क्यामरुनबाट नेपाल आएर फुटबल खेलिरहेकी रुथको खेल अनुभव | Khabarhub Khabarhub

क्यामरुनबाट नेपाल आएर फुटबल खेलिरहेकी रुथको खेल अनुभव



काठमाडौँ – राष्ट्रिय महिला लिगमा विदेशी खेलाडीले पनि प्रतिस्पर्धा गरिरहेका छन् । विदेशी खेलाडीलाई ल्याएर जारी लिगका खेललाई प्रतिस्पर्धात्मक बनाउन खोजिएको छ ।

तराईका केही टिमले भारतबाट खेलाडी ल्याएका छन् भने स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकी मुलुक क्यामरुनबाट खेलाडी भित्र्याएको छ ।

फुटबल खेल्न उनीहरु पहिलो पटक नेपाल आएका हुन् । क्यामरुनमा उमेर समूहमा राम्रो खेल्दै राष्ट्रिय टोलीमा छिर्न संघर्षरत मिथो एलिउड रुथ नेपाल आउने चार खेलाडीमध्येकी एक हुन् ।

उनले क्यामरुनका लागि यु–१७ फिफा विश्वकप फुटबल खेलिसकेकी छन् भने यु–२० क्वालिफायर पनि क्यामरुनबाट खेलिसकेकी छन् ।

रुथ नेपाल आउनुमा कुनै योजना र भविष्यको कुरा जोडिएको छैन । क्यामरुनमा फुटबल गतिविधि नभएपछि घरमा बसिरहेकी उनलाई नेपालको शीर्ष डिभिजन लिग खेलिसकेका क्यामरुनका खेलाडीले नेपालको लिग खेल्ने व्यवस्था मिलाएका हुन् ।

उनीहरुलाई नेपाल ल्याउन भने सगुन तन्डुकार मध्यस्तकर्ता बने । सगुनकै पहलमा उनीहरुलाई वालिङले टोलीमा अनुबन्ध गरेको हो । क्यामरुनाट पुरुष खेलाडी नेपाल आएर खेलिसकेकाले पनि उनलाई यहाँ आउन सहज भएको हो । उनले अहिले वालिङको अग्रपङ्ती सम्हाली रहेकी छन् ।

रुथ नेपालको धेरै ठाउँ घुमेकी छैनन् । उनी काठमाडौँ उत्रिएपछि एयरपोर्ट, होटेल र एन्फा मैदान बाहिर देखेकी छैनन् । ‘क्यामरुनमा अहिले फुटबल गतिविधि छैन, घरमा बसिरहेकी थिएँ, यताबाट खेल्न प्रस्ताव आएपछि नेपाल आएकी हुँ,’ रुथले खबरहबसँगको कुराकानीमा भनिन् ।

नेपालबारे धेरै जानकारी नभएकी रुथले काठमाडौँ निकै चिसो भएको बताइन ।

पहिलो पटक नेपाल आएकी भए पनि उनले आफ्नो टोलीले राम्रै साथ र सहयोग गरिरहेको बताइन् ।

रुथले आफ्नो देश र नेपालको संस्कृति धेरै नमिल्ने बताइन् । उनले नेपालमा बिहान बेलुकाको खानामा ‘दाल–भात’ भएको र आफूहरु यसमा अभ्यस्त नभएको हुँदा कठिन भइरहेको पनि बताइन् ।

त्यसो त, रुथले होटलमा उनीहरुलाई मनपर्ने खानाको मेनु पनि बुझाएकी थिइन् । तर, त्यो उपलब्ध भएन । ‘खाना सधैँ एकै किसिमको हुन्छ । हामीले क्यामरुनमा खाने खाना यहाँ पाइँदैन,’ उनले भनिन् ।

रुथले धेरैलाई एक अर्कोको सम्मानका लागि नमस्कार गरेको देखेकी छन् । उनलाई समेत खेलाडीहरुले खेलपछि नमस्कार गर्दै सम्मान गरिरहेका हुन्छन् ।

उनले भनिन्, ‘यहाँ सबैले एकअर्कालाई सम्मान गरिरहेका हुन्छन्, नमस्कार (हातले नमस्कार गर्दै संकेत गर्दै) गर्दा सम्मान गरेको महसुस हुन्छ । जुन राम्रो पक्ष हो ।’

एक महिनाका लागि नेपाल आएकी उनी नेपाली भाषा सुन्दा राम्रो लागे पनि सिक्न भने समय लाग्ने बताउँछिन् । उनलाई नेपाली भाषा सिक्न मन छ तर आफ्नो नेपाल बसाइ कम रहेकाले वातावरण नमिलेको बताइन् ।

२० वर्षीया रुथको घर क्यामरुनको याहुन्द्रे शरहमा छ । उनको घरबाट अभ्यास गर्ने मैदान जम्मा १० मिनेटको दूरीमा छ । उनी १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउँछिन् ।

‘मैले फुटबल त्यतिबेला सुरू गरेँ, जब म १३ वर्षकी थिएँ, मलाई फुटबल मन पर्थ्यो, त्यसैले यसमा लागेकी हुँ,’ रुथले आफुले रुचिअनुसार फुटबलमा लागेको बताइन् ।

विभागीय टोली राम्रा

रुथले नेपाली महिला फुटबलमा विभागीय क्लबहरु राम्रो रहेको बताएकी छन् । जसमा उनले एपीएफ, पुलिस र आर्मी उत्तिकै बलिया टोली रहेको बताइन् । उनले नेपालकी स्टार फुटबलर सावित्रा भण्डारीको तारिफ गरिन् ।

‘उनको (सावित्रा) को बारेमा सुनेकी छु । उनले राम्रो खेल्छिन्,’ उनले भनिन् ।

रुथले वालिङको रक्षापङ्ती सम्हालिरहेकी पुष्पा गुरुङ राम्रो रक्षक रहेको बताइन् । यस्तै, वालिङकी कप्तान सरस्वती हमालको समेत उनले तारिफ गरेकी छिन् ।

फुटबल र पढाइका लागि अमेरिका जाँदै

रुथ नेपालबाट फर्केपछि अमेरिका जानेछिन् । उनले अमेरिकाको एक फुटबल एकेडेमीमा छात्रवृत्ति पाएकी छन् । अमेरिकामा उनले खेल्ने र पढ्ने दुवै कामलाई अघि बढाउनेछिन् ।

रुथले अमेरिका गएर राम्रो फुटबल सिकेर क्यामरुन फर्किने योजना सुनाइन् । ‘म अध्ययन र फुटबल सिक्नका लागि अमेरिका जाँदैछु । यहाँबाट फर्किएपछि जाने हो,’ उनले अगाडि थपिन्, ‘मेरो लक्ष्य क्यामरुनको सिनियर टिमबाट खेल्नु हो ।’

रुथको प्रशिक्षक पनि पूर्व क्यामरुनी फुटबलर भएकाले उनलाई अझै राम्रो गर्न प्रेरणा मिलिरहेको उनले बताइन् । रुथ जारी लिगमा डबल ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

उनले चौदण्डीगढीविरुद्धको पहिलो राउण्डको लिगमा डबल ह्याट्रिक गरेकी थिइन् । उनी पछि नेपाल तथा एपीएफकी सावित्रा भण्डारीले विराटनगरविरुद्ध १२ गोल गरेकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ४४ बजे

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको