विवादकाबीच पशुपति आइपुग्यो ६१ किलो सुन, शिवरात्रीसम्ममा जलहरी राख्ने कोषको तयारी | Khabarhub Khabarhub

विवादकाबीच पशुपति आइपुग्यो ६१ किलो सुन, शिवरात्रीसम्ममा जलहरी राख्ने कोषको तयारी

सरोकारवाला पक्ष भन्छन् – जलहरी राखे सर्वोच्चमा रिट हाल्छौं



काठमाडौँ– माघ १२ गते सोमवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे ।

दर्शन गरेर फर्कने क्रममा उनले पशुपतिनाथमा सुनको जलहरी राख्न निर्देशन दिए । यसका लागि नेपाल सरकारले ३० करोड रुपैयाँ दिने घोषणा पनि गरे ।

लगत्तै पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिको बैठक बस्यो । सोही हप्ताको बुधवार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गर्‍यो ।

त्यससँगै जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन कोषमा आइपुगेको कोषको सदस्य सचीव डा. प्रदीप ढकालले खबरहबलाई जानकारी दिए ।

दोस्रो चरणको सुन आइपुगेपछि जलहरी राख्ने काम अघि बढाउने बताउँदै उनले भने, ‘आगामी शिवरात्रीसम्म सुनको जलहरी राख्ने काम सम्पन्न भइसक्छ ।’

त्यसो त जलहरी राख्ने विषयमा अहिले मात्र होइन । विगत ३ वर्षयता यस विषयले निकै चर्चा पाइरहेको छ ।

कहिले कोष आफैंले चन्द उठाएर त कहिले विभिन्न विदेशी नागरिकले जलहरीका लागि सहयोग गर्ने कुराहरु आइरहे । त्यसका लागि कोषले कार्यविधि समेत तयार पार्‍यो । तर विभिन्न विवाद र आलोचनाकाबीचमा जलहरीको कुरा सीमित रह्यो ।

शिवलिंगमा जलहरी राख्ने कुरा ३ वर्ष अघिदेखिकै योजना रहेको बताउँदै डा. ढकालले भने, ‘गत वर्षको शिवरात्रीमा जलहरी राख्ने सोच थियो यद्यपी कोरोनाका कारण हामी असफल भयौँ।’

जलहरीका लागि झण्डै १ अर्ब रकम आवश्यक पर्छ । जसकालागि नेपाल सरकारले ३० करोड रकम दिने घोषणा गरिसकेको छ भने कोष आफैंले ५० करोड रकम छुट्याएको उनले बताए ।

जलहरीका लागि १ सय ८ किलो सुन आवश्यक पर्छ ।

किन सुनको जलहरी राख्ने ?

जलहरी राख्ने विषय ऐन विपरीत भएको भन्दै स्थानीय र सम्पदा अभियान्ताहरुले प्रश्न उठाइरहेका छन् कोषले यसलाई कसरी लिएको छ ? खबरहबले गरेको प्रश्नमा ढकाल भन्छन्, ‘हामी मापदण्डभित्रै रहेर काम गर्ने छौं, चाँदीलाई सुनले प्रतिस्थापित गर्न मात्र लागेका हौं अन्यथा केही होइन ।’

‘चाँदीको माथि सुनको जलहरी लगाउँदा सबै खुसी नै छन् यसमा विवाद गर्नुपर्ने विषय नै छैन’ उनले भने, ‘सुनलाई झन पवित्र धातुका रुपमा लिइन्छ प्राय धेरै धार्मिक स्थलमा सुनकै छानो, कलश राख्ने गरिन्छ ।’

त्यस्तै जलहरी भएको स्थानमा भट्टलाई मात्र प्रवेश गर्न पाइने व्यवस्था छ । ‘पहिले जसरी भट्टहरुले त्यसको संरक्षण गरिरहेका छन् त्यसरी नै अब राखिने जलहरीको पनि उनीहरुले नै संरक्षण गर्नेछन् ।’

के हो जलहरी ?

शिवलिंगमा चढाएको पानी बगेर झर्ने भाग नै जलहरी हो । लिंग रुप प्रतिमा र मानव रुप प्रतिमा गरी शिवका दुई थरीका प्रतिमा हुन्छन् ।

पशुपतिको लिंग प्रतिमा रुप हो । शिवलिंगमा भोगाभाग, भद्रपीठ र ब्रह्पीठ गरी लिंगका तीन भाग हुन्छन् । जलहरी ब्रह्पीठमा हुन्छ ।

माटोमा बनेको, काठबाट बनेको, प्रस्तरको, धातुको, रत्न र बालुवाबाट बनेको, चामल, चन्दन, रुद्राक्षबाट बनेको गरी ६ प्रकारका शिवलिंग हुन्छन् । पशुपतिको शिवलिंग प्रस्तरको हो ।

के छ ऐनमा ?

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को खण्ड ग मा लेखिएको छ, ‘अनुसार कुनै पनि प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा परिवर्तन गरेमा वा चोरी गरेमा बिगो बमोजिमको रकम उसुल उपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँचसम्म कैद वा दुवै सजाय हुनेछ ।’

जलहरीको संरक्षण कसले गर्ने ?

पशुपति गर्भगृह भएको मन्दिर हो । शिवलिंग गर्भगृहभित्र छ । गर्भगृहभित्र भट्टबाहेक अरु जान पाउँदैनन् ।

‘यहाँको मन्दिरको रेखदेखको मुख्य जिम्मेवारी पाएका भण्डारीले समेत उक्त शिवलिंग छुन पाउँदैनन’ भण्डारी केदारनाथले भने ।

मन्दिरमा ५ जना भट्ट छन् । जलहरी राख्ने काम पनि ५ जना भट्टहरुले मात्र गर्नुपर्छ । १ सय ८ किलो सुनको जलहरीलाई ५ जना भट्टले राख्न सक्छन् ? यदि भोलि जलहरी राख्ने स्थान टुटे फुटे जिम्मेवारी को ? त्यसको लागि विज्ञ को छन् त ?

‘सुनको जलहरी त्यहाँ राख्दा त्यहाँ पञ्चामृत, जल लगायतले धोइरहनुपर्ने हुँदा त्यो खियर पनि जान सक्छ’ भण्डारीले भने, ‘त्यसको संरक्षण कसले गर्छ अर्बौको सम्पत्ति जिम्मा कसले लिने ?’

अनशन बस्न तयार : पूर्वकोषाध्यक्ष

कोषका पुर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पशुपतिको शिवलिंगमा जलहरी राख्ने काम प्राचीन ऐन स्मारक विपरीत भएको बताएका छन् ।

बाग्मती प्रदेशसभा सदस्य समेत रहेका वैद्यले प्राचीन सम्पदालाई पुरानै अवस्थामा राख्न कोषलाई अनुरोध गर्दै भने, ‘शिवलिंगमा सुनको जलहरी राख्नु ऐन विपरीत हो, राज्यले कानुन मान्ने कि नमान्ने ? उनीहरुलाई ऐन कानुन लाग्दैन ?’

पशुपति क्षेत्र विश्व सम्पदामा सुचीकृत सम्पदा हो । प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहको पालामा शिवलिंगमुनि चाँदीको जलहरी राखिएको उनले बताए । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ ।

सर्वोच्च अदालत पुग्छौं : सम्पदा अभियान्ता

सम्पदा संरक्षण अभियानमा लागेका कानुन व्यवसायी सञ्जय अधिकारीले प्राचीन संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिक रुपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए ।

‘चाँदी बिग्रियो खिइयो भने मर्मत गर्ने छुट्टै कुरा हो तर चाँदीको ठाउँमा सुन राख्नु कतिको उपयुक्त ?’ उनले प्रश्न गर्दै भने ।

जलहरी राख्ने काम नरोके आफु रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ११ : १२ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष