नयाँ सरकार निर्माण विपक्षीलाई फलामको चिउरा | Khabarhub Khabarhub

नयाँ सरकार निर्माण विपक्षीलाई फलामको चिउरा



काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल शुरू गरेको छ । त्यसैअनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटे ।

नयाँ सरकार गठनका लागि जसपा सकारात्मक रहेको पौडेलको भनाइ छ । ठाकुरसँगको भेटपछि पौडेलले कांग्रेसले सकभर आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको बताएका छन् ।

ओल सरकार विस्थापनलाई पहिलो एजेन्डा बनाएर अन्य दलका नेताहरूसँग छलफल गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको पौडेलको भनाइ छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका भए पनि उनले समीकरण निर्माणलाई महत्त्व दिएका छैनन् ।

अनिर्णित जसपा

कांग्रेसले कुनै ठोस निर्णय गर्न नसकेको विश्लेषण भइरहेका बेला आफ्नै नेतृत्वमा सरकार गठन गर्ने संस्थागत निर्णयले समेत तत्काल कुनै राजनीतिक परिवर्तन हुने सम्भावना देखिएको छैन । सरकारका विषयमा जसपा निर्णायक अवस्थामा देखिएको छ तर उसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेका जसपा नेताहरूले नै नेपाली कांग्रेस र माओवादी केन्द्रसँग समेत छलफल गरिरहेका छन् । जसपा अध्यक्ष ठाकुर निकट मानिने नेता लक्ष्मणलाल कर्णले आफ्नो दलको पुरानै माग रहेको बताए ।

उनले रेशम चौधरी र मधेश आन्दोलनका क्रममा मुद्दा चलाएर जेल राखिएका नेता र कार्यकर्ताहरूको रिहाइसँगै संविधान संशोधनको माग सम्बोधन हुने अवस्थामा सहयोग गर्ने नीति रहेको बताए ।

उनले भने, ‘माग सम्बोधन गर्नेलाई हाम्रो सहयोग हुन्छ, अहिलेसम्म प्रधानमन्त्रीले माग पूरा गर्ने कुरा गरिरहनुभएको छ तर पूरा हुने अवस्थामा पुगिसकेको छैन ।’

एमाले र सरकारसँग वार्ताका लागि जसपा अध्यक्षले बनाएको टोलीका सदस्य रहेका कर्णले आफ्नो दलको माग सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक देखिएको बताएका छन् । उनले भने, ‘होमवर्क भइरहेको छ । काम नभई हामी कसैलाई पनि सहयोग गर्ने अवस्थामा छैनौँ ।’

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको र माओवादी केन्द्रले समेत नयाँ सरकार गठनका लागि पहल गरिरहेको अवस्थामा जसपाले गर्ने निर्णयले सरकारको भावी रेखा तयार हुनेछ ।

कर्णले आफ्नो दलका कारण नयाँ सरकार गठनमा ढिलाइ नभएको बरु माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा अलमल भएको बताए ।

उनले भने, ‘प्रचण्डले समर्थन दिइरहने अनि जसपाले निर्णय नगर्दा नयाँ सरकार गठन भएन भन्नु गलत हो । अहिलेको अवस्थामा साँचो माओवादी केन्द्रसँग छ, साँचो खोलेपछि खेलाडीहरू मैदान प्रवेश गर्छन् ।’

दुई धारले असहज

सरकारका विषयमा जसपामा दुई धार छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने पक्षमा छैनन् । उनीहरू दुवै जना नयाँ सरकार गठनका पक्षमा छन् ।

अध्यक्ष ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू माग सम्बोधन गर्न सहमत भए ओलीलाई नै सघाउने पक्षमा छन् ।

जसपा अनिर्णित हुनुको मुख्य कारण पार्टीमा विद्यमान दुई धार र माग सम्बोधनमा कतैबाट पनि भरपर्दो अवस्था नहुनु नै हो पार्टीकै केही नेताहरू बताउँछन् ।

आलटाल गर्दै कांग्रेस 

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि कांग्रेसले देखिने गरी ठोस कदम चालेको छैन । वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरलाई भेट्नुबाहेक अन्य गतिविधि भएको देखिएको छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले राजीनामा दिने विश्वास लिएको बताए । उनले भने, ‘हामीले गरेको निर्णयअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

नयाँ सरकार गठनका लागि जसपाले एक ढिक्का भएर निर्णय गर्ने पनि शर्माको विश्वास छ । उनले भने, ‘हामीले जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भनेर सर्वसम्मतरूपमा भन्यौँ त्यसै गरी जसपाले पनि सर्वसम्मत निर्णय गरोस् भन्ने हाम्रो अपेक्षा छ । जसपाले निर्णय गरेपछि हामीले थप कदम चाल्ने अवस्था बन्छ ।’

अलमलमा माओवादी

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेको भए पनि फिर्ता लिइसकेको छैन । प्रधानमन्त्री ओलीले नै समर्थन फिर्ता लिन चुनौती दिइसकेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णयपछि राजनीतिले कोल्टे फेरेको बताएका थिए तर उनको समेत कुनै ठोस पहल देखिएको छैन ।

यस्तो छ अंकगणित

प्रतिनिधि सभाका कुल २७५ सांसदमध्ये सरकार गठनका लागि कम्तीमा १३८ जना आवश्यक पर्छ । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका १२१ सांसद छन् । सरकार जोगाइराख्न एमालेलाई १७ जना सांसद अपुग हुन्छ । प्रतिनिधिसभामा ३४ जना सांसद रहेको जसपासँग मतदानमा सहभागी हुन सक्ने ३२ जना छन् ।

कैलाली हत्याकाण्डको योजनाकारको अभियोगमा जेलमा रहेका सांसद रेशम चौधरी र अर्का सांसद हरिनारायण रौनियार निलम्बनमा छन् । कांग्रेसका ६३ जना सांसदहरू रहे पनि अफ्ताव आलम जेलमा रहेका र विजयकुमार गच्छदार निलम्बनमा परेकाले ६१ जना मात्रै छन् ।

अहिलेको सांसद संख्याले कांग्रेसले सरकारविरुद्ध एक्लै अविश्वासको प्रस्ताव समेत दर्ता गराउन सक्दैन । कुनै पनि विपक्षी दलले ठोस निर्णय गर्न नसकेकाले नयाँ सरकार गठन विपक्षीका लागि फलामको चिउरा भएको छ ।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : ०५ बजे

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक