बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला « Khabarhub

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।

सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो । धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र गरिएको दुई महिना पूरा हुँदासमेत पिसिआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन । धौलागिरि अस्पतालले पिसिआर निर्माणमा गरेको ढिलाइप्रति नागरिकको तीव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाई गरिनु दुःखद र लापरवाही भएको बताएका छन् ।

सरकारले बजेट पठाउँदासमेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको अधिकारकर्मी राम शर्माले बताए । “जुन बेला बागलुङमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिबेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो, अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छन्” शर्माले भने, “अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ । अब खोप र पिसिआर मेसिन सँगसँगै आउला जस्तो छ ।”

निर्णय भए पनि तीन महिनासम्म बजेट नआएको र ढिला बजेट आएपछि खरीद प्रक्रियामा जाँदा समय लागेको अस्पतालले जनाएको छ । नेपाल सरकारले अस्पताललाई तीन महिनाअघि पिसिआर मेसिन खरिद गर्नका लागि रु एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरीद प्रक्रियामा जान सकेको थिएन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन खरीद गर्न रु एक करोड लाग्ने भएपनि प्रयोगशाला व्यवस्थापनका लागि पर्याप्त बजेट नभएपछि पिसिआर ल्याब व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको थियो ।

त्यसपछि मात्रै धौलागिरि अस्पतालले पिसिआर मेसिन खरीद र प्रयोगशाला बनाउन प्रक्रिया थालेको छ । शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा केही जटिलता भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरि अस्पताल बगालुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

“मेसिन खरीद गरेपछि ल्याब सञ्चालनमा आउनु पर्दछ, केही औँजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन्छ, त्यसैले लागत अनुमान गर्न समय लागेको हो”, उनले भने, “हामीसँग बायोलोजिकल प्राविधिकको अभावका कारण ढिला भएको हो, अहिले बोलपत्र प्रक्रियामा गएपछि चार कम्पनीले पिसिआर ल्याउन ठेक्का हालेका छन्, केही दिनमै कम्पनी छनोट गर्नेछौं ।”

ठेक्का प्राप्त भइसकेपछि ठेकेदार कम्पनीले तीन महिनाभित्र ल्याब स्थापना गर्ने समय भएकाले त्यतिबेलासम्म नेपालमा खोपसमेत आउने सम्भावना रहेको आँकलनसमेत गरिन्छ । यद्यपि, यो ल्याब अन्य प्रयोजनमा समेत उपयोग गर्न सकिनेछ । पिसिआर परीक्षण मेसिन आइहाले पनि प्रयोगशाला सञ्चालनका लागि समेत दक्षजनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ ।

पिसिआर प्रयोगशाला स्थापना भइसकेपछि दक्षजनशक्तिसमेत सरकारले पूरा गर्नेमा धौलागिरि अस्पताल आशावादी छ । साविक धौलागिरि अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा सङ्कलन गरिएको नमूना परीक्षणका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । कोरोना आशंकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

अहिले बागलुङबाट परीक्षणका लागि पठाइएको कोरोना सङ्क्रमणको नतिजा आउन तीन दिन लाग्ने गरेको छ । आम नागरिकबाट परीक्षणको दायरा बढाउनुपर्ने माग फेरि उठ्न थालेको छ । गत असार १२ गते सरकारले बागलुङसहित विभिन्न स्थानमा पिसिआर मेसिन थप गर्ने निर्णय गरेको थियो । अब पिसिआर प्रयोगशाला तीन महिनाभित्र सञ्चालनमा आउने अस्पतालले दाबी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ५९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा