द्रष्टा र दृश्य : अद्वैत अर्थात् निर्विकल्प समाधि | Khabarhub Khabarhub

द्रष्टा र दृश्य : अद्वैत अर्थात् निर्विकल्प समाधि


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

साधनामा अघि बढेका मित्रहरु अन्तर्यात्राका क्रममा भित्र थोरै मात्र हलचल पैदा हुँदा पनि म अब दिग्भ्रमित पो भए कि भनेर हड्बडाउनुहुँदो रहेछ । भित्र चमत्कार घटित हुँदै जाँदा वा सकारात्मक प्रगति भइरहेका बेला पनि भित्र हुने घटनाले म कतै पागल बन्ने त होइन भन्नेसम्मका नकारात्मक भाव बोक्नुहुँदोरहेछ ।

मित्रहरु साधनामा कत्ति पनि नहड्बडाउनुहोला । भित्र घट्ने घटनाहरुले नै तपाईंहरुलाई ‘परम ब्रह्म’मा र ‘गेय’मा पुर्‍याउने हो । भित्र हुने अनेकानेक घटनाहरुबाटै साधक अन्ततः परम् ब्रह्ममा उपलब्ध हुने हो । साधनामा अघि बढ्दै गरेका साधकहरुलाई ध्यानमा अघि बढ्न सकारात्मक प्रेरणा मिल्ला कि भन्ने ठानेर मैले आफ्नो अनुभूतिको एउटा पाटोलाई यहाँहरुसमक्ष पस्कने जमर्को गरेको छु ।

दृश्य : देखिने वस्तु दृश्य हो । दृश्य त्यो हो न आफूलाई जान्दछ न आफूदेखि अतिरिक्त अरुलाई जान्दछ । दृश्य त्यो हो जब अनगिन्ति भावसँगै स्मृतिका वासनाहरु तैरिरहेको हुन्छ । भावनात्मक वासनाहरु उठ्न छाडेर स्वस्फूर्त ती वासनाहरु दृश्य (तस्बिर, भिजुअलमा) परिणत हुन्छ । साधारण अवस्थामा बुद्धि, विवेक र अहंकारबाट प्रेरित स्मृतिको दृश्य बनिरहन्थ्यो भने अब चेतनास्वरुप ब्रह्महबाट दृश्यको उदय हुन्छ ।

यी दृश्यहरु सिनेमाको पर्दामा सलबलाउने दृश्यझैँ सलबलाउन थाल्दछ । स्मरणमा जे इच्छा जाहेर गरियो, त्यही दृश्यहरु साक्षात्कारका रुपमा प्रकट हुन्छ । गुरुप्रति भाव जाग्यो भने गुरु प्रकट भएर गुरुसँग संवाद गरेझैँ भान हुन्छ । साधकले देवीदेवताको स्मरण ग¥यो भने देवीदेवताहरु प्रकट भएर सलबलाउँदै इशारामा संवाद गरेझैँ भान हुन्छ ।

आफूलाई कुन ईश्वर वा देवीदेवताको दर्शन गर्न मन हुन्छ, उनको स्मरण मात्र गर्नुपर्छ उनी साक्षत् रुपमै प्रकट भइहाल्छन् । शायद यही अवस्थामा होला– सन्त रमण महर्षिले माता तिमीले मलाई दर्शन दिनुभएन भने यो तरबारले घाँटी रेटी आत्माहत्या गर्छु भनी रेट्न लाग्दा अन्तिम शरणागतका बेला कालिमाताले दर्शन दिनुभएको र उहाँले कालिमातासँग संवाद गर्नुभएको भन्ने अध्यात्म साधकहरुको भनाइ छ ।

द्रष्टा: सामान्य भाषामा जसले देख्दछ, त्यसलाई द्रष्टा भनिन्छ । तर जसले आफूलाई पनि जान्दछ र आफूबाहेक दृश्यलाई पनि जान्दछ । त्यो द्रष्टा हो । देखिने रुप दृश्य हो भने देख्नेवाला चेतनास्वरुप साक्षी द्रष्टा हो ।

चेतनास्वरूप द्रष्टाले आफू र आफूबाहेक अरुलाई जान्दछ, बुझ्दछ र हेर्दछ । आँखा बन्द गरेर ध्यान गर्दाको अवस्थामा मात्र हैन । भौतिक अवस्थामा पनि प्रकट हुन्छ । सधैं देखिरहेका विषयवस्तुहरु आश्चर्यजनक दृश्यका रुपमा फरक देखिन पुग्छन् । ती वस्तुप्रति अगाध प्रेम जागेर अकाट्य अमोघ र प्रिय लाग्नु मन नै उल्लास र हर्षले गद्गद् हुनु, यी दृश्य द्रष्टास्वरुप चेतना नै ब्रह्मको रुप हो ।

साधारण अवस्थामा मन, बुद्धि, विवेक प्रयोग गरेर साक्षी भावले चिन्तन, कल्पना रचना गरिएको भावार्थ हैन । विशुद्ध ब्रह्मस्वरुप चेतना खुलेको अवस्था हो । यो अवस्थामा बुद्धि, विवेक अहंकार हराएको हुँदैन । भौतिक रुपमा म हिँडिरहेको छु, साक्षीभाव चेतनास्वरुप द्रष्टा प्रकट भएर स्वयंले हिँड्नेवालालाई देखिरहेको हुन्छ । जस्तै, मोटरसाइकल चलाइरहेको छु भने चलाउनेवालालाई हेरिरहेको छ, अर्थात् त्यहाँ दुईजना भएको आभास हुन्छ । कसैसँग बोलिरहेको छु, पुस्तक पढिरहेको, भाषण गरिरहेको छु, प्रवचन भनिरहेको छु सुन्ने, पढ्ने र भन्नेवाला पनि त्यहाँ स्वयं ‘म’को भाव प्रकट भएर सबै गतिविधि नियालेर हेरिरहेको आभास हुन्छ ।

बोल्दैछु भने बोल्दा–बोल्दै अब यसपछि कुन शब्द बोल्ने भनेर पूर्णतः होसमा शब्द चयन गरिरहेको अवस्था उत्पन्न हुन्छ । अर्थात् बोलीमा पूर्ण सजगता रहन्छ । स्वामी विवेकानन्दले अमेरिकामा आध्यात्मिक प्रवचन दिँदा त्यो भाषण वा प्रवचन अद्भूत भएको थियो । विवेकानन्दको उक्त प्रवचनपछि पश्चिमा देशमा अध्यात्मको शङ्खघोष भएको पनि यिनै चेतनास्वरुप द्रष्टाभाव प्रकट भएको अवस्थाले हो भनेर अनुमान गर्न सकिन्छ । त्यस्तै भगवान् गौतम बुद्ध २४ घण्टामा दुईदेखि तीन घण्टा मात्र आराम गर्नु हुन्थ्यो, बाँकी समय जागा नै बस्नुहुन्थ्यो भन्ने भनाइ छ । उहाँ पनि यही चेतनास्वरुप द्रष्टामा स्थित हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ हो ।

अध्यात्मका अनुरागीहरुमा विनम्र अनुरोध छ कि चेतनास्वरुप द्रष्टा र दृश्यको प्रादुर्भाव जीवनमा प्रकट भयो भने जसरी प्रकट भयो त्यसरी नै यसको उपसना र साधनामा निरन्तर स्थित रहने प्रयत्न गर्नुपर्छ । महापुरुष मात्र चेतनास्वरुप द्रष्टाभावमा स्थित रहन सक्छन् । हाम्रा अज्ञानता र आशक्तिले महान् लक्षण चुमेर पुनः गुमाउन नपरोस् । दृश्य द्रष्टाको प्राकट्यबाट स्वस्फूर्त निर्विकल्प समाधि अर्थात् अद्वैतभाव घटित भई परम् ब्रह्ममा लीन/लय हुन्छ । दृश्य र द्रष्टाको साक्षीभावमा ‘म’को उदय हुन्छ, जुन दृश्यलाई चेतनस्वरुप द्रष्टाले जान्यो त्यो विषय वासनामा, ‘म’ नै छु भन्ने भावको प्रादुर्भाव हुन्छ ।

