विद्यालय छ, जग्गा छैन, पुनर्निर्माण हुँदैन | Khabarhub Khabarhub

विद्यालय छ, जग्गा छैन, पुनर्निर्माण हुँदैन


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट पूर्ण वा आंशिक क्षति पुगेर पुनर्निर्माण गर्ने भनिएका ७ हजार ५५३ विद्यालय भवनमध्ये गत जेठसम्ममा ६ हजार २४१ तयार भए । संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाका १३ वटा विद्यालय भने अझै अलपत्र छन् ।

विनाशकारी भूकम्पले काठमाडौँ महानगरपालिकाभित्रका ९१ वटा सामुदायिक विद्यालयमध्ये ४३ वटामा पूर्ण र १३ वटामा आंशिक क्षति पुर्‍याएको थियो ।

जग्गा अभाव र जग्गामा विवादका कारण काठमाडौँ महानगरपालिकाका १३ वटा सामुदायिक विद्यालयको पुनर्निर्माण हुन सकेको छैन ।

भवन निर्माणका लागि न्यूनतम आवश्यक जग्गा नहुँदा पुनर्निर्माण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना इकाइ (शिक्षा) काठमाडौँका इन्जिनियर सागर पौडेलले बताए ।

भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि सकिनै लागेको छ ।

पौडेलका अनुसार विद्यालयसँग न्यूनतम आवश्यक जग्गा नहुनु र भएको जग्गा पनि गुठीको नाममा हुनुले पुनर्निर्माणमा समस्या भएको हो । यस्ता १३ वटा विद्यालयका भवन ‘मापदण्डअनुसार बन्न नसक्ने’ निर्णय प्राधिकरणले गरिसकेको छ ।

पौडेलले भने, ‘दुई तीन आनामात्रै जग्गा छ, भएको जग्गामा पनि विवाद छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे महानगरले पनि खासै चासो दिएको देखिँदैन ।’

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ती विद्यालयको अवस्थाबारे जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको उनले बताए ।

आंशिक क्षति भएका सबै विद्यालयको प्रबलीकरण (रेट्रोफिटिङ) गरिएको छ । केही विद्यालयका भवनको निर्माण पूरा भएको छ । पूर्ण क्षति भएका मध्ये १७ वटाको पुनर्निर्माण कार्य सकिएको छ ।

सात वटा विद्यालयमा प्रवलीकरणको काम भइरहेको छ । तीन वटा विद्यालय भवन पुनर्निर्माणको टेन्डर प्रक्रिया चलेको छ ।

यसकारण रोकिए १३ वटा विद्यालय

वसन्तपुर दरवार क्षेत्रमा रहेको नवआर्दश माध्यामिक विद्यालयको नाममा ३ आना र न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयको नाममा ५ आना जग्गा छ । झोँछेमा रहेको बालसेवा माध्यमिक विद्यालयको ८ आना २ पैसा, कृष्णमन्दिर आधारभूत विद्यालयको १२ आना, निर्मला विद्यापीठ आधारभूत विद्यालयको ३ आना जग्गा छ ।

ठमेलमा रहेको लोकहित माध्यमिक विद्यालय रहेको १२ आना जग्गा गुठीको स्वामित्वमा छ ।

आजात आधारभूत विद्यालयको ६ आना जग्गा मध्ये ४ आना गुठीको स्वामित्वमा छ । ईश्वर आधारभूत विद्यालयको ६ आना २ पैसा जग्गा नेपाल विद्युत प्राधिकरणको नाममा छ । नक्सालस्थित आदर्श आधारभूत विद्यालय रहेको सात आना जग्गा बाल मन्दिरको नाममा छ ।

बालाजुको बालकल्याण आधारभूत विद्यालयको तीन आना, नयाँ बसपार्कमा रहेको बुद्धज्योति बालउद्यान आधारभूत विद्यालयको ५ आना, मित्र आधारभूत विद्यालयको ८ आना, प्रभात माध्यमिक विद्यालयको ८ आना ३ पैसा जग्गा पनि ती विद्यालयको स्वामित्वमा छैन ।

जग्गा नभए मर्ज !

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार जग्गा अभावका कारण पुनर्निर्माण गर्न नसकिएका विद्यालयहरूका लागि विकल्प खोजी भइरहेको छ ।

मिलेसम्म विद्यालयको लागि जग्गा खोज्ने र नभए मर्ज गर्ने (गाभिने) प्रक्रियामा जान सकिने विकल्प रहेको उनले बताए । उनका अनुसार यस विषयमा ठोस निर्णय भएको छैन ।

६ हजार विद्यालय पुनर्निर्माण

पुनर्निर्माण प्राधिकरणका अनुसार पाँच वर्षमा ६ हजार २४१ विद्यालय भवन पुनर्निर्माण भए । यीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ४ हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत ७५९ विद्यालय भवन पुनर्निर्माण भए ।

विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न बाँकी १ हजार १२१, निर्माण व्यवसायीमार्फत १७५ र गैरसरकारी संस्थामार्फत ११ विद्यालय भवनको पुनर्निर्माण कार्य आउँदो असार मसान्तभित्र सम्पन्न भइसक्ने जनाइएको छ ।

विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपैयाँ आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : १६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता