स्थानीयबासीको खबरदारीले एम्बुलेन्स तैनाथ | Khabarhub Khabarhub

स्थानीयबासीको खबरदारीले एम्बुलेन्स तैनाथ

मेयरहरू आफ्नै गाडी पनि दिन तयार



नवलपुर– एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल पुर्‍याइएका कोरोना संक्रमितको मृत्युपछि स्थानीयवासीको खबरदारीले नवलपरासीपूर्व (नवलपुर) को देवचुली नगरपालिकाले एउटा एम्बुलेन्स तैनाथ राखेको छ ।

देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स नगरका सबै कोरोना संक्रमित बिरामीका लागि नगरपालिका परिसरमै खडा गरिएको मेयर पूर्णकुमार श्रेष्ठले बताए । नगरपालिकाभित्र अन्य ९ वटा एम्बुलेन्स तयार रहेको पनि श्रेष्ठले बताए ।

गैँडाकोट नगरपालिकाले पनि तीन वटा एम्बुलेन्स ‘स्ट्याण्डबाई’ राखेको छ । गैँडाकोट नगरपालिकाले दुई वटा एम्बुलेन्स कोभिड संक्रमित बिरामीका लागि र एउटा एम्बुलेन्स गर्भवतीका तयार राखेको छ ।

अहिलेको संकटमा कोही पनि बिरामी अस्पताल पुग्न नसकेर मृत्युवरण गर्न नपरोस् भनेर निःशुल्क एम्बुलेन्स तयार राखिएको गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु 

नवलपुरकै मध्यबिन्दु नगरपालिकाले २ वटा ‘कोभिड विशेष’ एम्बुलेन्स चौबिसै घण्टा तैनाथ राखेको मेयर चन्द्रबहादुर रानाले बताए ।

कोरोना संक्रमितलाई आवश्यक परेका बेला तत्काल उपलब्ध हुने गरी एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अक्सिजन २४सै घण्टा तयार राखिएको रानाले बताए ।

जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकाले पनि कोरोना संक्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्स तयार राखेको छ । आवश्यक पर्ना साथ फोन गर्न उपमेयर प्रेमशंकर मर्दनीयले आग्रह गरेका छन् ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेका देवचुली नगरपालिका १३ का ६७ वर्षीय एक पुरुषलाई अस्पताल लैजान एम्बुलेन्स नपाएपछि वैशाख २० गते ट्याक्टरको ट्रलीमा राखेर लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

सरकारी गाडी चढ्न बन्द

कोरोना संक्रमित बिरामीले एम्बुलेन्स नपाए स्थानीयबासीले देवचुलीका मेयर र उपमेयरलाई सरकारी गाडी चढ्न नदिएपछि निजी गाडी चढ्न थालेका छन् ।

मेयर र उपमेयर दुवैले गत बिहीबारदेखि सरकारी गाडी चढ्ने आँट गरेका छैनन् ।

यो पनि पढ्नुहोस्

ट्याक्टरमा कोभिड संक्रमितको मृत्यु भएपछि मेयर र उपमेरलाई गाडी चढ्न रोक 

बिरामी बोक्न मेयरको गाडी

देवचुलीको घटनापछि मध्यबिन्दु नगरपालिकामा मेयर रानाले आवश्यक परेको खण्डमा बिरामी बोक्न आफ्नै गाडी दिने घोषणा गरेका छन् ।

नवलपुरमा जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को वैशाख २० गते भएको बैठकले कारोना संक्रमित बिरामीका लागि प्रत्येक स्थानीय तहले एक एक वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र एम्बुलेन्स चालकलाई सम्बन्धित स्थानीय तहले ड्यूटीअनुसारको प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्ने गाडी पनि बिरामी बोक्न प्र्रयोग गरिने भएको छ । संक्रमण बढ्दै जाँदा बिरामी ओसार्ने एम्बुलेन्स अभाव भएकाले मेयर उपमेयरका सरकारी गाडी पनि आवश्यकताअनुसार बिरामी बोक्न प्रयोग गरिने भएको हो ।

आइसोलेसनको तयारी

कोरोना संक्रमण बढ्दै गएपछि नवलपुरका सबै स्थानीय तहहरूले धमाधम आइसोलेसन केन्द्र निर्माण गरिरहेका छन् ।

गैँडाकोटमा अक्सिजनसहितको २० बेडको आइसोलेसन केन्द्र तयार गरिएको छ । गैँडाकोट नगर अस्पतालसँगैको कर्भडहलमा आइसोलेसन तयार गरिएको छ ।

देवचुली नगरपालिकाको कार्यालय छेउको नमूना माध्यमिक विद्यालयमा कम्तीमा २५ बेडका आइसोलेसन कक्ष तयार गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए ।

बुधबार देवचुली नगरपालिकामा बसेको सर्वदलीय बैठकले वैशाख २० गते एम्बुलेन्स नपाएर कोरोना संक्रमितको मृत्यु भएको घटनामा देवचुली नगरपालिकाको गैरजिम्मेवारी भएको ठहर गर्दै आगामी दिनमा त्यस्ता घटना हुन नदिन नगरपालिकालाई खबरदारी गर्दै सहकार्य गर्ने निर्णय गरेको जनपक्षीय मञ्चका अध्यक्ष कृष्ण गौतमले बताए ।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हरेक पालिकामा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको छ ।

सबै स्थानीय तहले आइसोलेसन केन्द्रमा एक पटकमा चार जनासम्म स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ०२ बजे

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

मनिला – फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको