प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक गृह जिल्ला पुगेका ओली प्रचण्ड र माधवमाथि खनिए | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक गृह जिल्ला पुगेका ओली प्रचण्ड र माधवमाथि खनिए


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा पुग्दा न सिंगो एमालेका अध्यक्ष थिए न प्रधानमन्त्री । प्रधानमन्त्रीबाट उनी विस्थापित भएका छन् । एमाले विभाजन भएको छ । माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएका छन् ।

यी दुई महत्वपूर्ण परिवर्तनपछि मंगलबार ओली पहिलो पटक गृह जिल्ला झापा पुगेका हुन् । झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका हुन् । एमाले विभाजन र प्रधानमन्त्रीबाट हट्नुपर्दाको आक्रोश ओलीले जिल्लाबासी सामु पोखे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटामाथि उनी निकै आक्रामक रुपमा प्रस्तुत भए । बरु प्रधानमन्त्री देउवाको उनले आलोचना गरेनन् ।

अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भएकाे टिप्णी गरे । उनले भने, ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन् ।’

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीले आरोपसमेत लगाए । ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् । २०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग सौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने ।

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको टिप्पणी गरे । उनले भने, ‘धम्क्याउनुपर्‍यो भने म आगो हुँ नजिस्क्याउ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउला भने । केको आँटले धम्क्याउन खोजेको हो ?’

प्रचण्डमाथि आक्रोश पोखेपछि ओली आफ्नै पूर्व सहकर्मी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि खनिए । माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने उनको भनाइ थियो । एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?’ उनले प्रश्न गरे ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ । ‘यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे । एमाले एकजुट भएको छ । हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,’ उनले भने ।

ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे । ‘एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन । विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ । एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो । यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र ?’ उनले प्रश्न गरे ।

संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । ‘कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादीलाई असैह्य भयो,’ उनले भने ।

माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो ।

‘माधव नेपालको विचरा राजनीति साझनीति केही छैन । न जादु, मन्तर, टुना छ, न केही छ । कसैले अहराएको छ । बाध्यता छ पार्टी टुटाउने । अब कामरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल,’ ओलीले भने, ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई धराशायी र ध्वस्त पार्न चाहेका छन् । तर यो सपना कसैले पूरा हुन दिँदैनौं । जनताले यस्ता सपना पूरा हुन दिँदैन । एमालेको आवश्यकता देशको रक्षाका लागि हो ।’

अध्यक्ष ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाएका छन् । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ । ‘कम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान ? यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन्,’ उनले भने ।

ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गरे । ‘सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चारजनाले र्‍याइँर्‍याइँ घुमाएका छन् । यो दुई महिना राम्रो केही गरेनन् । नराम्रोमात्रै गर्‍यो । पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयो,’ ओलीले भने ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ११ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश