नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने | Khabarhub Khabarhub

नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ ।

तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त रु ५० लाख र कुण्डको आन्तरिक आम्दानी रु ५० लाख गरी रु एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ ।

साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरिद गरिएको छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एक प्राकृतिक चिकित्सक भर्ना गरिएको छ ।

चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाथेरापीका लागि तालिमप्राप्त योग्य जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालिम सञ्चालन भइरहेको र दशैँपछि अस्पताल सञ्चालन गरी बिरामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा आयुशा अधिकारीले जानकारी दिए।

अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने डा अधिकारीको भनाइ छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ ।

परम्परागतरूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिकरूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । उनका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको यो अस्पताल नेपालमै पहिलो हो ।

अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगाथेरापी, अकुपञ्चर, डाइथेरापीलगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर बिरामीको उपचार गरिने उनले बताए।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनी हजारौँको सङ्ख्यामा बिरामीले डुबेर उपचार लिने गर्दछन् ।

पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी एक दर्जन हाराहारीमा तातोपानीका कुण्ड छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ५० बजे

सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

मुलुकलाई असफल राष्ट्रबाट हुनबाट सरकारले जोगाएको छ : सञ्चारमन्त्री 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ : कांग्रेस सचेतक

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण

संसद्‍‍मा पुग्यो ‘राजागंज’को सेन्सर विवाद : फिल्म बुझेका व्यक्ति सेन्सर बोर्डमा राख्‍न माग

काठमाडौं– चैत १ बाट प्रदर्शनमा आएको फिल्म ‘राजागंज’मा सञ्चार तथा

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं– सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष