गलत प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु: श्वेता | Khabarhub Khabarhub

गलत प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती परिक्रमा गर्छु: श्वेता


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नायिका श्वेता खड्काले माझी बस्तीलाई लिएर भ्रामक समाचारहरू प्रसारण भएको दाबी गरेकी छिन् ।

केही समययता उनले निर्माण गरेको भनिएको माझी बस्तीमा श्वेता खड्काको लगानी नै नरहेको विवरणसहितका समाचार मिडियाहरूमा प्रकाशित भएपछि उनले ती समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

उनले ३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागि अगुवाइ गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने साहस गरिरहँदा त्यो बेलामा आफ्नो अगाडि र पछाडि आफूलाई सहयोग गर्नेहरुको लर्को नभएको र त्यतिबेला आफूसँग धन पनि नभएको बताएकी छिन् ।

उनले त्यतिबेला आफूसँग ‍आत्मविश्वास र साहस भएकाले माझी बस्ती निर्माणमा जुटेको बताएकी छिन् ।

श्वेताले ‍बस्ती निर्माण गर्ने कार्य अन्तिम अवस्थामा पुगेको बताएकी छिन् । ‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेकी छु । जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर  माझी बस्ती परिक्रमा गर्न तयार छु,’ स्वेताले स्टाटसमार्फत भनेकी छिन् ।

पछिल्लो समय माझी बस्ती ऋणमा डुबेको तर स्वेताले करोडौँ खर्च गरेर बिहे गरेको भन्दै उनको विरोध हुन थालेको छ ।

केही समयअघि पत्रकार उत्सव रसाइली, स्वेता खड्का र उनकी बहिनीले कलाकार सुष्मा कार्कीमाथि अभद्र व्यवहार गरेको भन्ने समाचार बाहिरिएपछि श्वेता थप विवादमा तानिएकी थिइन् ।

विवादका बीच श्वेताले सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण लेखेकी हुन् । हेर्नुस् उनको फेसबूक स्टाटस:

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केही मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भइहेका छन् । 

‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शीर्षकका ती भ्रामक समाचारहरुसंगै माझी बस्तीका केही व्यक्तिहरूसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर  एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई  यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडीिर पछाडि मलाई सहयोग गर्नेहरुको लर्को थिएन नत मसँग प्रसस्त धननै थियो ।  थियो त केवल आत्मविश्वास अनी साहस। 

भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले  भूमिका निर्वाह गर्न सके मात्र पनि  एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले घचघच्याएको थियो मलाई ।

त्यसकै परिणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र विभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी व्यक्तिसँगको हात्तेमालोले  आज एउटा सुन्दर बस्ती निर्माणको कार्य  अन्तिम अवस्थामा पुगिसकेको छ । भुकम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा  सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाइन्’ भन्ने भ्रामक समाचार आउनु आफैँमा हास्यास्पद छ ।

मैले यस्लाई माझी बस्ती र म बीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु । माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ” भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने  ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दोषी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु । माझी बस्तीभित्रै रहेर पनि  बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम समस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्साहित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा  इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानीछनी अन्तर्वाता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई  थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर  माझी बस्ती परिक्रमा गर्न तयारछु। तर फाउण्डेशनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ? यही आरोपलाई झुटो सावित गर्नका निमित्त  म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखेट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दाफास गर्नेनैछु ।

हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्किदै गर्दा चुईँक्कसम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ” तैले त्यो  बस्तिमा के योगदान गरिस् ?” मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु । बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्रदान गर्नु भएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत  घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटोललाई बजेट मिलाउन प्रपोजलको फाइल बोकेर सयौ पटक  सिहँदरवार धाएको छु । कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्माणका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी  हरेश नखाई  जुधेकोछु ।  जीवनमा कसैसंग हात फिंजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरजबर्जस्ती गरेर सहयोग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन । माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझी टोललाई जबर्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानीय उपभोक्ता समितिसँग भलाकुसारी गर्नुपर्ने हुन्छ ।

बस्ती निर्माणपूर्व नै  ८ वटा घरको डिजाईनहरु मध्येबाट हालको डिजाइन रोज्ने स्थानियवासी नै हुन् ।  नेपाल सरकारबाट भुकम्प पीडितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाइन पनि नदेखाइएको होइन तर त्यो रकमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहमतीमा हालको घरको डिजाइन तयार गरिएको हो ।

घर निर्माणको लागि  प्राविधीकहरुले तयार गरेको  अनुमानित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले  ढोका लगायत  जस्तापाता सहयोग गर्ने प्रतिवद्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकिन्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मेवारी बोक्ने पनि निर्माण समिति नै हो ।

सरकारी अनुदान बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सहमति जुटाउने पनि स्ठानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।

अत: यही प्रावधानलाई मध्यनजर गरी घर निर्माणको कार्यमा फाउण्डेसनको तर्फबाट  जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पूर्व सहमति भएकै हो ।

घर बाहेकका नयाँ पुर्वाधारहरु जस्तै बाटो, नाला, सामुदायिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्यमा भने स्ठानीय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसँग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो ।

आजका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकै छ । अत: घर निर्माणको पाटोमा ४ लाख ऋण बोक्नुपर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्येका केही व्यक्तिले अहिले आएर आफुलाई ” नयाँ घर घाँडो भएको” भन्नु कति सम्मको जायज हो ?

सार्वजनिक निजी साझेदारी (Public-Private-Partnership ) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिकासको यो मोडल ‘दिगो बिकास’को सफल मोडल पनि हो । ‘एनजीओहरूले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनिर्भरताको सोचलाई चिर्नका लागि  जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो ।

४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ । बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेको छ । ७ लाखमा बनेको घरलाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरू छन् ।

त्यसो त, माझीहरुले बोकेको रिणको भारी तिर्नको लागि ‘होम स्टे’को परीकल्पना गरिएको छ जसले स्वरोजगार सिर्जना भई आम्दानीको स्रोत हुनेछ र ऋण तिर्नको लागि सहजता आउनेछ । यस्को लागि भौतिक पुर्वाधार निर्माणको सम्पूर्ण कार्य सकिनु जरुरी छ । अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्याय संगत होला ?

यतिखेर माझी टोलमा इट्टा र सिमेण्ट जडित भौतिक पुर्वाधारहरु मात्र बनेका छैनन्  ।  बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानीयवासीहरूले आफूले आएको  मानसिक र बौद्दिक विकासको मूल्याङ्कन पनि गर्नुपर्ने हुन्छ । बनाएको घर भत्किन्छ तर मानसिक शसक्तीकरण कहिल्यै भत्किँदैन ।

अत: बन्दै गरेको माझी बस्तीलाई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मेवारीबाट विमुख हुने छैन ।

‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ” जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।”

मेरो अतिम इक्ष्या “म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टि त्यहीं गरिओस्।”

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : २१ बजे

बर्डफ्लु संक्रमण मानिसबाट मानिसमा सर्दैन : डब्लुएचओ

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड

स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं– नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी

स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न