असोज कृष्णपक्षको अन्तिम दिन आज, पितृ विसर्जन गरिँदै « Khabarhub

असोज कृष्णपक्षको अन्तिम दिन आज, पितृ विसर्जन गरिँदै

धार्मिकस्थल र पवित्र जलासय भरिभराउ


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् ।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ)तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६)का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने भएकाले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डी ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउँछन् ।

दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण जिल्लाकै भङ्गाहा नगरपालिका–४ का बासिन्दा भरतराज बरालको भनाइ छ ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ४९ बजे

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी– यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने भन्दै

सरकारले जेन-जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले जेन-जी

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी