वायु प्रदूषण नियन्त्रणमा विज्ञहरुको जोड | Khabarhub Khabarhub

वायु प्रदूषण नियन्त्रणमा विज्ञहरुको जोड


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विज्ञहरुले कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको बताएका छन् ।

गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताएका छन् ।  ।

कार्यक्रममा सहभागी श्वासप्रश्वासम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताए ।

वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिए ।

वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उनले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गरे ।

धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए ।

वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिए ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए ।  शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उनले जोड दिए ।

वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशकअघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरी वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताए ।

सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्नसके वायु प्रदूषण घट्दै जाने उनको भनाइ थियो । इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशकअघि २४ प्रतिशतले सुधार आएको तुलाधरणले स्मरण गरे ।

वायु प्रदूषण कम गर्नका लागि काठमाडौँ उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गरे । तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उनले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उनको भनाइ थियो ।

उपत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उनले सरकारसँग माग गरे ।

सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो । सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उनले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताए ।

पूर्वप्रशासक डा सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गरिन ।

देशभरका स्वास्थ्य संस्थामा नै बढीजसो फोहर पदार्थ रहेको र त्यसको उचित ढङ्गले बिर्सजन गर्न नसक्दा जोखिम बढेको उनको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि ठूलो समस्या भएको बताए ।

यति ठूलो समस्याबारे सरकार मौन रहन नहुने उनले बताए । मानवलाई केन्द्रमा राखेर मात्र हरेक गतिविधि अगाडि बढाउनुपर्नेमा जोशीले जोड दिए ।

वायु प्रदूषणबारे समयमै सबै सचेत नभए आपतकालीन अवस्था आइलाग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १० : ४८ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको