नेवार समुदायमा प्यँचाः को आसन राखी जमरा हाल्ने परम्परा « Khabarhub

नेवार समुदायमा प्यँचाः को आसन राखी जमरा हाल्ने परम्परा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कुनै समय हरेक नेवार समुदायको घरघरमा गाग्री, घ्याम्पोलगायत भाँडाकुँडा बिसाउने वस्तु हो प्यँचाः (परालले बनाएको गोलो वस्तु) । आधुनिक प्रविधिसँगै नयाँनयाँ वस्तुको प्रयोग वृद्धि भएसँगै प्यँचाःको प्रयोग लोप हुने अवस्थामा पुगे पनि दसैँमा जमरा राख्ने भ्य्य बिसाउन भने यसको प्रयोगमा कुनै कमी आएको छैन ।

नेवार समुदायमा घटस्थापनाको दिन जमरा राख्ने भ्य्य (भ्यूँत) बिसाउन प्यँचाःलाई आसनका रुपमा राखिने परम्परा छ । प्यँचाः बनाउँदै गरेकी भक्तपुर खँलाकी नानीछोरी चवाले भनिन् , “यो वर्षको नयाँ धानको हरियो पराल हो । घटस्थापनामा जमरा राख्ने भ्य्य राख्ने आसनका लागि नयाँ परालको प्यँचा चाहिन्छ छ । सबैको धानखेती हुन्छ भन्ने छैन । नहुनेले लिन आउँछ, दिनुपर्छ धर्मको काम हो । त्यही भएर बनाएको ।”

नेवार समुदायले आश्विन शुक्ल प्रतिपदाको दिन आ–आफ्नो घरको पूजाकोठामा मोहनी नखाःको आह्वान र नवदुर्गा भवानीको सङ्कल्प गरी माटोको नयाँ भ्य्यमा जमरा राख्ने परम्परा छ । सो जमरा राखेको भ्य्यलाई परालले बनेको आसन प्यँचाःमा राख्ने प्रचलन छ । पछिल्लो समय भक्तपुरमा प्यँचाःको प्रयोग नेवार समुदायमा मात्र सीमित नभएर अरू समुदायमा पनि विस्तार हुन थालेका छ । विशेषगरी नेवार समुदायले मात्र प्रयोगमा ल्याउने प्यँचाः अहिले स्थानीय क्षेत्री बाहुनले समेत प्रयोगमा ल्याएको चवालले बताइन् ।

गएका वर्षहरुमा प्रयोग भइसकेको प्यँचाः पुनः प्रयोगमा ल्याई जमरा हाल्न नमिल्ने नेवारी परम्परा छ । त्यसकारण प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राख्न प्यँचाः बनाउने काममा उनी व्यस्त छिन् । उनका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिमासम्म १५ दिन राखिराख्ने जमरा माटोकै भाँडामा राख्ने भएकाले त्यसलाई जोगाउन र संरक्षण दिन प्यँचाःको आसन राख्ने गरिएको हो ।

“माटोको भाँडो एकदमै कमजोर हुने भएकाले त्यसको संरक्षणका निम्ति प्यँचाःको प्रयोग गरेको हो । नेवार समुदायमा जमरा राखेपछि भ्य्य फुट्यो भने घरमा अशुभ, अशान्ति, अनिष्ट हुने धार्मिक विश्वासले पनि प्यँचाः प्रयोग गरिएको हो”, उनले भनिन् ।

विगतका केही वर्षदेखि घटस्थापनाका लागि प्यँचाः बनाउने काम थालेको चवाले यो पैसाका लागि नभएको बताइन् । “यो काम मैले पैसा कमाउनका लागि होइन । धर्म लाग्ने आशमा सुरु गरेको हुँ । प्यँचाः बनाई दिएबापत अहिलेसम्म कसैसँग पैसा लिएको छैन”, उनले भनिन् ।

प्यँचाः बनाउन खासै समय नलाग्ने चवालले बताइन् । उनले भनिन्, “हरियो परालको प्यँचाः बनाउन अलि गाह्रो छ । घाउ लाग्ने डर छ, खासै समय चाहिँँ लाग्दैन तर घटस्थापना गर्न नयाँ हरियो पराल चाहिने भएकाले दुईतीन दिनअगाडि देखि नै पराल घरमा ल्याउने र बनाउने केही समय अगाडि छरिएर पानी छर्ने हो । अलि नरम भएपछि चार/पाँचवटा पराल लिई गोलो घेरा बनाई घुमाई घुमाई प्यँचाः तयार गर्ने हो ।”

नेवार समुदायमा माटोको भाँडोलाई मिलाएर राख्न प्रयोग हुने प्यँचाः पछिल्लो समयमा आधुनिक सामानहरु आएका कारण हराउँदै गएको हो । पहिला पहिला माटोको घ्याम्पो, गाग्री, खाना पकाउने भाँडोलगायत भाँडोहरुमा प्रयोग हुने प्यँचाः घरघरमा स्टिल, ढलोट, काँस, पित्तल र सिलावरजस्ता धातुको सामग्रीको प्रयोगले अहिले पूर्ण रुपमा लोप भइसकेको छ । नेवार संस्कृतिमा पराल जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने गरेको छ । विशेष गरी भक्तपुर किसान समुदायको वर्चस्व रहेको ठाउँ हो । यहाँको हरेक संस्कार परालबाट सुरुबाट गरी परालबाटै अन्त्य गरिन्छ ।

नेवार समुदायमा बच्चा जन्मिँदा नचोखाएसम्म सुत्केरी र बच्चालाई परालमा सुताइने परम्परा अहिले पनि भक्तपुर छ । मृत्यु हुँदा पनि घरमै मरेको खण्डमा छिँडीमा गोबरले लिपेर त्यसको माथि पराल राखी मृतकलाई राख्ने प्रचलन छ । मृत्यु संस्कारमा नेवार समुदायले सात दिनमा मृतकलाई भात दिँदा सानो घ्याम्पोको तल प्यँचाः राख्ने परम्परा रहेको छ ।

भक्तपुरमा हरेक धार्मिक तथा सांस्कृतिक कार्यमा परालको विशेष महत्व रहेको छ । नेवार समुदायमा चाडपर्वको सुरुआत मानिने गठेंमुगः चह्रेमा परालबाटै घण्टाकर्ण राक्षसको प्रतीक निर्माण प्रचलन अहिले पनि जीवितै छ । इतिहास तथा संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले पराल भैरवको प्रतीकका रुपमा लिन मिल्ने बताए ।

उनले उदाहरण दिँदै भने, “गाईजात्रामा सापारुको साँझ परालबाट बनाइएको आकास भैरवको प्रतीक गाईलाई नगर परिक्रमा गराई सापारुको समापन गरिन्छ । यस मानेमा पराल भनेको भैरव हो । भैरव महादेवको एक अर्को रुप हो । घटस्थापना गर्दा प्यँचाःमा भ्य्य राखी जमरा हाल्नु भनेको नवदुर्गा भवानीको रक्षकका रुपमा शिवलाई राखेको हो । यसलाई शिव शक्तिको मिलनका रुपमा पनि लिन सकिन्छ ।”

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ०१ बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा