धार्मिक मेलाका लागि खोटाङका दुई पालिकाले दिए २ दिन सार्वजनिक बिदा « Khabarhub

धार्मिक मेलाका लागि खोटाङका दुई पालिकाले दिए २ दिन सार्वजनिक बिदा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।

मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । ‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा अझै पनि कायमै रहेको छ’, उनले भने, ‘बराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन । स्वास्थ्य सतर्कता अपनाएर मेला लगाउन प्रशासनको तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौँ ।’

मेलामा विशेषगरी दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ ।

समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ । मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् ।

परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ)बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि बराहपोखरीको पानीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले बताए।

बराहपोखरीसम्म सडकको पहुँच पुगेसँगै अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ३०० को हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । बराहपोखरी आउने पर्यटकलाई लक्ष्य गरेर अहिले तीनवटा डुङ्गा सञ्चालन गरिएको छ। डुङ्गा शयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा घोषणा गरेर प्रवर्द्धनको कामसमेत थालेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ५० बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स