कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै | Khabarhub Khabarhub

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी ।

विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन ।

भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गर्नुभएको थियो ।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । “अहिले त विद्यालय गयो/आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन”, इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, “नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।”

त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन ।

पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन् ।

नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराई बताउँछन् । “के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछौँ”, भट्टराईले भने, “पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।”

नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ ।

केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ ।

सामान्यतया हरेक पाठ्यक्रम १०/१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको छ । नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठ्यक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत बेच्न नसकेको जिल्ला पुस्तकालय सङ्घका अध्यक्ष एवं तेह्रथम पुस्तक पसल इलामका सञ्चालक टङ्क धमलाको भनाइ छ ।

“धेरै विद्यार्थी त के गर्ने भन्दै सल्लाह माग्छन्, जानकारी दिएपछि कतिले किन्छन्, कतिले नकिनी फर्कन्छन्”, धमलाले भने । नयाँ पाठ्यक्रम लागू भएको खण्डमा भने पाठ्यपुस्तक पाउन सहज छ तर सर्वोच्चले पुरानो पाठ्यक्रम लागू गर्न भन्दै फैसला गरेमा भने पुनः समस्या आउने अध्यक्ष धमलाको भनाइ छ । पुरानो पाठ्यवस्तु पर्याप्त नभएकाले यो शैक्षिक सत्रभर नै पढ्न नपाउने धमलाको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : १७ बजे

माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले माइतीघर मण्डलामा विरोध

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने