एमाले एकता सहमतिनजिक, आज ‘निर्णायक’ वार्ता « Khabarhub

एमाले एकता सहमतिनजिक, आज ‘निर्णायक’ वार्ता


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदलले आज ‘निर्णायक’ वार्ता गर्ने भएको छ । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

कार्यदल सदस्य प्रदीप ज्ञवालीले यसअघि हिजोको छलफल निष्कर्षउन्मुख भएको र आज टुंगोमा पुग्ने बताए ।

बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादले पनि विवाद समाधान हुने संकेत मिलेको हो ।

होटल मेरियटमा भएको छलफलमा दुई नेताबीचको संवाद सकारात्मक भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन् । वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ ।

ओली-नेपाल वार्तामा पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ । एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफल सकारात्मक भएको बताए ।

‘सकारात्मक ढंगले कुरा भएको छ । अब छिटै निकास निस्कनेमा आशावादी छौं,’ नेता पाण्डेले भने ‘संयुक्त विज्ञप्ति आउने विषय धेरै अघि बढेको छ, आज बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’

कार्यदलका संयोजक समेत रहेका नेता सुवासचन्द्र नेम्वाङले बैठकमा गम्भीर र सकारात्मक छलफल भएको बताए । बिहीबारसम्ममा सबै विवादित विषयमा सहमति जुट्ने उनले बताए । अहिलेसम्म भएको प्रगतिबारे शीर्ष नेताहरूसँग समेत छलफल भएको उनले जानकारी दिए ।

कार्यदलका सदस्यहरू विगत तीन दिनदेखि निरन्तर छलफलमा छन् । सोमबार, मंगलबार र बुधबार गरी तीन दिनको छलफलपश्चात् पार्टी एकताको खाका तयार गर्न कार्यदलबीच सहमति जुटेको हो ।

कार्यदल सदस्य तथा एमाले सचिव गोकर्ण विष्टले नेकपा एमालेको पूर्ववत कमिटी ब्युँताउने विषयमा सहमति जुटिसकेको,  अदालतमा विचाराधीन मुद्दा र संसद विघटनका बारेमा समेत साझा धारणा तय गर्ने विषयमा कार्यदलमा छलफल जारी रहेको बताए ।

उनले भने, ‘धेरै बुँदामा सहमति नजिक पुगेका छौँ । पार्टी र जनवर्गीय संगठनलाई पूर्ववत बनाएर क्रियाशील बनाएर जाने सन्दर्भमा केही समयअघि नै सहमतिका पुगेका थियौँ । लामो समयको विवादलाई समाधानमा ल्याउनका लागि अनौपचारिक/औपचारिक प्रयत्न आवश्यक पर्दारहेछन् ।’

कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : १२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर