पदाधिकारीहरूमा महाधिवेशन गराउने इच्छाशक्ति देखिनँ : डा. शेखर कोइराला | Khabarhub Khabarhub

पदाधिकारीहरूमा महाधिवेशन गराउने इच्छाशक्ति देखिनँ : डा. शेखर कोइराला


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विशेष महाधिवेशन गराउन केही नेताहरूबाट माग भएको भन्दै त्यसमा असहमति जनाएका छन् ।

डा. कोइरालाले वर्तमान कार्यसमितिको म्याद थप्ने धारणामा पनि असहमति प्रकट गरेका छन् । उनले नियमित महाधिवेशनलाई विकल्पविहीन भनेका छन् ।

डा. कोइरालाको सचिवालयले जनाएअनुसार शुक्रबार बैठकमा बोल्दै डा. कोइरालाले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन ।’

उनले छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्ग्याएर डेढ/दुई महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।’

डा. कोइरालाले क्रियाशील सदस्यताको समस्या भएका ठाउँमा तेह्रौँ महाधिवेशनका सदस्यलाई आधार मानेर अधिवेशन गराउन प्रस्ताव गरेका छन् । उनले आधिकारिक उम्मेदवारको नवीकरण छुटेको हकमा पनि तेह्रौँ महाधिवेशनको कार्ड लिएर आउनेलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने व्यवस्था गर्न सुझाव दिएका छन् ।

डा. कोइरालाका अनुसार नेपाली कांग्रेसको महाधिवेशन नेतृत्व चयनको मात्र विषय होइन, मुलुकको भविष्य निर्धारण पनि हो । यसमा देशवासीको मात्रै होइन अन्तर्राष्ट्रिय समुदायको पनि दृष्टि छ ।

उनले आफैँले बनाएको संविधान र कानून नबिर्सन पार्टी पदाधिकारीहरूलाई सचेत पनि गराएका छन् । उनले पदाधिकारी र पूर्वपदाधिकारीहरूमा महाधिवेशनको टुङ्गो लगाउने इच्छाशक्ति नदेखिएको आरोप पनि लगाएका छ्न् ।

डा. कोइरालाले केन्द्रीय समिति बैठक पार्टी कार्यालय छाडेर सभापतिको घरमा भएकोमा पनि विरोध जनाएका छन् । उनले पार्टी कार्यालयमा भइरहेको धर्ना छल्न बुढानीलकण्ठमा बैठक राखेको अनुमान गरे ।

तेह्रौँ महाधिवेशनमा पनि धर्ना भएको तर बैठक पार्टी कार्यालयमै बसेको र माग सुनुवाइ गरेको स्मरण गर्दै डा. कोइरालाले भने, ‘मेरो विनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौँ ।’

उनले प्रधानमन्त्रीले सय प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेको भन्दै प्रश्न गरे, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ? दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ ? कसरी सुशासन दिन सक्छ ?’

उनले संख्याका हिसाबले अल्पमतमा रहेर पनि कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको र सरकारका सामु धेरै चुनैती रहेको बताए ।
उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ । हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँग सम्बन्ध सन्तुलनमा राख्नुपर्ने छ । पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्छ ।’

हालै वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवशेन गर्नुपर्ने धारणा राखेका थिए । पौडेल र डा. कोइराला दुवै नेता चौधौँ महाधिवेशनमा सभापति पदका आकांक्षी हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : ३० बजे

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राज्य व्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।