चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा « Khabarhub

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० शय्याको अस्पताल बन्यो ।

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान गर्‍यो ।

बिडम्वना, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि निवेदन परेन । डाक्टरको निवेदन नपरेपछि गाउँपालिकाले अन्य दुई पदका लागि परीक्षासमेत स्थगन गरेको छ । चिकित्सकको दर्खास्त नपरेपछि महाबु अस्पताल सञ्चालन अन्योलमा परेको हुँदा स्थानीयवासीको उपचार गराउने सपना अधुरै रहेको छ ।

‘‘अस्पताल बनाउँदा हामी जति खुशी भएका थियौँ, डाक्टर नआउने भनेपछि हामी त्यति नै दुःखी भएका छौँ । पैसा नहुँदा टाढा उपचार गर्न जान नसकिने, गाउँमै डाक्टर आएमा उपचार गरौँला भनेका थियौँ तर अझै समय कुर्नु पर्ने हो डाक्टरको मुख हेर्न’’, स्थानीयवासी लवराज विकले भने ।

विक मात्र होइन, सोही गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाको सपना अधुरै छ । घरआँगनमै डाक्टर आउलान् र उपचार गरौँला भन्ने चाहना तत्कालका लागि पूरा नहुने भएको छ । ‘‘सरकारले जसरी पनि अस्पतालमा डाक्टर पठाउला भन्ने आशा गरेका छौँ’’, स्थानीयवासी अमृत पाण्डेले भने ।

दर्खास्त आह्वान गर्दासमेत चिकित्सकको निवदेन नआएपछि महाबुको अस्पताल सञ्चालन अन्योलमा परेको छ ।

महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० शय्या अस्पताल सञ्चालनका लागि २०७७ कात्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दर्खास्त आह्वान गरेको थियो । करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाँचौँ तहका लागि दर्खास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए ।

‘‘अधिकृतका लागि कुनै पनि निवेदन नपरेपछि अन्य पदको समेत छनोट गरिएको छैन’’, अधिकृत मल्लले भने । स्टाफ नर्स र स्वास्थ्य सहायकमा भने केही निवेदन परेका छन् ।

अस्पतालमा आवश्यक सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए ।

‘अस्पतालका लागि चाहिने स्तरीय ल्याब, शय्या, उपकरण, भवनलगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा छ । ‘मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दा समेत दर्खास्त परेन’, अध्यक्ष शाहीले भने, ‘मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौँ ।’ रासस

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : ४५ बजे

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध