नयाँ कोभिड–१९ भ्याक्सिन प्रयोग गर्ने अनुमति दिएपछि चिनियाँ जनताले चार भिन्न प्रकारका कोरोना भ्याक्सिनमध्ये कुन प्रयोग गर्ने भनेर छनोट गर्न पाउने छन् । यी चारैवटा भ्याक्सिन चीनमा नै उत्पादन भएका हुन् ।
चीनले आफैँले उत्पादन गरेको भ्याक्सिन मात्रै प्रयोग गर्ने नीति लिएको विषयलाई कसैले आन्तरिक बजार शक्तिको उपजका रूपमा लिन सक्छन् । खासगरी माग, आपूर्ति र मूल्यका हिसाबले आन्तरिक उत्पादनलाई नै बढावा दिने नीति लिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यदि चीनले उत्पादन गरेको भ्याक्सिनको प्रभावकारिता अन्य देशमा उत्पादन भएको भ्याक्सिनकै जस्तो हुन्थ्यो भने आफैँले उत्पादन गरेको भ्याक्सिन प्रयोग गर्ने चिनियाँ नीति बुझ्न सकिन्थ्यो ।
अझ चिनियाँ औषधि कम्पनीले उत्पादन गरेको भ्याक्सिन अन्य देशको भ्याक्सिनको तुलनामा कम मूल्यको हुन्थ्यो भने उसको व्यापार नीति तर्कसङ्गत पनि लाग्न सक्थ्यो ।
अवस्था यस्तो छैन । अमेरिकाको औषधि उत्पादक कम्पनी मोडर्ना र फाइजरले प्रभावकारिता परीक्षणमा ९५ प्रतिशत सफलता प्राप्त गरेका छन् । चीनले यी भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिएको छैन ।
प्रभावकारी परीक्षणमा अमेरिकी भ्याक्सिनले ९५ प्रतिशत सफलता प्राप्त गर्दा चिनियाँ भ्याक्सिनले प्रभावकारिता परीक्षणमा ५० प्रतिशतभन्दा कम सफलता प्राप्त गरेको छ ।
यी भ्याक्सिनहरू चीनमा मात्रै प्रयोग गरिएको छैन, चीनले सहयोग गरेका र भ्याक्सिन बेचेका अन्य देशले पनि प्रयोग गरेका छन् ।
संयुक्त राष्टसंघको मानवीय समन्वय मामिलाको कार्यालय (ओसीएचए) का अनुसार ‘प्रभावकारिता’ को मतलव ‘खोप परीक्षणमा रोग/रोगजन्य वस्तुबाट सुरक्षा’ भन्ने बुझिन्छ भने ‘प्रभावशीलता’ भनेको ‘क्लिनिकल परीक्षणभन्दा बाहिरको अवस्था’ भन्ने बुझ्नुपर्छ ।
सुरक्षित, प्रभावकारी र समयमै कोभिड–१९ भ्याक्सिन विकास गर्नु चिनियाँ औषधि उत्पादक कम्पनीका लागि आजको मितिसम्म ठूलो चुनौतीको विषय हो ।
आगामी १० वर्षमा औषधि उत्पादकका हिसाबले विश्वकै सबैभन्दा ठूलो देश हुने लक्ष्य राखेको चीनका लागि कोभिड–१९ भ्याक्सिन चुनौतीका रूपमा देखा परेका छ ।
यो चुनौती उद्योगभित्र मात्रै सीमित छैन । आपतकालीन अवस्थामा चीनले उत्पादन गरेको कोरोना भ्याक्सिनको प्रभावकारिताका विषयमा प्रश्न उठ्दा अन्य समयमा त्यहाँ उत्पादित औषधि कसले प्रयोग गर्लान् भन्ने प्रश्न स्वाभाविक रूपमा आउँछ ।
चीनमा अवस्थित डाक्सवे परामर्शदाताले चीनका औषधि उत्पादक कम्पनी सम्बन्धी आफ्नो हालैको एक विश्लेषणमा भनेको छ, ‘चीनको स्वास्थ्य उद्योगमा भएको तीव्र वद्धिका कारण ऊ औषधि उत्पादक मात्रै नभएर अनुसन्धान र विकासको केन्द्र बन्ने दिशातर्फ उन्मुख छ ।’
डाक्सवेका अनुसार चीनले हाल विश्वको औषधि बजारमा ११ प्रतिशतको हिस्सा ओगटेको छ । चीनको सबैभन्दा ठूलो बजार अमेरिका हो । तर, अहिलेकै अवस्थाबाट आगामी १० वर्षमा विश्वमा आफ्नो प्रभाव जमाउन चीनको औषधि उत्पादक बजारले धेरै कुरा एकीकृत गर्नुपर्ने हुन्छ ।
चीनले आफ्नो ‘औषधि उत्पादक कम्पनी सुधार’ का ‘तलदेखि माथिसम्म’ धेरै प्रयास गरेको छ । डाक्सवे भन्छ, चीनले यसका लागि ठूलो मात्रामा धनराशी खर्च गर्नुका साथै अनुसन्धान र विकासमा जोड दिएको छ । उसले आफ्ना औषधि उत्पादक कम्पनीलाई अन्तर्राष्ट्रिय गुणस्तरसँग प्रतिस्पर्धामा उर्तान सक्दो प्रयास गरेको छ ।
चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन प्रभावकारी रहेको दाबी गरेको छ तर उनीहरूको प्रभाकारिताको तथ्यांक विश्वको तथ्यांकसँग मेल खाँदैन ।
उनीहरूको परीक्षण प्रभावकारिता ५० प्रतिशत अथवा त्योभन्दा कम छ । जबकि अमेरिकाले उत्पादन गरेका दुई भ्याक्सिन (एउटा जर्मनीसँगको सहकार्यमा उत्पादन भएको) चीनको भन्दा निकै प्रभावकारी पाइएको छ ।
कोभिड–१९ को नकारात्मक प्रभाव रहेका स्थानमा चिनियाँ भ्याक्सिनले प्रभावकारी काम गर्न सक्छ भन्ने विषयमा कुनै प्रश्न नै छैन ।
कोरोना महामारी तर्कले मात्रै नियन्त्रण गरेको देखिँदैन । यसमा चीनको आग्रह कायमै रहनेछ । आफ्ना नागरिकलाई चीनमै उत्पादन भएको भ्याक्सिन प्रयोग गर्न बाध्य पारेको विषयले चीनमा राजनीतिले तर्कलाई दमन गरेको देखिन्छ ।
नेचर अनुसन्धानमा ‘ब्राजिलका अनुसन्धानकर्ताहरूले जनाएअनुसार चीनको सिनोभ्याक्सले विकसित गरेको कोरोनाभ्याक्स मध्यम खालको कोभिड–१९ सँग जुध्न ५० दशमलव ४ प्रतिशत प्रभावकारी रहेको छ ।
उनीहरूले के पनि औँल्याएका छन् भने ९० प्रतिशत प्रभावकारी रहेको भ्याक्सिनका तुलनामा चीनको भ्याक्सिन कम प्रभावकारी देखिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नै देशमा उत्पादन गरिएको भ्याक्सिनका विषयमा चीनका जनता खासै विश्वस्त देखिँदैनन् ।
जुन देशमा पार्टीको निर्णयभन्दा बाहिर जानु चुनौतीपूर्ण हुन्छ, त्यो देशका नागरिक आफ्नै देशमा उत्पादित भ्याक्सिन प्रयोग गर्न हिच्किचाइरहेका छन् । यसरी हिच्किचाउनेमा स्वास्थ्यकर्मीहरू पनि छन् ।
‘सोफिया कु, जो ग्वाङदोङ प्रदेशको अस्पतालमा डाक्टर छिन्, उनी आफैँले चीनमा उत्पादित भ्याक्सिन प्रयोग गरेकी छैनन्, कारण नकारात्मकको प्रभाव देखिन सक्ने उनलाई डर छ । ‘आधाभन्दा कम सहकर्मीले मात्रै भ्याक्सिन प्रयोग गरे’, उनलाई उद्धृत गर्दै ब्लूमबर्गले समाचार प्रकाशित गरेको छ ।
लगातार हुने घोटला र समय गुज्रिएका औषधिको प्रयोग जस्ता विषयले चिनियाँ नागरिकमा त्यहाँ भ्याक्सिन उत्पादन गर्ने स्थापित उद्योगका विषयमा पनि चिनियाँ नागरिकमा विश्वासको कमी देखिन्छ । नवनिर्मित भ्याक्सिनका विषयमा पनि त्यहाँका नागरिकमा विश्वासको कमी देखिन्छ ।
कोभिड–१९ को भ्याक्सिन जसको प्रभावकारिता पनि बढी छ यस्तो भ्याक्सिनलाई राजनीतीकरण गरेर चिनियाँ बजारमा नभित्र्याएको विषयलाई चिनियाँ नेतृत्व के भन्छ ? नेतृत्वलाई उसका उच्च वर्गीय र मध्यम वर्गीय नागरिकले विदेशी सामानमा विश्वास गर्छन् भन्ने थाहा छ । प्रयोगका लागि विश्वव्यापी स्वीकृति पाएको भ्याक्सिनलाई राजनीतिक कारणले प्रयोग गर्न नदिनु राम्रो रणनीति मान्न सकिँदैन ।
कोरोना महामारी सम्बन्धी विषयमा तर्कले मात्रै नियन्त्रण गरेको देखिँदैन । यस विषयमा केही समयकै लागि भए पनि चीनको आग्रह कायम नै रहनेछ । आफ्ना नागरिकलाई चीनमा नै उत्पादन भएको भ्याक्सिन प्रयोग गर्न बाध्य पारेको विषयले चीनमा राजनीतिले तर्कलाई दमन गरेको देखिन्छ ।
चीनमा उत्पादित भ्याक्सिन पश्चिमा देशमा उत्पादित एउटा मात्रै होइन दुई वटा भ्याक्सिनको परीक्षण प्रतिशतमा नजिकसम्म नपुगेको देख्दा औषधि उत्पादन बजारलाई आगामी १० वर्षमा नेतृत्व गर्ने उसको लक्ष्य के हुन्छ भन्ने प्रश्न टड्कारो रूपमा उब्जिएको छ ।
कोरोना महामारीको व्यवस्थापन र उपचारलाई सन् २०२० मा धेरै देशले राजनीतीकरण गरेको देखियो । विदेशमा उत्पादित भ्याक्सिनले चीनमा स्थान नपाएको विषय पनि भ्याक्सिनको राजनीतीकरणसँग जोडिएको अर्को विषय हो ।
(बोनी गिरार्ड चीन च्यानल लिमिटेटकी अध्यक्ष हुन् । आफ्नो युवा अवस्थाको आधा समय चीनमा बसेकी उनले् बेइजिको फरिन अफेर्यस कलेजमा अध्ययन गरेकी छन् । २६ फेब्रुओरी २०२१ मा द डिप्लोम्याटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया