क्यामरुनबाट नेपाल आएर फुटबल खेलिरहेकी रुथको खेल अनुभव « Khabarhub

क्यामरुनबाट नेपाल आएर फुटबल खेलिरहेकी रुथको खेल अनुभव



काठमाडौँ – राष्ट्रिय महिला लिगमा विदेशी खेलाडीले पनि प्रतिस्पर्धा गरिरहेका छन् । विदेशी खेलाडीलाई ल्याएर जारी लिगका खेललाई प्रतिस्पर्धात्मक बनाउन खोजिएको छ ।

तराईका केही टिमले भारतबाट खेलाडी ल्याएका छन् भने स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकी मुलुक क्यामरुनबाट खेलाडी भित्र्याएको छ ।

फुटबल खेल्न उनीहरु पहिलो पटक नेपाल आएका हुन् । क्यामरुनमा उमेर समूहमा राम्रो खेल्दै राष्ट्रिय टोलीमा छिर्न संघर्षरत मिथो एलिउड रुथ नेपाल आउने चार खेलाडीमध्येकी एक हुन् ।

उनले क्यामरुनका लागि यु–१७ फिफा विश्वकप फुटबल खेलिसकेकी छन् भने यु–२० क्वालिफायर पनि क्यामरुनबाट खेलिसकेकी छन् ।

रुथ नेपाल आउनुमा कुनै योजना र भविष्यको कुरा जोडिएको छैन । क्यामरुनमा फुटबल गतिविधि नभएपछि घरमा बसिरहेकी उनलाई नेपालको शीर्ष डिभिजन लिग खेलिसकेका क्यामरुनका खेलाडीले नेपालको लिग खेल्ने व्यवस्था मिलाएका हुन् ।

उनीहरुलाई नेपाल ल्याउन भने सगुन तन्डुकार मध्यस्तकर्ता बने । सगुनकै पहलमा उनीहरुलाई वालिङले टोलीमा अनुबन्ध गरेको हो । क्यामरुनाट पुरुष खेलाडी नेपाल आएर खेलिसकेकाले पनि उनलाई यहाँ आउन सहज भएको हो । उनले अहिले वालिङको अग्रपङ्ती सम्हाली रहेकी छन् ।

रुथ नेपालको धेरै ठाउँ घुमेकी छैनन् । उनी काठमाडौँ उत्रिएपछि एयरपोर्ट, होटेल र एन्फा मैदान बाहिर देखेकी छैनन् । ‘क्यामरुनमा अहिले फुटबल गतिविधि छैन, घरमा बसिरहेकी थिएँ, यताबाट खेल्न प्रस्ताव आएपछि नेपाल आएकी हुँ,’ रुथले खबरहबसँगको कुराकानीमा भनिन् ।

नेपालबारे धेरै जानकारी नभएकी रुथले काठमाडौँ निकै चिसो भएको बताइन ।

पहिलो पटक नेपाल आएकी भए पनि उनले आफ्नो टोलीले राम्रै साथ र सहयोग गरिरहेको बताइन् ।

रुथले आफ्नो देश र नेपालको संस्कृति धेरै नमिल्ने बताइन् । उनले नेपालमा बिहान बेलुकाको खानामा ‘दाल–भात’ भएको र आफूहरु यसमा अभ्यस्त नभएको हुँदा कठिन भइरहेको पनि बताइन् ।

त्यसो त, रुथले होटलमा उनीहरुलाई मनपर्ने खानाको मेनु पनि बुझाएकी थिइन् । तर, त्यो उपलब्ध भएन । ‘खाना सधैँ एकै किसिमको हुन्छ । हामीले क्यामरुनमा खाने खाना यहाँ पाइँदैन,’ उनले भनिन् ।

रुथले धेरैलाई एक अर्कोको सम्मानका लागि नमस्कार गरेको देखेकी छन् । उनलाई समेत खेलाडीहरुले खेलपछि नमस्कार गर्दै सम्मान गरिरहेका हुन्छन् ।

उनले भनिन्, ‘यहाँ सबैले एकअर्कालाई सम्मान गरिरहेका हुन्छन्, नमस्कार (हातले नमस्कार गर्दै संकेत गर्दै) गर्दा सम्मान गरेको महसुस हुन्छ । जुन राम्रो पक्ष हो ।’

एक महिनाका लागि नेपाल आएकी उनी नेपाली भाषा सुन्दा राम्रो लागे पनि सिक्न भने समय लाग्ने बताउँछिन् । उनलाई नेपाली भाषा सिक्न मन छ तर आफ्नो नेपाल बसाइ कम रहेकाले वातावरण नमिलेको बताइन् ।

२० वर्षीया रुथको घर क्यामरुनको याहुन्द्रे शरहमा छ । उनको घरबाट अभ्यास गर्ने मैदान जम्मा १० मिनेटको दूरीमा छ । उनी १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउँछिन् ।

‘मैले फुटबल त्यतिबेला सुरू गरेँ, जब म १३ वर्षकी थिएँ, मलाई फुटबल मन पर्थ्यो, त्यसैले यसमा लागेकी हुँ,’ रुथले आफुले रुचिअनुसार फुटबलमा लागेको बताइन् ।

विभागीय टोली राम्रा

रुथले नेपाली महिला फुटबलमा विभागीय क्लबहरु राम्रो रहेको बताएकी छन् । जसमा उनले एपीएफ, पुलिस र आर्मी उत्तिकै बलिया टोली रहेको बताइन् । उनले नेपालकी स्टार फुटबलर सावित्रा भण्डारीको तारिफ गरिन् ।

‘उनको (सावित्रा) को बारेमा सुनेकी छु । उनले राम्रो खेल्छिन्,’ उनले भनिन् ।

रुथले वालिङको रक्षापङ्ती सम्हालिरहेकी पुष्पा गुरुङ राम्रो रक्षक रहेको बताइन् । यस्तै, वालिङकी कप्तान सरस्वती हमालको समेत उनले तारिफ गरेकी छिन् ।

फुटबल र पढाइका लागि अमेरिका जाँदै

रुथ नेपालबाट फर्केपछि अमेरिका जानेछिन् । उनले अमेरिकाको एक फुटबल एकेडेमीमा छात्रवृत्ति पाएकी छन् । अमेरिकामा उनले खेल्ने र पढ्ने दुवै कामलाई अघि बढाउनेछिन् ।

रुथले अमेरिका गएर राम्रो फुटबल सिकेर क्यामरुन फर्किने योजना सुनाइन् । ‘म अध्ययन र फुटबल सिक्नका लागि अमेरिका जाँदैछु । यहाँबाट फर्किएपछि जाने हो,’ उनले अगाडि थपिन्, ‘मेरो लक्ष्य क्यामरुनको सिनियर टिमबाट खेल्नु हो ।’

रुथको प्रशिक्षक पनि पूर्व क्यामरुनी फुटबलर भएकाले उनलाई अझै राम्रो गर्न प्रेरणा मिलिरहेको उनले बताइन् । रुथ जारी लिगमा डबल ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

उनले चौदण्डीगढीविरुद्धको पहिलो राउण्डको लिगमा डबल ह्याट्रिक गरेकी थिइन् । उनी पछि नेपाल तथा एपीएफकी सावित्रा भण्डारीले विराटनगरविरुद्ध १२ गोल गरेकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ४४ बजे

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई