यसरी खोसियो विदेशी भूमिमा विजयको सपना ! | Khabarhub Khabarhub

यसरी खोसियो विदेशी भूमिमा विजयको सपना !



दोहा— रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ का विजय बस्याल भविष्यको सुनौलो सपना बोकेर कुवेत पुगे । उनी काठमाडौँको सामाखुसीमा रहेको ‘भिजन एन्ड भ्यालु म्यानपावर’ मार्फत कुवेत गएका थिए ।

उनले नेपालमा भनिएअनुसार नै कुवेतको कम्पनी ‘एनसीसी’ मा काम पाए । जसोतसो काम राम्रै चल्दै थियो । गत वर्षको २४ ओक्टोबरका दिन अचानक उनी चढेको गाडी दुर्घटनामा प¥यो । उनको टाउको र शरीरमा गम्भीर चोट लाग्यो । उपचारका क्रममा देब्रे हात काट्नु पर्‍यो, अपाङ्ग भए ।

विजयको उपचार पूरा भएको छैन । अस्पतालमा भर्ना भएर उपचार गराउँदाको खर्च कम्पनीले तिरिदियो । अस्पतालबाट डिस्चार्ज भएपछिको खर्च भने उनी आफैँले व्यहोर्नु परेको छ ।

उनी दुर्घटनापछि शारीरिकरूपमा अशक्त त भए नै, भविष्यको चिन्ताले मानसिक पीडामा पनि परेका छन् । आठ महीनादेखि अरूको सहारामा दिन बिताउँदैछन् ।

क्षतिपूर्ति पाउन सकस

एक वर्ष बित्न लाग्दा पनि दुर्घटनापछि नियमअनुसार पाउनुपर्ने क्षतिपूर्तिको अत्तोपत्तो छैन । क्षतिपूर्ति नपाएपछि विजयले कुवेतस्थित नेपाली दूतावासमा जानकारी गराए । दूतावासले कुवेती वकिल राखेर मुद्दा हालेको छ । दूतावासले मुद्दा टुङ्गो लाग्न साढे एक वर्षसम्म लाग्ने बताएको छ ।

विदेश गएर कमाउने र परिवार चलाउने सपना त उडिहाल्यो । अब विजय क्षतिपूर्तिको रकम लिएर चाँडोभन्दा चाँडो घर फर्किन चाहन्छन् । नेपाली दूतावासले सहयोग नगरेको होइन तर क्षतिपूर्तिको रकम कहिले पाइएला भन्ने टुङ्गो भएन । उनी दूतावासमा फोन गर्छन् । उताबाट ‘तिमीले फोन गर्नु पर्दैन, हामी आफैँ सम्पर्क गर्छौं’ भनेर फोन राखिदिन्छन् ।

क्षतिपूर्ति पाउने प्रक्रिया ढिलो हुँदै गएपछि विजयले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो दुःखको भिडियो बनाएर पोस्ट परे । यसपछि ‘दूतावासले तिम्रो काम चाँडै हुन्छ, भिडियो हटाऊ’ भनेको विजयले बताए । तर उनले हटाएका छैनन् ।

विजयले नेपालीहरूको सहयोगका लागि कुवेतमा क्रियाशील संघसंस्थाहरूलाई पनि क्षतिपूर्ति दिलाउने काममा सहयोग गर्न आग्रह गरेका छन् ।

कुवेतस्थित नेपाली दूतावासले विजयको मुद्दा अदालतमा विचराधीन रहेको र चाँडै टुङ्गो लागेर क्षतिपूर्ति पाउने बताएको छ । उनलाई कुवेत पठाउने म्यानपावर कम्पनीसँग बुझ्न खोज्दा कोही बोल्न चाहेन ।

हरेक महीना खाडी लगायतका मुलुकमा करिब ४० हजार नेपाली युवा रोजगारीका लागि पुग्ने गर्छन् । साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, दुबई तथा मलेसियामा हरेक वर्ष ६ सयभन्दा बढी नेपालीको ज्यान गुम्ने गरेको छ ।

यस्तै, हरेक वर्ष दुर्घटनामा परेर तीन सयभन्दा बढी नेपाली कामदारको अङ्गभङ्ग हुने गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ५५ बजे

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ– किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर

पुसमै पाक्यो ‘चैते काफल’

दाङ– चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

झापा– हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका

तौलिया हप्तामा कति पटक धुनुपर्छ, स्वास्थ्यसँग के छ सम्बन्ध ?

काठमाडौं– तौलिया भनेपछि हामी सबै दिमागमा यसको प्रयोगको बारेमा आउँछ

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि