महाधिवेशन अगावै विभाजनको दिशातिर नेपाली कांग्रेस | Khabarhub Khabarhub

महाधिवेशन अगावै विभाजनको दिशातिर नेपाली कांग्रेस



सत्तारूढ नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको हलो प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पुगेर अड्किएको छ । डडेलधुरा जिल्लाको वडा अधिवेशनमा उत्पन्न विवादमा न संस्थापन पक्ष लचिलो देखिएको छ न इतर पक्ष । दुबै पक्ष अहिलेको अडानमा कायम रहे भने कांग्रेसलाई विभाजनबाट जोगाउन कुनै पनि ताकतले सक्नेछैन । अब चौधौँ महाधिवेशन अघि नै कांग्रेस विभाजन भयो भने अनौठो मान्नुपर्ने छैन ।

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा भएको विवादलाई लिएर शुरूमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले पदबाट राजीनमा दिए । देउवा निकै ठूलो प्रयासपछि यादवको राजीनामा फिर्ता गराउन सफल भए । यादवले राजीनामा फिर्ता लिनुको अर्थ डडेलधुराका वडा अधिवेशनहरूले वैधानिकता पाउनु हो ।

जिल्ला कार्य समिति तथा साविकका वडा कार्यसमितिहरूले भने अधिवेशनको निर्णय स्वीकार गरेनन् । जिल्ला सभापति कर्ण मल्लले क्रियाशील सदस्यता वितरण र वडा अधिवेशनमा भएको भनिएको धाँधलीको फेहरिस्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । उनले वडा अधिवेशन स्वीकार्य नभएको निर्णय सुनाउँदै साविककै वडा समितिहरूलाई क्रियाशील हुन आह्वान गरे ।

सभापति मल्लले प्रस्तुत गरेको धाँधलीको फेहरिस्त सही हो भने इतर पक्षले स्वीकार गर्ने सम्भावना छैन ।

नभन्दै डडेलधुरामा भएको धाँधलीको विषयलाई लिएर इतर नेताहरू रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह लगायतले पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरे । जिल्ला सभापति मल्लले जस्तै इतर पक्षका केन्द्रीय नेताहरूले पनि डडेलधुराको क्रियाशील सदस्यता वितरण तथा नवीकरण एवं वडा अधिवेशन प्रक्रिया धाँधलीपूर्ण भएको भन्दै अस्वीकार गर्ने घोषणा गरे ।

बीस वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन । पन्ध्र महिनामा महाधिवेशन कार्यतालिका ६ पटक संशोधन भयो । कतै कांग्रेस विभाजको बाटोमा त छैन !

पार्टीमा दशकौँदेखि रगतपसिना बगाउनेहरूमध्ये करिब चार सय जनाको नाम क्रियाशील सदस्यताको सूचीबाट हटाइएको र त्यति नै संख्यामा पार्टीले नचिनेका व्यक्ति केन्द्रबाट थपिएको आरोप जिल्ला सभापति मल्लको छ । वडा अधिवेशनका क्रममा प्रहरी प्रयोग गरेर एउटा पक्षलाई प्रवेश नै नदिएको आरोप पनि मल्लको छ ।

सभापति मल्लको आरोप सत्य हो भन्ने समाचार आएको छ । उदाहरणका लागि, २०५२ सालमा देउवाले छोरो जन्मेको खुशीयाली मनाउँदै गर्दा डडेलधुराकै विद्यार्थी नेता लोकराज भट्ट त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति निर्वाचित भएका थिए । स्ववियुका अरू सबै पद अखिलले जित्दा पनि भट्टले सभापति पद जितेर नेवि संघको इज्जत धानेका थिए । त्यसयता उनी नेपाली कांग्रेसमा निरन्तर सक्रिय छन् ।

यतिबेला क्रियाशील सदस्यताको सूचीमा उनको नाम छैन, देउवाका छोरा जयवीर सिंहको नाम छ । यस्ता उदाहरण डडेलधुरामा धैरै छन् ।
क्रियाशील सदस्यताको सूची सच्याएर गृहजिल्ला डडेलधुरामा फेरि वडा अधिवेशन गर्न सभापति देउवा तयार छन् ? क्रियाशील सदस्यताको सूची सच्याएर फेरि वडा अधिवेशन नगराए डडेलधुरालाई स्वीकार नगर्ने घोषणाबाट इतर पक्ष पछि हट्ला ?

यी दुवै प्रश्न निकै पेचिला छन् ।

देउवा विपक्षको माग पूरा गर्न तयार हुने सम्भावना छैन । उनले आफ्नै सक्रियतामा यस्तो धाँधली गराएका हुन् कि उनलाई फसाउने नियतले कुनै शक्तिले आरजु देउवा (आरजुले पत्तै नपाई) मार्फत यस्तो हर्कत गरायो ?

कांग्रेस वृत्तमा परिस्थितिको समीक्षा भइरहेको छ । खासगरी उपसभापति विमलेन्द्र निधि यो समीक्षामा छन् । गृह जिल्लाको अधिवेशनमै यस्तो हर्कत गर्नुपर्ने कमजोर अवस्थामा सभापति देउवा पुगेको अनुमान धेरैले गरेका छैनन् ।

आफ्नो गृहजिल्लामै धाँधली गर्नुपर्ने बाध्यतामा पुगेको व्यक्तिले कसरी सिङ्गो पार्टी हाँक्न सक्छ ? पार्टी सभापतिको उम्मेदवार बन्ने नैतिक धरातल कसरी प्राप्त गर्छ ?

यस्ता प्रश्न स्वाभाविक भएका छन् ।

प्रश्न डडेलधुराको मात्रै होइन । क्रियाशील सदस्यता विवाद टुङ्ग्यान बाँकी २० जिल्लामा असोज ५ गतेभित्र वडा अधिवेशन सम्पन्न भएन भने मंसीर ३ देखि १३ भित्र महाधिवेशन हुँदैन । गत महाधिवेशनको भन्दा चौधौँ महाधिवेशनमा समानुपातिक समावेशिताको प्रतिनिधित्व घटाइएको भन्दै आन्दोलन शुरू भएको छ ।

अझ रहस्यको कुरा के हो भने समानुपातिक समावेशिताको प्रतिनिधित्व घटाउने गरी निर्वाचन निर्देशिका तयार गरेको सभापति देउवाको सचिवालयले नै हो । यो निर्वाचन निर्देशिका अनुसार करिब ३८ जिल्लाको वडा अधिवेशन भइसकेपछि आन्दोलनमा उत्रने पनि सभापति देउवाका समर्थक नै हुन् ।

आफू बलियो भएको देख्नासाथ हतारमा महाधिवेशनको मिति तय गर्ने, आफू कमजोर भएको महसुस भए कुनै बहाना निकालेर महाधिवेशन सार्ने काम सभापति देउवाबाट हुँदै आएको छ । हुन पनि कांग्रेसले महाधिवेशनको तालिका अहिलेसम्म ६ पटक संशोधन गरिसकेको छ । यी ६ वटै संशोधनमा कारणका रूपमा सभापति देउवा जोडिएका छन् ।

प्रश्न डडेलधुराको मात्रै होइन । क्रियाशील सदस्यता विवाद टुङ्ग्यान बाँकी २० जिल्लामा असोज ५ गतेभित्र वडा अधिवेशन सम्पन्न भएन भने मंसीर ३ देखि १३ भित्र महाधिवेशन हुँदैन ।

उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरेदेखि प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको १५ महीनाको अवधिमा महाधिवेशनको कार्यतालिका ६ पटक संशोधन भइसकेको छ । आफूले चुनाव जित्ने सुनिश्चित परिस्थिति नबनेसम्म देउवाले चौधौँ महाधिवेशन गराउने छैनन् भन्ने तर्क अनुमानका आधारमा मात्रै गरिएको होइन कि प्रष्ट हुँदै गएको छ ।

चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले साढे पाँच वर्ष बिताइसके । पार्टीको विधान र मुलुकको संविधान देउवाका लागि घाँडो सावित भएको कुरा आरोप मात्रै होइन, प्रमाणित सत्य हो । विधानमा रहेको महाधिवेशन सम्बन्धी व्यवस्था त देउवाले उहिल्यै रद्दीको टोकरीमा फलिदिए । संविधानमा भएको बाध्यकारी व्यवस्था समेत मिल्काउने समाथ्र्य देउवासँग छ, उनी प्रधानमन्त्री पदमा आसीन छन् ।

अध्यादेश मार्फत संविधान र कानूनका प्रावधानलाई प्रधानमन्त्रीले चाहेअनुसार संशोधन गर्न सक्ने नजीर बसिसकेको छ । त्यसैले चौधौँ महाधिवेशन सभापति देउवाले सकेसम्म पर किन नधकेल्लान् र भन्ने शंका पनि प्रकट हुन थालेको छ । अहिलेसम्मको उनको गतिविधिले यस्तो शंका बलियो बनाएको छ ।

देउवाको व्यक्तिगत हिसाबमा उनले चौधौँ महाधिवेशन धकेल्ने भनेको अगामी आमनिर्वाचन सम्पन्न नभएसम्म हो । अबको १४ महिनाभित्र सम्पन्न गर्नै पर्ने तीन वटा राष्ट्रिय निर्वाचनमा आफैँले टिकट बाँढ्ने र ७ पटक प्रधानमन्त्री हुने देउवाको धोको छ ।

राजनीतिक तथा कानुनीरूपमा देउवाले ७६औँ जन्म दिवस गत जेठमा मनाए । धार्मिक तथा सांस्कृतिकरूपमा पण्डित बोलाएर हालै बालुवाटारमा देउवाले मनाएको जन्मदिवस कतिऔँ हो भन्ने कुरा उनका समकालीन कांग्रेसीहरूलाई स्पष्ट छ । असी वर्षको उमेरमा पनि लठ्ठी नटेकी घरको ढोकाबाट गाडिको ढोकासम्म पुग्नसक्ने अवस्थामा रहनु सन्तोषजनक पक्ष हो ।

देउवा आफ्ना लागि नभएर श्रीमती आरजु र छोरा जयवीर सिंहका लागि शक्ति सञ्चय गर्ने रणनीतिमा छन् । यसै अन्तर्गत ‘नेपाली कांग्रेस’ को नाम र चुनाव चिह्न ‘रूख’ आफूसँग रहने अवस्थासम्म देउवाको घैँटाका अर्को काम लाग्नेछैन । चौधौँ महाधिवेशनकै सिलसिलामा पार्टी फुट्ने अवस्था उत्पन्न भयो भने ‘नेपाली कांग्रेस’ र ‘रूख’ आफूसँग रहेसम्म देउवाले श्रीमती र छोराका लागि सबै जोखिम उठाउने छन् । ‘नेपाली कांग्रेस’ र ‘रुख’ आफ्नो हातबाट फुत्कने अवस्था नआएसम्म देउवा लचक हुने सम्भवना देखिँदैन ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : ०१ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी