घोडेपानी–पुनहिलमा पूर्वाधार निर्माण तीव्र | Khabarhub Khabarhub

घोडेपानी–पुनहिलमा पूर्वाधार निर्माण तीव्र


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिल क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि धमाधम पूर्वाधार विस्तार भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विसं २०७५ मा घोडेपानी–पुनहिललाई १०० वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट करोडौँका पूर्वाधार निर्माण भएका हुन् ।

घोडेपानीका व्यवसायीले शहर बजारमा जस्तै पक्की घर र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ । पाँच वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक ५०० को हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजारभन्दा बढी पुर्‍याएको होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुन बताउँछन् ।

‘पाहुनाले बास नपाएर डाइनिङ हल र भान्छाकोठामा सुत्नुपर्ने समस्या छैन’, उनले भने, ‘तातो पानी, एट्याच बाथरुम भएका कोठा र वाइफाइको सुविधा छ ।’

समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानीमा २५ सुविधा सम्पन्न होटल छन् । यसअघि ढुङ्गा, माटो र काठले बनेका घरमा होटल सञ्चालन गरिएको थियो । अधिकांश व्यवसायीले पक्की घर बनाएका छन् । होटलको सुविधा र क्षमता बढाउन न्यूनतम रु दुई करोडदेखि रु सात करोडसम्म लगानी गरेको व्यवसायीले बताएका छन् ।

विसं २०७६ को असारमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाख बजेटबाट मार्ग खोलिएको चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक थप रु. २५ लाख खर्चेर ग्राभेल गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न रु २७ करोडको आयोजना सञ्चालन गरेको छ ।

घोडेपानीका व्यवसायी रनबहादुर पुनले सडक सुविधासँगै सवारी साधन चढेर आउने आन्तरिक पर्यटक बढेका बताए ।

‘निर्माण र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी सहज र खर्च सस्तिएको छ’, उनले भने, ‘पोखरेबगर–चित्रे सडक कालोपत्रे र कास्कीसँग सडक जोडिएपछि झनै सजिलो हुन्छ ।’

घोडेपानीदेखि कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पालिका र प्रदेश सरकारका कार्यालयमार्फत घोडेपानी क्षेत्रमा चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख बजेटका योजना कार्यान्वयनको चरणमा रहेका बताए ।

‘कोरोनाका कारण यसपालि पर्यटक नआएकाले फुर्सदमा भएका यहाँका बासिन्दा अहिले भौतिक पूर्वाधार निर्माणमा परिचालन भएका छन्’, अध्यक्ष पुनले भने, ‘पर्यटक आउँदा उपभोक्ता समितिमा बस्ने मान्छे पाउन मुस्किल हुन्थ्यो । फुर्सदको समयलाई विकासमा लगाएका छन् ।’

घोडेपानी र त्यहाँदेखि दृष्य अवलोकन स्थल पुनहिल जाने बाटोमा प्रदेश सरकारको रु २५ लाख सहयोगमा २३ वटा सोलार बत्ती जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । सोलार बत्ती जडान गरेपछि घोडेपानीमा बास बसेर उज्यालो नहुँदै पुनहिलमा जाने पर्यटकलाई सहज भएको टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए ।

पानी र हिउँ परेको अवस्थामा सुरक्षित बसेर दृष्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा रु २७ लाख ५० हजार खर्चेर तीन कोठे आश्रयस्थलको पक्कि भवन निर्माण भएको छ । यो योजनाका लागि पर्यटन विभागले गाउँपालिकामार्फत बजेट पठाएको थियो । पुनहिलको नजिकै पर्ने फुलबारीमा प्रदेश सरकारले रु १० लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमीनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ ।

नेपालमा पाइने ३१ प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्न सकिनेछ । डिभिजन वन कार्यालय म्याग्दीले रु २० लाखको लागतमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र घोडा ट्रेल, चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेला बनाउन लागेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

योजनाको डिजाइन र लागत अनुमान तयार पारी उपभोक्ता समितिसँग सम्झौता गरिसकेको उनले बताए । तीन किलोमिटर पदमार्ग बनाउन लागिएको हो । यसैगरी प्यारीबाराही तालको वरपर ३८० मिटर लामो ढुङ्गा बिछ्याएको पैदलमार्ग बनाउन घराम्दी सामुदायिक वन उपभोक्ता समूहलाई रु तीन लाख ८४ हजार उपलब्ध गराउने सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट घोडेपानी खानेपानी आयोजनाको क्षमता विस्तारको काम शुरु भएको छ । स्थानीयको थप रु आठ लाख जुटाएर ३० हजार लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण र मुहानबाट थप पानी ल्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजाले बताए ।

२० वर्षअघि भारतीय दूतावास र रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको घोडेपानी खानेपानी आयोजनाको ट्याङ्की र पाइप सानो भएकाले क्षमताले माग धान्न नसक्दा समस्या भएको छ । गाउँपालिकाबाट रु आठ लाख विनियोजन भएको मगर सङ्ग्रहालय सञ्चालन गरेको घोडेपानी आमा समूहको भवन निर्माण जारी छ ।

समूहको कोषमा रहेको थप रु १० लाख लगानी गरेर पक्की भवन निर्माणलाई पूर्णता दिने पदाधिकारीले बताएका छन् । घोडेपानीमा ढल व्यवस्थापनका लागि नाली बनाउन गाउँपालिकाले थप ६ लाख विनियोजन गरेको छ । घोडेपानी गाउँभित्र विद्युत्को तारलाई व्यवस्थित बनाउन केबुल तार राख्न थालिएको छ ।

गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट पुनहिल हुँदै मोहरे, घोडेपानीदेखि चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानी–प्यारीबाराही पदमार्ग निर्माण समितिका अध्यक्ष सुशील पुनले घोडेपानी भित्रने पाहुनाको बसाई लम्बाउन नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जुटेको बताए ।

घोडेपानीलाई केन्द्रित गरेर फूलबारी, मोहरेडाँडा, प्यारीबाराही ताललगायत सहायक गन्तव्यको पहिचान गरिएको छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला र गुराँसको जङ्गल अवलोकनका लागि महत्वपूर्ण गन्तव्य हो । अन्नपूर्ण संरक्षण आयोजनाअन्तर्गत पर्ने घोडेपानी–पुनहिल क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यमा पर्छ ।

पोखरादेखि नजिक पर्ने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ । कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटक आगमन नुहँदा यो क्षेत्र सुनसान बनेको छ । बन्दाबन्दी हटेको र कोरोनाको जोखिम घटेपनि पर्यटक आगमन अपेक्षाकृत हुन सकेको छैन् ।रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : ०५ बजे

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

भद्रपुर– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक

‘राम्रो काम गरेकैले कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी भएको हो’

नुवाकोट– नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण

मधेशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्छौँ : अध्यक्ष दाहाल

सप्तरी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन

दाङ– तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना