कोरोना कहर : मातातीर्थ मेला स्थगित | Khabarhub Khabarhub

कोरोना कहर : मातातीर्थ मेला स्थगित


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घर घरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसी समेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ– ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमा समेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसकेपनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४५ बजे

बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द

रसुवा– नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः

कालोपट्टी बाँधेर प्रदर्शनमा मिटरब्याजपीडित (तस्बिरहरू)

काठमाडौं– सिराहा जिल्ला लाहान नगरपालिका ३ स्थायी घर भएका सीता

रूसी भूकम्पपछि कम्तीमा १५ देशमा सुनामी चेतावनी : कहाँ कहाँ पर्छ प्रभाव ?

मस्को– रूसको कामचाट्का प्रायद्वीपमा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभरका

माइतीघरमा खोटाङका मेयर भट्टराई आमरण अनशनमा (तस्बिरहरू) 

काठमाडौं– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन

मस्को- रूसको पूर्वी प्रायद्वीप कामचाट्कामा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई