन् ।

“विद्यालय बिदाको समयमा घरमा बसेर पढ्दै गर्दा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोध्ने र नयाँ कुरा सिक्न खोज्ने उनको स्वभाव छ” उनले भने ।

विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफूले तयार पारेको कविता, गजल र कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना गर्ने र गाउँका समाचार बनाउने कार्यमा याम व्यस्त देखिन्छन् ।

गर्भावस्थामै जण्डिस (कमलपत्ति) रोगले ग्रस्त उनले औषधोपचारको अभावमा जीवनभर अर्काको साहारामा बाँच्नु परेको छ । दुबै हात चलाउन नमिले पनि फुर्सदको समयमा उसले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया बताउँछन् । उनी भन्छन्, “याम विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँग खेल्न पनि नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छ । आफूले गर्न सक्ने र मिल्ने जति काम अरुलाई गर्न नदिने यो उसको सानैदेखिको बानी हो” ।

तीन छोरा र एक छोरीमध्ये माइलो यामको शारीरिक अवस्थाले शुरुमा मानबहादुर चिन्तित अहिले उसको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी छन् ।

जन्मदै शारीरिकरुपमा कमजोर याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्नसक्ने भएका थिए । गृहकार्य सकिएपछि घरमै ल्यापटपमा कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक सञ्जालमा आफ्ना लेख रचना र तस्बिर, पठाउने, सन्देश पठाएर कुराकानी गर्ने युट्युब हेर्ने, फेसबुक चलाउने, म्यासेन्जरमा सञ्चो बिसन्चो लेखेर कुरा गर्ने, रेडियो सुन्ने र नयाँ व्यक्तिसँग परिचित हुन मन पराउने काम गर्दै आएको यामका दाजु पुनारामले बताए ।

फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । उनले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना साँचेका छन् । रासस

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ४ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्