जहाँ–जहाँ हे¥यो त्यहाँ–त्यहाँ ‘म’को उपस्थिति हुन्छ । शायद भगवान् श्रीकृष्णले गीतामा ‘मलाई जहाँ खोज म त्यहीँ हुन्छु’ भन्नुभएको पनि यही नै हो । एउटा जीव दुई भएकाले अध्यात्मले यसलाई द्वैतभाव भन्यो । दृश्य, द्रष्टा र द्वैतभावमा बुद्धि, विवेक र अहंकार सँगसँगै रहिरहन्छ । यो अवस्थामा न आकार, न झिलिमिलीको दृश्य न ज्योति, प्रकाश छ र पनि मनमोहक अलौकिक प्रिय, शान्त, चिन्मय, आनन्दले आल्हादित र मन्त्रमुग्ध बनाउँछ । यो बेला खुशीले बेस्सरी चिच्याउँदै दौडिन मन लागेर आउँछ ।

‘म’को भाव स्वस्फूर्त विलय भएर खुला आकाशको दृश्य प्रकाशपुञ्जमा एकाकार हुनु, प्रतिभाषित हुनु आकाररहित निराकारमा लयबद्ध रहनु अद्वैत भाव अर्थात् निर्विकल्प समाधि घटित हुनु हो । अब यहाँ बुद्धि, विवेक अहंकार हराएर म–मेरो, तँ–तेरो भाव हराउँछ र ‘ज्ञानैज्ञान’ मात्र शेष रहन्छ । सांसारिक मायामोह, धनसम्पत्ति, पद प्रतिष्ठा तथा न त इहलोकमा यहाँ सिकेका ज्ञान र साधना नै अब काम लाग्छन्, यतिबेला त स्वर्णिम क्षण मात्र बाँकी रहन्छ । सम्भवतः यही होला स्वर्गीय आनन्द ।

अद्वैतभावको समाधिबाट सहज अवस्थामा आएपछि शरीर फूलझैँ हलुका भइरहेको अवस्थामा शारीरिक संवेदनाहरुलाई यी वरिपरिका वातावरणले पोल्ने, बिझाउने आदि लक्षण हुन्छ ।

सम्झौं– आमाको गर्भबाट बच्चा धर्तीमा अवतरण हुँदा पेटमा तातोन्यानोमा बसेको त्यो कलिलो शरीरलाई बाहिर आउँदा शुरुमा कति बिझाउने, पोल्ने हुँदो हो । हो यो क्षणमा त्यस्तै अवस्था हुन्छ ।
बुद्धि, विवेक र अहंकारले चिन्तनमनन गर्दै बोधको अभ्यासमा ज्ञानको खोज बढ्दै ध्यानी बोधार्थ हुँदै जान्छ । दृश्य, द्रष्टा र अद्वैतभाव अर्थात् निर्विकल्प समाधि प्राप्त गरेपछि जीवले आफूभित्रको चेतना अर्थात् प्रज्ञाको ढोका खुलाउँदै ज्ञान मार्गमा अगाडि बढ्छ भने भौतिक अवस्थामा प्रणव ध्वनि, सूक्ष्म संवेदना र तरंगले सतचित आनन्दमा शरीरलाई स्वर्णिम बनाइरहन्छ । साधकले सूक्ष्मरुपमा रहेको आफूभित्रको गुरुतत्त्व यहींबाट प्राप्त गर्दछ ।

अप्ठ्यारो परिस्थितिमा पनि आफूभित्रको गुरुतत्त्व प्रकट भएर सही मार्गदिशा दिन्छ र अकाल मृत्युबाट बचाउँछ । जीवभित्र रहेको परम् ब्रह्मले मृत्युपछि जीवलाई अज्ञात स्थानमा त पु¥याउँछ तर त्यो जीव त्यतिबेला पनि गेय अवस्थामै रहन्छ भन्ने विश्वास गर्न सकिन्छ । विश्वास किन

लाग्छ भने संसारिक अप्ठ्यारो परिस्थितिमा परमब्रह्म नै प्रकट भएर आफ्नो जीवलाई उद्धार गर्छ ।

जब साधकले आफूभित्रै गुरुसत्ता भेट्छ तब शरीरधारी गुरुप्रतिको उसको भरोसा बिस्तारै कम कम हुँदै जान्छ । त्यसपछि साधक आफूभित्र बोधगम्य वा प्रज्ञावान् बन्छ । उसको अनुहारमा ज्योतिको झलक आउँछ, तेजोमय बन्छ । मैत्रीभावमा ऊ स्थित रहन्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४१ बजे

चेल्सीसँग लिसेस्टर सिटी पराजित

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा

सिटीको पोस्टमा टोटनहामको चार गोल

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर

बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना

काठमाडौं – खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ९ गते आइतबार सन्