एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगर्न सुमारको सुझाब « Khabarhub

एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ नगर्न सुमारको सुझाब


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्ट अनुमोदनमा ढिलाइ नगर्न सुझाब दिएकी छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले सम्झौता अनुमोदनमा ढिला भइसकेको भन्दै अब ढिलाइ गर्ने समय नरहेको बताइन् ।

एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला गत विहीबार एमसीसीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो ।

नेपालमा एमसीसीबारे थरीथरी धारणा बनिरहेका बेला एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँमा उत्रिँदा सडक प्रदर्शनले पनि तिब्रता पायो । एमसीसीबारे पक्ष र विपक्षमा बहसहरु भए ।

बिहीबार काठमाडौँ पुगेपछि एमसीसी प्रतिनिधिमण्डलले आफ्नो भेटवार्तालाई तिब्रता दियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट शुरू भएको भेटवार्ता आइतबार बिहान लोकतान्त्रिक समाजवादीका शीर्ष नेताहरुसँगको भेटवार्तापछि सकियो ।

नेपालको चार दिने औपचारिक भ्रमण सकेर प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किंदैछ । भ्रमण सकेर फर्किनुअघि उपाध्यक्ष सुमारले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिइन् । उनले एमसीसीबारे नेपालमा उठेका प्रश्नको उत्तर दिइन् ।

सुमारले एमसीसी कम्प्याक्ट एक परियोजनामात्र नभएर कानूनतः भएको एक सम्झौता भएको भन्दै यो तत्काल संसदबाट अनुमोदन हुनुपर्ने आवश्यकता रहेको बताइन् । उनले आफूले भेटेका प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै दलका नेताहरुसँग संसदबाट अनुमोदनका लागि आग्रह गरेको बताइन् ।

उनले प्रधानमन्त्री देउवा, प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् संयोजक बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, अर्थमन्त्री जनार्दन शर्मालगायत सरोकारवाला निकायका पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् ।

सुमारले सबै भेटवार्ता सकरात्मक रहेको उल्लेख गर्दै नेपालले यो अवसर गुमाउन नहुने टिप्पणी गरिन् । अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार स्वरूप यो अनुदान दिइएको भन्दै यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले यो परियोजनाले नेपालमा रोजगारीको सिर्जना हुने पुरानै भनाइ दोहोर्‍याइन् ।

सुमारले जतिसक्यो छिटो सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने भन्दै अब अमेरिकाले धेरे पर्खिन नसक्ने बताइन् । उनले एमसीसीबारे नेपालमा उत्पन्न भएका गलत धारणा दूर्भाग्यपूर्ण रहेको बताइन् । उनले यो सम्झौता आर्थिक विकाससँगमात्र सम्बन्धित रहेको भन्दै कुनै सुरक्षा रणनीतिको अंग नभएको स्पष्ट पारिन् ।

अमेरिकाले नेपाललाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल र अमेरिकाबीचको ७० वर्षको कूटनीतिक सम्बन्ध मित्रतापूर्ण रहेको सुमारको भनाइ छ ।

पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै यदि यो सम्झौता संसदबाट अनुमोदन नभए त्यसले नेपाल–अमेरिका सम्बन्धमा असर नगर्ने बताइन् । यो सम्झौता नेपाल–अमेरिका साझेदारीको एक अङ्गमात्र भएको भन्दै यो अनुमोदन नहुँदैमा अमेरिकी जनता र नेपाली जनताबीचको सम्बन्धमा कुनै असर नपार्ने उल्लेख गरिन् । तर, उनको जोड नेपालले यो अवसर गुमाउन नहुनेमा थियो ।

२०७४ मा नेपाल सरकार र एमसीसीबीच ५ सय मिलियन अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौता नेपालको संसदबाट अनुमोदन गरेपछि कार्यान्वयनमा जाने भएकाले हालसम्म अनुमोदन नहुँदा कार्यान्वयनमा जान सकेको छैन ।

सो अनुदानबाट अन्तर्देशीय ट्रान्समिशन लाइन र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति हुने छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्