यस धर्तीका समस्त सीताहरूलाई | Khabarhub Khabarhub

यस धर्तीका समस्त सीताहरूलाई


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायणको भिडियो शृङ्खलामा रावणको भूमिका निर्वाह गर्ने अरविन्द त्रिवेदी नामका कलाकारको यसै साता ८२ वर्षको उमेरमा मृत्यु भयो । रावण भन्नासाथै हामी धेरैको मनमस्तिष्कमा तिनै अरविन्दको घुमाउरो जुँगा, ठूलो स्वर, अट्टाहास र अहङ्कार याद आउँछ । के रावण साँच्चै खराब थिए ? कि उनी खराब देखाइए ?

आजसम्मका अधिकांश शिवभजनका रचयिता त्रेतायुगका रावणको समुद्रपारीको कथामा आजको मेरो आलेख समर्पित छ ।

दशैँ सनातन संस्कारको महत्वपूर्ण पाटो हो जहाँ असत्यमाथि सत्यको विजय मनाउने गरिन्छ । सत्य अर्थात राम अनि असत्य अर्थात रावण; यी दुई विपरीत ध्रुवबीच रामायण र दशैँका सङ्घारहरू कोरिएका छन् ।

मलाई चाहिँ कहिलेकाहीँ शास्त्रले रामको जयकार मनाउन रावणलाई अनेक तरिकाले नराम्रो देखाएको जस्तो भान हुन्छ । रावणलाई शास्त्रहरूले कहिलेकाहीँ उल्टो व्याख्या गरेको पो हो कि ! रामायण यतिमात्र नहोला कि ! राम र रावणको युद्धलाई अनि रावणको हारलाई एउटा नयाँ दृष्य दिन जरुरी छ कि भन्ने एउटा तर्क छ ।

रामायणलाई एउटा हिन्दु चलचित्रको सस्तो द्वन्द्व अनि नायकको जित र हिस्रंक खलनायकको हारभन्दा अलिक फरक व्याख्या गर्न जरुरी छ । रावण खलनायकभन्दा धेरै अरू कुरा पनि हुन् जसलाई शास्त्रसाहित्यले व्याख्या गर्न जरुरी नठानेको होला ।

अर्कोतर्फ नायकको नायकीको अनुपात खलनायकको खलनायकीमा पनि निर्भर गर्छ । रावण नै नभएको भए रामको महत्व पनि त खासै हुने थिएन होला !

एक जना आर्यन राजा र अर्का एक जना द्रभिड राजाबीचको द्वन्द्व र एउटा धर्म अनि धर्मपथ भड्केका राजाबीचको द्वन्द्वको कथा हो रामायण । रामायणमा रावणको उपस्थितिले आफू जतिसुकै शक्तिशाली भए तापनि सत्य र धर्म भएको आफूभन्दा सानै र कम शक्तिशाली प्रतिस्पर्धीसँग आफ्नो हार र अन्त्य देखाउन र बुझाउन खोजेको छ ।

रावणको उपस्थिति

वाल्मीकि रामायणले रावणलाई खलनायकका रूपमा प्रस्तुत गरेको छ । जसरी अँध्यारोबिना उज्यालो सम्भव छैन त्यसरी नै खलनायकको भूमिकाबिना नायक पनि सम्भव छैन । रामलाई मर्यादा पुरुषोत्तम बनाउन रावणको भूमिका चर्चायोग्य छ । कहिलेकाहीँ रामायणले रावणलाई अन्याय गरेको जस्तो पनि भान हुन्छ ।

सिद्धपुरुष रावण शिवका परमभक्त थिए । तिनले किन सीतामातालाई हरेर लगे ! सीतासँग रावणले जबर्जस्ती गरेनन् । सीतालाई मर्यादापूर्वक वाटीकामा विराजमान गराएका रावण रामसँगको युद्धमा मारिए । त्रेतायुगको यो कथा अनि विजयोत्सवको द्योतकका रूपमा हामी नेपाली लगायत समस्त सनातन परिवार दशैँ मनाउँछौँ ।

कतिको तर्क छ कि रावणले आफ्नो मृत्यु र मोक्ष रामको हातबाट मात्र हुने तथ्य चाल पाएर रामबाट आफ्नो बध हुने अवस्था सिर्जना गरेका हुन् । रामायणका यी कुराहरूको प्रमाण अहिले पनि रामको भन्दा रावणको अर्चना गर्ने दक्षिण भारतीय बासिन्दा अनि श्रीलङ्काका परम्पराहरूले दिएका छन् ।

भारतको मध्य प्रदेशमा पर्ने बिदिसा जिल्लाको नेत्रन भन्ने ठाँउमा कन्युकुब्जा ब्राह्मणहरूले आफ्नो कुलपूजामा रावणको पूजा गर्छन् । रावरणलाई यसरी पुज्ने प्रसिद्ध मन्दिर छ । रावणकै अर्को मन्दिर भारतको कानपुरमा छ, दशहरा अर्थात नवरात्रभरि यो मन्दिर खुला रहन्छ । ककिनाडा, आन्द्र प्रदेश  रराजस्थानसम्म पनि रावणका प्रतिमा र मन्दिरहरू छन् ।

दशानन् रावण खासमा त्यति धेरै तुच्छ थिए जो कसैकी श्रीमतीलाई हरण गरेर आफ्नो भोग विलासका लागि राख्ने मनसाय राखून् ! त्यसो थियो भने स्वर्ग जाने सिँढी बनाउने रावणको ज्ञान र भक्तिभावलगायत प्रजाप्रतिको मोह केवल एउटा स्त्रीलम्पट राजाका लागि सम्भव थियो !

हिन्दु दर्शनको महत्वपूर्ण पुस्तक ‘रावण सहिंता’ का रचयिता रावणको बारेमा शास्त्रले उत्खनन् गरेको छैन । हामी सीतालाई फिर्ता लगेर अग्निपरीक्षा दिन लगाउने रामलाई मर्यादा पुरुषोत्तम मान्छौँ । यस्ता धेरै रहस्यहरू रामायणले आफूमा पोको पारेको छ । आज मैले रामायणका रावण नियाल्ने प्रयास गरेको छु ।

रावणको नाम

शिवको कैलाश लङ्कामा सार्छु भनेर रावणले कैलाश पर्वत उठाएका थिए । त्यसै बखत रावणको औँला शिवको पैतालाले टेकियो । पीडाले छटपटाएका रावणले शिव रिसाउलान् भनेर नृत्य प्रदर्शन गरे । शिवले प्रशन्न भई रावण (ठूलो आवाजमा बोल्ने) नामकरण गरिदिए ।

रामायणको एक प्रमुख पात्र रावणको व्यक्तित्वबारे धार्मिक पुस्तकहरूबाट धेरै पाइएका छन् । रावण छुवाछुत अन्त्यका प्रणेता, अन्धविश्वास विरोधी र कर्तव्यपरायण थिए । उनले मातासीताको सम्मान गरे, अशोक वाटिकामा पुरुषलाई प्रवेश निषेध थियो, आफू पनि प्रवेश गरेनन् ।

धर्मको लागि आफ्नो सन्तानको समेत बलिदान गर्ने सामर्थ्य थियो । अनेक वेद र कविताका लेखक थिए । आफ्ना भाइबहिनीप्रति गहिरो माया थियो । महिलालाई बराबरीको सम्मान गर्थे । आफ्ना प्रजाको सुख र समृद्धिका लागि समर्पित थिए ।

रावण हामीले भन्ने गरेजति खराब थिए भने अन्तिम अवस्थामा ज्ञानका कुरा सुन्न रामले लक्ष्मणलाई रावणका सामु पठाउने थिएनन् । सीताहरण जति नाजायज थियो, अग्नि परीक्षामा पठाउनु त्यति नै नाजायज । नत्र सीता किन धर्तीमा विलीन हुन्थिन् !

नादीशास्त्रका अनुसार रावण आर्युवेदका कुशल ज्ञाता र सङ्गीतज्ञ थिए । उनले बिणा बजाँउदा देवताहरू धर्तीमा अर्लिएर सुन्थे । शास्त्रमा उल्लेख गरिएको ‘पुष्पक विमान’ र  अनि प्रशासकका रूपमा रामले पनि रावणसँग अन्तिम घडीमा आफ्ना भाइ लक्ष्मणलाई ज्ञान आर्जनका लागि पठाएका थिए ।

जैन धर्ममा २४ तिर्थाङ्कारहरूको सूचीमा कृष्ण, महावीर लगायत रावण पनि पर्दछन् । जैन धर्मको रामायणमा त रावण सीताका पिताका रूपमा व्याख्या गरिएका छन् । मर्यादा पुरुषोत्तम राम, सीता, जनकपुरदेखि अयोध्या र वनवाससम्मको कथामा रावण खलनायकका रूपमा देखाइएका छन् ।

धनका राजा कुवेरका जेठा दानु रावण ब्रह्माका दश वटा मानसपुत्रमध्ये प्रजापति पुलत्स्य ऋषिका नाति हुन् । अहिले पनि भारतको जोधपुरका देव मुडगल गोत्रका ब्राह्मणहरू आफूलाई रावणका सन्तति बताउँछन् । हरेक वर्ष नवरात्रमा रावणको श्राद्ध गर्छन् ।

रावणले सीताहरण गर्नु जति नाजायज थियो, रामले सीतालाई अग्निपरीक्षामा पठाउनु पनि त्यति नै नाजायज थियो । रामायणका कुनाकन्दरामा राम पनि मर्यादामा ढलपल भएका जस्ता लाग्छन् ।

रामको अदालत

सीताले आफ्नो नारीवाद र उपस्थितिलाई बलियो पार्दै अग्निपरीक्षापछि रामसँग नबस्ने निर्णय लिनुभयो र धर्तीमा लीन हुनुभयो । रामको मनमा लव र कुश आफ्नै छोरा हुन् कि रावणका भन्ने द्विविधा हुनु त रामको पितृसत्तात्मक सोचको उपज थियो ।

रामायणमा रावणको प्रवेशअघि पनि धनुषवाण तोड्ने प्रतिस्पर्धामा रामले जितेर बिहे गरेकी सीताले नारीका रूपमा स्वतन्त्रता पाइनन् । रामसँगको वनवासलगायतमा उतारचढावसँगै रावणको प्रवेश भयो ।

रामले रावणलाई जिते पनि रामको अदालतमा सीताको हार भयो । लङ्काबाट ल्याइएकी सीतारानी पटकपटक प्रश्नको चौघेरामा पारिइन् । अन्ततः धर्तीमा समाहित भइन् । हामीले तिनै सीताको नारीत्व र त्यागको गुणगान गर्दै आएका छौँ ।

रामभन्दा अघि सीतामाताको नाम लिदै, जानकी मन्दिरको अलिक परतिर राम मन्दिर पनि राख्दै इतिहासले रामसीतालाई न्याय दिन त खोजेको हो तर रामायणको निचोडले कहिलेकाहीँ यो पक्षलाई ओझेलमा पारिदिन्छ ।

रामको साटो रावणले युद्ध जितेको भए के हुन्थ्यो ! सीताको अग्निपरीक्षा हुँदैन थियो कि ! रामायण लेखिन्न थियो कि !

फेरि मनमा वर्तमान समाज उभिन आउँछ । आखिर अहिले हाम्रो समाजमा रावण प्रवृत्तिकै त जित त छ । निर्मला हत्याकाण्डका रावणले जिते, घटना धर्तीमै बिलायो । बलात्कार र एसिड आक्रमण भएकै छ । खलनायकको जगजगी कहाँ घटेको छ र !

सीताको हकमा रावण त परको कुरा, कहिलेकाहीँ राम पनि निरङ्कुश लाग्छन् । राम हरिका रूप हुन् । मैले यस लेखबाट रामपात्र या रावणपात्रबाट नारीवाद निचोरेर निकाल्न खोजेको छैन, तत्कालीन समाजको नारीसम्मान र स्वतन्त्रताको पक्ष आजको समाजसँग तुलना गर्न खोज्दैछु ।

सामान्य अर्थमा लोक र प्रजाहरूको अनेकन प्रश्नपछि आफ्नै पतिले पनि पतिब्रतामाथि प्रश्न उठाएर अग्निपरीक्षा लिए । यसपछि सीताले देहत्याग गरिन् । सीताको जीवनमा नारी हुनुका नाताले केवल त्याग, बलिदान र कष्ट देखापर्छ ।

सनातन संस्कार र सभ्यतामा नारीको ठूलो स्थान छ । कहिलेकाहीँ त सीता रामायणमा रावण र रामभन्दा पनि धेरै गुणा शक्तिशाली देखापर्छिन् । रावणले हरेर लगेपछि पनि एक वर्ष लङ्का बस्दा रावणका अनेकन त्रास, भय र प्रलोभनबाट पनि सीता गडमगाइनन् । उनले रावणका हरेक शक्तिलाई चुनौती दिइन् ।

रामले वनवासमा सीतालाई नलैजान अनेक भय देखाए पनि अन्नत सीता आफ्नै निर्णयमा वनवास गइन् । अयोध्याकाण्डमा राम पिताको आज्ञाअनुसार वनवास जानुपर्ने भएपछि भरतलाई राजा बनाउन आग्रह गर्छन् । सीतालाई आफूसँग वनवास नजान आग्रह गर्छन् ।

रामको यस्तो आग्रहमा सीताको जवाफ सङ्क्षेपमा यस्तो थियो– हे राम, तपाईंका कुराहरूले मैले वनवासको दुःखका बारेमा थाहा पाएँ । तपाईंका  सुझावले मैले आफूलाई साह्रै कमजोरजस्ती पाएँ तर म कदापि त्यस्ती छैन । एउटी नारीका लागि न उनको बुबा, न पति न पुत्र या पुत्री, कसैले पनि अबउप्रान्त निर्णय गरिदिने छैनन् । म आफ्नो निर्णय आफैँ गर्दैछु र तपाईंका साथ वनवास जाँदैछु ।

सीताका कतिपय दृढसङकल्प, आत्मसम्मान र स्वाभिमानका कुरा शास्त्रहरूबाट झिक्न सकिने खालका छैनन् । ब्रिटिसहरूले जागिर दिएका जर्मन अनुवादक म्याक्स मुलरका अर्ध अर्थ र उल्टो अर्थ लाग्ने अनुवादको आधारमा हामीले हाम्रा ग्रन्थबाट पक्कापक्की अर्थ निकाल्न छाड्यौँ कि !

अब हाम्रा पुराण र सनातन कर्ममा मन्त्र, अर्थ अनि भजनसँगै दर्शन पनि पस्किन जरुरी छ । रावण, राम अनि सीता सबैको आआफ्नै सान्दर्भिकता छ ।

यस दशैँमा यस धर्तीका समस्त सीताहरूलाई आत्मविश्वास र सार्मथ्य प्राप्त होस् । हामी सबैको मनमा राम र रावण दुवै छन् । त्याग्नु पर्ने त्यागौँ, राख्नुपर्ने राखौँ ।

दशैँको शुभकामना !

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : २३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला