बिस्का जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ जना घाइते « Khabarhub

बिस्का जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ जना घाइते


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा शनिबार शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

शनिबार अपराह्न ४ बजे रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय  दिपेश साँगाछें घाइते भएका छन् ।

घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुर्‍याइएको छ ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो ।

भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनी बताउँछन् ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । – रासस ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ५८ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन