अपराधमा जनप्रतिनिधि : राजनीतिक पहुँचको आड | Khabarhub Khabarhub

अपराधमा जनप्रतिनिधि : राजनीतिक पहुँचको आड



काठमाडौँ– जनताको सेवामा अहोरात्र खटिने बाचाका साथ निर्वाचित कतिपय जनप्रतिनिधि एकपछि अर्को अपराधका घटनामा मुछिएका छन् । २०७४ सालमा भएको तीन तहको चुनावपछि जनप्रतिनिधि अपराधमा मुछिएका घटना बढ्दो क्रममा छ ।

कतिपय जनप्रतिनिधिहरू बलात्कार प्रयास, बलात्कार, कोठी सञ्चालन, व्यक्ति हत्या, तस्करीलगायतका अपराधमा मुछिएका छन् । यस्ता जनप्रतिनिधिमध्ये कोही न्यायिक निकायबाट फैसला भएर कैद सजाय भुक्तान गर्दै छन् भने कोही पुर्पक्षका लागि थुनामा छन् । कोही धरौटीमा छुटेका छन् भने कोही फौजदारी अभियोग लागे पनि पदमा बहाल छन् ।

जनप्रतिनिधिको अपराध यात्रा

२०७६ असोज १९ मा संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परे । उनले सफाइ पाइसकेका छन् । कैलालीबाट निर्वाचित रेशम चौधरी कैलाली हत्याकाण्डमा जेलमा छन् ।

२०७६ असोज २८ गते राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् प्रमोद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भीआईपी कक्षबाट पक्राउ परे । प्रहरीले उनलाई जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ गरेको थियो ।

२०७६ असोज २६ गते रौतहट क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गर्‍यो । उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनको क्रममा बम बनाउन लगाएको र सर्वसाधारणको ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

२०७६ माघमा ज्यान मार्ने उद्योगको अभियोग लागेका संघीय सांसद अभिषेकप्रताप शाह ५ लाख रुपैयाँ धरौटीमा छुटे । उनीमाथि गत पुस १७ मा मुद्दा दर्ता भएको थियो । घरमा बोलाएर कुटपिट गर्दै ज्यान लिने प्रयास गरेको भन्दै कृष्णनगर नगरपालिकाका श्याम मिश्राले शाहविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी गरेका थिए । शाह कपिलवस्तु–३ बाट कांग्रेसका प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको अभियोगमा जन्मकैद भुक्तान गरिरहेका छन् । चौधरी भूमिगत अवस्थामा नै राजपाबाट चुनाव जितेर सांसद बनेका थिए ।

उनलाई कारागारबाट ल्याएर संसद् भवनमा शपथ गराइयो र फेरि कारागार पठाइयो । २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) र एक नाबालकसहित ८ जनाको हत्या भएको थियो । चौधरीले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पर्सा क्षेत्र नम्बर ३ बाट समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियार निलम्बनमा परे । रौनियार पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए ।

उल्लिखित घटनाहरू संघीय सांसद् संलग्न भएका घटनामात्र हुन् । प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख हुँदै वडा सदस्यसम्म गरी पछिल्लो तीन वर्षमा १३७ जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरका अनुसार उनीहरू हत्या, बलात्कार, तस्करी मानव बेचविखनलगायतका आरोपमा मुछिएका छन् ।

यस्तो छ जनप्रतिनिधि पक्राउको तथ्यांक

कति जनप्रतिनिधि कुन अपराधमा ?

प्रहरी प्रधान कार्यालयको अभिलेख अनुसार सबैभन्दा बढी २६ जना जनप्रतिनिधि अभद्र व्यवहार तथा केही सार्वजनिक अपराधका घटनामा मुछिएका छन् । झुठा विवरण पेश गरेर नागरिकता बनाएको अभियोग १९ जना जनप्रतिनिधिलाई लागेको छ । विभिन्न प्रदेशका गरी ९ जना जनप्रतिनिधि ज्यान मार्ने उद्योगमा अभियुक्त छन् ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार ८३ जना जनप्रतिनिधि सरकारी छाप किर्ते, जुवातास, जबजस्ती करणी, सवारी ज्यान, कर्तव्य ज्यान, जातीय छुवाछुत, लागुऔषध, बहुविवाहलगायतका घटनाका अभियुक्त छन् । बोक्सीको आरोप, सङ्गठित अपराध, मानव बेचविखन, बैंकिङ कसुर, मूर्ती चोरी, कोठी सञ्चालनलगायतका घटनामा समेत केही जनप्रतिनिधि मुछिएका छन् ।

अपराधमा जनप्रतिनिधिको संलग्नताबारे प्रहरीले उपलब्ध गराएको तथ्यांक

राजनीतिको आडमा अपराध

अहिलेसम्म जनप्रतिनिधिहरू आपराधिक क्रियाकलापमा मुछिएका घटना हेर्दा राजनीतिक आडमा अपराध बढ्दै गएको देखिन्छ । विश्लेषकहरूका अनुसार पनि राजनीतिक आडमा अपराधका घटना हुने गरेका छन् ।

राजनीतिक विश्लेषक कपिल श्रेष्ठ भन्छन्, ‘राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढ्दै गएको छ । अझ पहुँचमा पुग्ने बित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोचका कारण समस्या झनै बढेको छ ।’

अर्का राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार पहिला अपराधी आफ्नै जगबाट अपराध गर्छ र नेताको नजिक पुग्छ अनि मिलिभगतमा आतंक मच्चाएर राजनीति गर्छ । केसीले ‘थ्री एम’ अर्थात मनी, माइन्ड, मसल संसदीय निर्वाचनमा अनिवार्य भएकाले चुनाव जित्नकै लागि राजनीतिक दलका नेताहरूले गुन्डाहरूलाई साथमा लिने गरेको आरोप लगाए । पहिले साथ लिएका व्यक्तिलाई पछि व्यवस्थापन गर्न नसक्दा अपराधका घटना हुने गरेको केसीको बुझाइ छ ।

राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढेको हुनसक्छ । अझ पहुँचमा पुग्ने बित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोच पनि बढ्दै गएको हुनसक्छ । जननिर्वाचित प्रतिनिधिहरू अपराधमा संलग्न हुनु विडम्बना हो ।

जनप्रतिनिधिहरू आपराधिक घटनामा मिलापत्र गराएर अपराधीलाई जोगाउन सक्रिय हुने गरेका घटना पनि सार्वजनिक भएका छन् । जब अपराधमा राजनीति र राजनीतिमा अपराध मिसिएपछि पीडितका लागि न्याय आकासको फल हुन्छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ५९ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल