पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव | Khabarhub Khabarhub

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ ।

मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।

पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ । “कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन”, धनगढी उपमहानपगरपालिका–१३ का कृषक गुलाब राना भने, “डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ ।”

मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन् । पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ ।

मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले जानकारी दिए । उनले भने, “चौध-पन्ध्रपटक बोलपत्र आह्वान गर्दा पनि कोरोनाका कारण कसैको निवेदन नपरेको भन्ने छ, यसले गर्दा समयमै मल आपूर्ति भएन ।”

भैरहवा नाकामार्फत रासायनिक मल धनगढीका लागि ढुवानी हुन लागेकाले केही दिनमा मल आइपुग्ने उनले बताए । “वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ”, कैलालीका किसान लोकराज ओझाले भने । रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ ।

कम्पनीले चालु वर्षको साउनदेखि कात्तिकसम्ममा युरिया दुई हजार ३९४ मेट्रिक टन, डिएपी ८० मेट्रिक टन र पोटास ४३ मेट्रिक टन बिक्री गरेको छ । कार्यालयले यस वर्ष छ हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र ३०० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखेको छ । सरकारको अनुदानित मलमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बिक्री वितरण हुँदै आएको छ । कर्पोरेशनमा पनि डिएपी र युरिया मलको मौज्दात सकिएको छ ।

कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्फेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री वितरणको व्यवस्था गर्न कर्पोरेशनको धनगढी शाखालाई रु एक करोड बजेट उपलब्ध गराएको थियो ।

यस सम्बन्धमा भएको सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट तोकिएको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ । डिएपी र युरिया मलको विकल्पमा एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल प्रयोग गर्न सकिने भए पनि कृषकबाट सो मलको माग खासै नआउने गरेको बताइएको छ ।

कर्पाेरेशनाले सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९३०, जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९०० बिक्री मूल्य निर्धारण गरेको छ । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : २१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट